अनगिन्ती अर्थ दिने कीर्तिपुर क्यानभास


तस्बिरः नारायण महर्जन/सेतोपाटी


समसाँझै कीर्तिपुर लहरै दियो बालिएको गुम्बा या मन्दिरजस्तै धपक्क बल्छ। साँझको बेला बल्खुदेखि थोरै उकालो चढेर कीर्तिपुरको आँगनमा पुग्दा हरेक घरका झ्यालबाट चुहिएका अनगिन्ती बत्तीहरुले टर्च बनेर नयाँबजारको गेट छिर्ने बाटो देखाइदिन्छन्।

जागेको कीर्तिपुरको आफ्नै अर्थ छ, निदाएको कीर्तिपुरको आफ्नै अर्थ छ!

लोडसेडिङ हटेपछि त झन्, निदाउन पनि भ्याएको छैन कीर्तिपुर! त्यसो त, यहाँ अनगिन्ती सपनाहरु बर्बराइरन्छन्। ती सपनाहरुले न दिन भन्छन्, न रात नै कुर्छन्।

कीर्तिपुर अनेक कथा–किंवदन्तीहरुको सहर हो। पृथ्वीनारायण शाहले राज्यविस्तारका क्रममा तेस्रोपटकमा विजय हासिल गरेका अनेक अनगिन्ती कथा छन्। मुनि बलियो चट्टान भएकाले सानोतिनो भुइँचालोले कीर्तिपुरमा हमला गरेर कुनै कीर्तिमानी रच्न सक्दैन।

प्राज्ञिक हिसाबमा, विश्वविद्यालय यसकै काखमा छ। देशका कुनाकुनाबाट डिग्री लिन आउनेहरुको भीड यहीँ जम्मा हुन्छ। त्यो भीड डेरामा वास बस्छ। डेरावाल हुनेबित्तिकै घरबेटी आउने नै भए। घरबेटीका आफ्नै कथा छन्। डिग्रीका लागि भिडिरहेकाहरु शैक्षिकदेखि डेरावाल हुँदासम्म हरेक दिन अनगिन्ती कथा जन्माउँछन्।

पारिपट्टि कलंकी चोकमा राजधानी भित्रने र बाहिरिने गाडीहरुको भीड लाग्छ। भित्रिँदै गरेका गाडीका हर्नले मोफसलदेखि आएकाहरुको मनमा यादहरु भित्र्याउलान्। बाहिरिँदा बसको छतमा न्यास्रो टाँसेर सम्बन्धित साइनोकहाँ पठाउलान्!

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेजस्तो कथै–कथा–किंवदन्तीले भरिएको, अनेक अर्थ लाग्ने कीर्तिपुरलाई कतिले पेन्टिङ ठान्लान्, कतिले कविता लेख्लान्। कतिले यसभित्र अनेक चित्र देख्लान्। कतिले सर्टिफिकेटको थुप्रो, कतिका लागि यहाँ पैसा थुप्रिएको छ।

चार वर्षअघि कीर्तिपुरमा एउटा चित्रकारको आँखा पर्‍यो। ती चित्रकारले कीर्तिपुरलाई खाली क्यानभास देखे। क्यानभास त सेतो र सादा हुन्छ। तर, अमृत कार्कीले कीर्तिपुरलाई यस्तो क्यानभास ठाने, जुन आफैंमा एउटा तयार भइसकेको पेन्टिङ पनि हो। तर, यस्तो पेन्टिङ, झट्ट हेर्दा त्यहाँ मूर्त भन्ने कुरा केही लाग्दैन।

अमृतले पुरै कीर्तिपुरलाई क्यानभास मानेर चित्र कोरिदिए। त्यो चित्र सम्भवतः नेपालकै ठूलो क्यानभासमा कोरिएको अमूर्त चित्र हो। कुनै कलाकार विशेषले नभइ पात्रहरु आफैं कोरिएर बनेको अमूर्त चित्रलाई पृष्ठभूमिमा राखेर बाहिर अर्को अमूर्त चित्र कोरेका हुन् अमृतले।

