अोस्कार अवार्डको लागि नेपाली फिल्मलाई दर्ता आह्वान


ओस्कार अवार्डको ९० औं संस्करणको लागि विदेशी भाषी फिल्म छनौटको नेपाल समितिले आफ्नो फिल्म दर्ताको लागि आह्वान गरेको छ। नेपाल समितिले एक विज्ञप्ति जारी गर्दै फिल्मको नाम दर्ता गराउन आग्रह गरेको छ।

दर्ता भएका फिल्महरुमध्ये ‘विदेशी भाषी फिल्म विधा’को लागि सहभागी गराउन समितले एक उत्कृष्ट फिल्मको छनौट गरेर पठाउनेछ। समितिले विज्ञप्तिमा एकेडेमीकद्वारा तोकिएका सबै मापदण्ड पुग्नेगरि एउटा उत्कृष्ट फिल्म छनौट गरि सो अवार्डमा प्रतिस्पर्धीको रुपमा सहभागी गराउन आएको अनुरोधपत्र अनुसार समितिले आह्वान गरेको जनाएको छ।

‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ।

ओस्कारमा सहभागी जनाउन चाहने नेपाली फिल्मका निर्माता निर्देशकहरुलाई आफ्नो फिल्मको निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली, अंग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित फिल्मका ३ देखि ५ वटा स्थिर फोटाहरू, फिल्म रिलिज हुँदाको एउटा पोस्टर र फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी फिल्मघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चारमाध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू समावेश गर्नुपर्ने समितिले जनाएको छ।

फिल्मको दर्ताको मिति २०१७ अगष्ट १६ तारिख अर्थात्  २०७४ साउन ३२ गते बुधबार दिनको १ बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउन समितिले आव्हान गरेको छ।

समितिका अनुसार प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७३ असोज १५ गतेभन्दा पछि तथा २०७४ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनुपर्नेछ।

समितिको संयोजकमा विमल पौडेल र सदस्यहरुमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली ‘कपिल’ र भरतकुमार शाक्य छन्। समितिको सदस्य सचिवमा चिरञ्जीवी गुरागाई छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.