मदनकृष्णले लेखे ‘महको म’

मदनकृष्णले लेखे ‘महको म’

पत्रकार सम्मेलनमा पुस्तकबारे जानकारी दिँदै श्रेष्ठ/तस्बिर: नारायण महर्जन


मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य–  नाता लगाउनुपर्दा एकले अर्कालाई दाइ–भाइ सम्बोधन गर्छन्। साढे सात वर्ष जेठा मदनकृष्णले भन्दा पहिले ‘भाइ’ हरिवंशले आत्मकथा लेखे। अब भने ‘दाइ’ मदनकृष्णले पनि आत्मकथा सार्वजनिक गर्ने भएका छन्। आत्मकथाको नाम राखिएको छ– महको म।

बुधबार पुस्तकबारे जानकारी दिने उद्देश्यले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोडी हरिवंशले मदनकृष्णलाई शुभकामना दिँदै आफूले महको ‘ह’ कथा पहिल्यै लेखिसकेकाले बाँकी ‘म’को अपुरो कथा आउन लागेकोमा खुसी व्यक्त गरे। पुस्तकको नाम नै सोहीअनुरुप राखिएकाले हरिवंशले मदनकृष्णको किताब पनि आफ्नै कथा भएको बताए।

मदनकृष्ण श्रेष्ठ र यसोदा सुवेदीको वैवाहिक जीवनको ४४ औं वर्षगाँठका अवसरमा भदौ २० गते सार्वजनिक गर्न लागिएको पुस्तक लेखक तथा सहयात्री श्रेष्ठलाई शुभकामना दिँदै गर्दा आचार्यले आफूले आत्मकथा लेख्नुको उद्देश्य पनि सुनाउन भ्याए।

‘हामीले लेखेका हास्यव्यंग्यका कथाहरु छापेको भए सबै उपन्यास बन्थे होलान्,’ आचार्यले भने, ‘तर, क्यामराको माध्यमले देखायौं र ती टेलिश्रृंखला बने। टेलिश्रृंखलाका लागि लेखे पनि कहिल्यै किताब लेखिएला भन्ने सोचेको थिइनँ। जब ममाथि बज्रपात प¥यो (श्रीमती मीरा आचार्यको निधन), म कुनै काम गर्न नसक्ने स्थितिमा थिएँ। मभित्रको उकुसमुकुस भित्तालाई सुनाउँ कि, रुखलाई सुनाउँ जस्तो हुन्थ्यो। मान्छेलाई सुनाउँ भने मेरो कथा झिँजो मान्न सक्थे। अरुका आँखामा मेरो आँखामाजस्तो आँशु नआउन पनि सक्थ्यो। त्यसपछि मैले पीडा, वेदनाका कुरा लेख्न थालेँ।’

यसरी पीडाका अनुभूतिबाट लेखन थालेका आचार्यले चिकित्सक तथा लेखक रवीन्द्र समीरलाई देखाएछन्। उनले पीडाका कुरा मात्र नभई, बाल्यकालदेखि हास्यकलाकारिता, मदनकृष्णसँगको सहयात्राका कुरा जोडेर किताब निकाल्न सुझाव दिएपछि आफूले बाल्यकालदेखिका कुरा जोडेर किताब निकालेको बताए।

हालसम्म आत्मकथा र उपन्यास गरी दुई किताबका लेखक आचार्यले श्रेष्ठको आत्मकथालाई आफ्नो तेस्रो पुस्तकको रुपमा अथ्र्याए। ‘किताबको नाम महको म भए पनि यसमा महको ह पनि छ, त्यसैले यो मेरो पनि किताब हो,’ आचार्यले भने।

मन्तव्यकै सिलसिलामा आचार्यले मदनकृष्ण र आफ्नो संयुक्त पुस्तकको सम्भाव्यता रहेको पनि बताए। तर, उक्त पुस्तक कुनै साहित्यिक या आत्मपरक भन्दा पनि टेलिश्रृंखला तथा रंगमञ्चमा प्रस्तुत गरिएको प्रहसनको संग्रह हुनसक्ने आचार्यले जानकारी दिए।

हरिवंशपछि माइक समातेका श्रेष्ठले झन्डै ६ वर्ष लामो किताब लेखनको अभ्यासका छोटो अनुभव सुनाए। हरिवंशको ‘चिना हराएको मान्छे’ महको ‘ह’ को कथा भएकाले बाँकी ‘म’को कथा लेखेको बताए।

