‘म यस्तो गीत गाउँछु’ हेर्न दर्शकको भिड


लामो समयपछि  काठमाडौं लगायत देशभरका अधिकांश हलमा दर्शकको भिड देखिएको छ। शुक्रबारदेखि रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ हेर्न सबैजसो हलमा उल्लेख्य दर्शकको उपस्थिति देखिएको छ।

शुक्रबार ‘बम्पर ओपनिङ’ गरेको चलचित्रले शनिबार आफ्नो राम्रो व्यापारलाई निरन्तरता दिएको काठमाडौंका वितरक गोपाल कायस्थले बताएका छन्।

काठमाडौंका जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिजका साथै गोपीकृष्ण र अष्टनारायणमा फिल्म शो हाउसफूल रहेको पनि उनले जानकारी दिए।

यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा,बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति राम्रो रहेको मोफसलका वितरक मनोज राठीले बताए। उनले भने, ‘अहिलेको व्यापार व्यापक भन्नुपर्छ। हलमा दर्शक उर्लिएका छन्।’

काठमाडौंका केही हलमा फिल्म निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा पुगेका थिए। गोपी, अष्टनारायण, जय नेपाल लगायतका हलमा दिनभर नै उनीहरू दर्शकहरुसँग अन्तर्क्रिया गरिरहेका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.