अभिनेत्रीहरू कसरी मनाउँदैछन् साउन महिना?


साउन महिना लागेसँगै हिन्दु महिला भगवान शिवको नाममा ब्रत बस्दै पुजा अराधना गर्छन्। साउनको सोमबार महिलाहरु विवाहितले श्रीमानको नाममा र अविवाहितले शिव जस्तै वर पाउन ब्रत बस्ने गर्छन्। साउन महिना सुरु भएदेखि नै महिलाहरु हरियो चुरा, पोते, मेहेन्दीमा सजिने गर्छन्।  नेपाली अभिनेत्रीहरुलाई पनि साउन लागेको छ।
नेपाली विवाहित र अविवाहित अभिनेत्रीहरुलाई साउने सोमबार कसरी मनाउँदै हुनुहुन्छ भनी हामीले सोधेका छौं।

रेखा थापा
अभिनेत्री रेखा थापा डिर्भोसपछि सिंगल छिन्। यसअघिका वर्षमा उनले साउने ब्रत बस्ने गरेको भएपनि यसपालि सोमबार ब्रत नबसेको बताइन्। ‘ब्रत नबसेपनि साउनभरि शाकाहारी भएको छु, र शिवको पुजा आराधना पनि गर्छु’, उनले भनिन्। वर्षको एक महिना शाकाहारी हुँदा स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले उनले यो साउनमा पनि शाकाहारी हुने निर्णय गरेको बताइन्।

रेखाले साउन लागेपछि हातमा मेहन्दी पनि लगाएकी छन्। ‘सगुनको रुपमा हातमा मेहन्दी लगाएकी छु, रमाइलो लाग्छ यस्तो गर्दा’ उनले भनिन्।
रेखाले आफ्नो मनपर्ने मान्छेको नाम पनि हातमा कुँदेको बताइन्। तर नाम भने उल्लेख गरिनन्।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले ब्रत बस्न लागेको ७ वर्ष बढी भयो। उनले यो वर्ष पनि साउनको सोमबार ब्रत बसेकी छन्। ‘म हरेक वर्षको साउनको सोमबार ब्रत बस्छु। मलाइ वर्षको एक महिना शाकाहारी बन्न र साउने सोमबार ब्रत बस्न एकदम मनपर्छ,’ उनले भनिन्।

ब्रतको दिन नुहाएर घरमै पुजा गर्ने गरेको बताइन्। केकी अधिकारी अविवाहित हुन्। उनले राम्रो श्रीमान पाउने आशमा भन्दा पनि आफ्नै स्वास्थ्यको लागि ब्रत बसेको बताउँदै सबैले हप्तामा एक दिन ब्रत बस्नुपर्ने बताइन्।

सुरक्षा पन्त
धनपति अभिनेत्री सुरक्षा पन्तलाई भने साउन महिनाले छोएको छैन। उनले समय नभएकाले ब्रत बस्न नपाएको बताइन्। ‘ब्रत बस्न खासै मन लाग्दैन, समय पनि हुँदैन’, उनले भनिन्, ‘पहिला पनि बस्ने गरेकी छैन, यो वर्ष पनि बसिन।’

सुरक्षाले हातमा मेहन्दी पनि लगाएकी छैनन्। उनलाई साउनमै भनेर मेहन्दी लगाउन मन पर्दैन।भन्छिन्, ‘मेहन्दी लगाउन मन लागेको बेला जुन समय पनि लगाउँछु, साउन भनेरै मेहन्दी लगाएको छैन।’

स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्काले यो साउनमा सोमबार ब्रत बसेकी छैनन्। उनले फिल्मको सुटिङको कारण हातमा मेहन्दी पनि लगाउन नपाएको बताइन्।

‘साउन भनेर बारेकी छैन, ब्रत नबसेको भएर म सबै खाइरहेकी छु’ स्वस्तिमाले भनिन्। तर मौका मिलेको बेला शिवको पुजा गर्ने उनले बताइन्।

शिल्पा पोखरेल
अभिनेत्री शिल्पा पोखरेलले यो साउनमा ब्रत बस्न पाएकी छैनन्। ‘फिल्मको सुटिङले खानाको ठेगान हुँदैन, हामीलाई सधैं ब्रत जस्तै हो’ उनले भनिन्। उनले यो वर्ष पनि हातमा मेहन्दी लगाउन पाइनन्। भन्छिन्,‘यो वर्षको साउनमा मेहन्दी लगाउने रहर अपुरो भयो, सुटिङले हातमा मेहन्दी लगाउन पनि नमिल्ने, लगाएपनि छिट्टै नजाने भएर लगाउन पाइन।’
शिल्पाले फुर्सदको समयमा भने घरमा पुजा गर्ने बताईन्।

दिपा श्री निरौला
अभिनेत्री दिपा श्री निरौलालाई साउन महिना खुब मन पर्छ। ‘मलाई साउन महिना निकै मन पर्छ। हरियो चुरा, मेहन्दी, पुजा आदिले यो महिना मलाई निकै चंगा लाग्छ,’ उनले भनिन्।

दिपालाई साउन महिनाले  महिलाको पर्व सुरु भएको आभाष दिलाउने भएकाले यो महिनमा एकदम मनपर्ने बताइन्।

साउनमा दिपाले हरियो चुरा लगाउने मेहन्दी लगाउने सबै गर्छिन्। यो वर्ष उनले हातमा फिल्म ‘छक्का पन्जा २’ नामले मेहन्दी कुदाइन्।

२० वर्ष देखि शाकाहारी दिपाले यो साउनको पहिलो सोमबार ब्रत बसिन्। ब्रतमा उनले फलफुल खाइन्। तर यो सोमबार उनको घरमा जुठो परेकाले ब्रत बस्न नमिलेको दिपाले बताइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.