किताब लेख्न थाल्नुको कारणचाहिँ हविंशको भन्दा फरक रहेछ।

‘अमेरिकामा बसेको मेरो एउटा साथीले भन्यो, आत्मकथा लेख,’ श्रेष्ठले अनुभव साटे, ‘भेटमा पनि, फोनमा पनि जतिखेरै सोधिरहन्थ्यो, लेख्न सुरु गरिस्। ऊ भन्थ्यो, दिनको एक पेज भए पनि लेख, त्यो पनि नसके आधा पेज, त्यो पनि नसके दुई हरफ, कम से कम एक अक्षर भए पनि लेख। मलाई लाग्थ्यो, आत्मकथा भनेको त देशलाई ठूलो योगदान दिने विपी कोइराला, महात्मा गान्धी, नेल्सन मन्डेलाजस्ता मान्छेको पो हुन्छ त। म त सामान्य मान्छे, आममान्छेले जस्तो भोग्छन्, मेरो भोगाई त्यस्तै हुन्छ, के लेख्नुजस्तो लाग्थ्यो। लेख्न थालेपछि लेख्दालेख्दै साढे पाँच वर्ष लाग्यो।’

आत्मकथा लेख्नुअघि आफूलाई तयार पार्न श्रेष्ठलाई लामै समय लागेछ। राति सुत्नुअघि दिनभर आफूले के राम्रा गरेँ, के नराम्रो गरेँ, के नराम्रो खाएँ, के राम्रो खाएँ भनेर आत्मसमीक्षा गरेजस्तो आत्मकथा लेख्दा आफूले बाँचेको सम्पूर्ण जीवनकै समीक्षा हुने भएकाले आत्मकथा लेख्नु ठिक लागेपछि लेखन थालेको उनले बताए।

हरिवंश आचार्यका साथमा पुस्तक प्रकाशनको सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका निरज भारी

परिवारमा परेको ठूलो बज्रपातका कारण किताब लेखेका हरिवंशको जस्तो पीडा मदनकृष्णलाई किताब लेख्न थालेपछि भयो। किताब लेख्दै गर्दा उनकी श्रीमतीई क्यान्सर भयो। उनी आफैंलाई पार्किन्सन्स भयो। यी दुवै रोग पूर्ण रुपमा निदान नहुने रोग हुन्।

‘मैले आफ्नो पार्किन्सन्सलाई त पेल्दै लगेको थिएँ,’ श्रेष्ठ भावुक सुनिए, ‘श्रीमतीलाई क्यान्सर भएपछि स्याहारसुसारमा लाग्नुप¥यो। उपचारका लागि बैंकक, थाइल्यान्ड धाउनुप¥यो। त्यस्तो अवस्थामा कहाँ बसेर, कसरी लेख्नु? राजाराम केसी, किरण केसी, गौरिशंकर ध्वजुहरुले सोधिरहे, किताब कहिले सकिन्छ?’

लेखन अनुभव साट्दै श्रेष्ठले बाल्यकालदेखि आफूले बाँचेका जीवन सम्झँदै, लेख्दै जाँदा स्मृतिका पोका फुक्दै जाने भएकाले कथा तन्किएको बताए। ‘सम्झँदै जाँदा यो पनि लेख्न मन लाग्छ, त्यो पनि लेख्न मन लाग्छ, लेख्दा लेख्दै एक लाख चालीस हजार शब्द भयो,’ श्रेष्ठले भने, ‘पछि सम्पादन गरेर ३५ हजार शब्द काटिएको छ।’

हाल भाषा सम्पादनको क्रममा रहेको पुस्तकमा जन्मथलो जीतपुरफेदीमा बिताएको बाल्यकालदेखि, प्रेम, बिहे, हरिवंशसँगको सहयात्रादेखि कलाकारिताका अनेक घटना तथा अनुभव समेटिएको श्रेष्ठले बताए। ‘हरिवंशलाई समेत थाहा नभएका झन्डै दर्जन घटना किताबमा छन्,’ श्रेष्ठले भने।

हरिवंशकै पुस्तक प्रकाशन गरेको संस्था फाइन प्रिन्टले महको मलाई प्रकाशनमा ल्याउन लागेको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.