जता जता पिरतीको बाटो, उतै उतै कार्टुन्ज क्रु (भिडियो)


इन्दिरा जोशी र सरोज ओलीको स्वरको गीत ‘आइ लभ यु’ को दोस्रो भाग ‘जता जता पिरतीको बाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। आइ लभ युको सिक्वेलको रुपमा आएकाले भिडियो निर्माणपक्षले यसको नाम ‘आइ लभ यु २’ राखेको बताएको छ।

गत वर्ष सार्वजनिक आइ लभ यु गीत युट्युबमा झन्डै एक करोड पटक हेरिएको छ। उक्त गीतको भिडियोमा कुञ्जना घिमिरे ‘सुन्तली’ र पल शाहले अभिनय गरेका थिए। यसपटक पल अतिथी भूमिकामा प्रस्तुत भएका छन्।

गीतको भिडियोमा युट्युबमार्फत् कभर नृत्यबाट चर्चित नाच समूह ‘कार्टुन्ज क्रु’ मुख्य भूमिकामा देखिएको छ। ‘सिक्वेल’ भनिए पनि यस गीतमा इन्दिरा जोशीको स्वर भने सुन्न पाइने छैन। सरोज ओली मात्र एकल प्रस्तुत भएका छन्।

दिनेश थपलियाको शब्दमा वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। भिडियोलाई सञ्जय लामाले खिचेका हुन्। भिडियो पोखरामा खिचिएको हो।

भिडियोलाई कार्टुन्ज क्रु समूहले आफ्नो ‘कमब्याक’ भएको जनाएको छ। भिडियो अवधारणा तयार पार्ने, कोरियोग्राफी गर्ने, अभिनय गर्ने, नाच्नेलगायत भिडियोसम्बन्धि सबै कलात्मक काम आफैं गर्ने तन्नेरीहरुको समूहले यसअघिका प्रतिक्रियाका आधारमा थप परिस्कृत गर्दै भिडियो तयार पारेको बताएको छ।

‘हाम्रा पहिलेका भिडियो दर्शकले रुचाएका छन्,’ समूहका एक सदस्य सरोज अधिकारीले भने, ‘कतिले नाचको स्टेप दोहोरियोजस्ता प्रतिक्रिया दिएका थिए। हामीले ती सबै प्रतिक्रियालाई मध्यनजर गर्दै यो भिडियो तयार पारेका हौं। भिडियो खिच्नुअघि करिब तीन हप्ता त रिहर्सल नै गरेका छौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.