कीर्तिपुरको आँगनबाट हेर्दा अहिलेको कीर्तिपुर पहिलेभन्दा फरक रङमा देखिन्छ। खातै–खात घरहरुको बीचमा रातो रङले आयाताकार चित्र कोरिएको छ। यसपछि अनगिन्ती अर्थ दिने ‘कीर्तिपुर क्यानभास’मा बेग्लै अर्थ खोज्न थालिएको छ। चित्र सादा छ। टाढाबाट हेर्दा तलदेखि माथिसम्म रेखाका आकार बराबर देखिन्छन्। छड्केबाट हेर्दा कीर्तिपुर टाटेपांग्रे देखिन्छ। आयाताकार देख्न सीधाबाट हेर्नुपर्छ।

कतिलाई यो देख्दा लाग्दो हो, कुनै व्यावसायीक कम्पनीले कीर्तिपुरलाई होर्डिङ बोर्ड मानेर विज्ञापनको पेन्ट गरिएको हो। तर, त्यहाँ कुनै ब्रान्डको नाम देखिँदैन। घर रंग्याउने इनामेलले पोतिएको भित्तामा अरु केही चिन्हहरु पनि छैनन्। पोतिएको ठाउँमा न कुनै अक्षर छन्। न त छन्, मसिना चित्र। आयत सादा छ। मात्र सादा।

आफूलाई भिजुअल आर्टिस्ट भन्न रुचाउने अमृत कलाको एउटा विधामा मात्र बाँधिदैनन्। करिब पाँच वर्षदेखि उनी पर्फमेन्स आर्ट गर्छन्, सानो चारपाटे क्यानभासमा मूर्त/अमूर्त चित्रहरु कोर्छन्। आफूलाई अभिव्यक्त गर्न कहिले भिडियोको सहायता लिन्छन्, त कहिले विज्ञान र प्रविधिको सहयोगले यन्त्रसमेत बनाउँछन्। यी सब कला नै हुन्।

एक महिनाअघि काठमाडौंमा सम्पन्न कला प्रदर्शनीको कुम्भ मेला ‘काठमाडौं ट्रियनाले’ का क्रममा प्रस्तुत गरिएको यो कला उनको पछिल्लो अमूर्त कला हो। जुन कला, कि त कीर्तिपुरका भित्तामा रङ उडेपछि मात्र सकिनेछ, कि घर भत्किएपछि।

यो कलाको अर्थ के होला त?

किन उनले कीर्तिपुरलाई नै रोजे?

कलाको अर्थ खुलाउन उनी हच्किए।

‘कीर्तिपुरजस्तो सहर मैले नेपालमा अहिलेसम्म देखेको छैन,’ कीर्तिपुर नै रोज्नुको कारणचाहिँ पहिले खुलाए, ‘यस्तो भर्टिकल सिटिस्केप विदेशमा मात्र देखेको छु। त्यो पनि फोटोमा मात्र। यदि कीर्तिपुर देखेको हुन्थिनँ भने मेरो सोचमा यो आइडिया आउने नै थिएन।’

काठमाडौं विश्वविद्यालयमा ललितकला पढिरहँदा करिब चार वर्षअघि अमृत पहिलोपल्ट कीर्तिपुर पुगेका रहेछन्। जब नयाँबजार अगाडिबाट गजधम्म ठडिएको तहैतहको कीर्तिपुर देखे, उनलाई देशको सबैभन्दा अनौठो सहर लाग्यो। उनले तीन–चार क्लिक फोटो खिचे। ल्यापटपमा राखे।

जब उनी स्मृतिको गर्तमा हराउन चाहन्थे, कहिलेकाहिँ ल्यापटपमा संगृहित फोटोमा मन डुलाउँथे। स्मृतिको पानामा कीर्तिपुर ताजै बसेको थियो। यसै–यसै दुई वर्ष बित्यो।

दुई वर्षअघि एकदिन उसैगरी फोटोमा आँखा चराउँदै थिए, दुई वर्षअघिको कीर्तिपुर देखे। झट्ट उनको दिमागमा आयो, यसमा केही न  केही खेल्नुपर्छ।

उनको मनमा अनेक विचार पानीका फोकाझैं उठ्दै र फुट्दै गए। उनले कीर्तिपुरलाई नै फरक ढंगमा चित्रमा उतार्ने पनि सोचेका थिए। तर उनको मन अन्तै डुल्न थाल्यो। आफैंलाई प्रश्न गरे, ‘कीर्तिपुरलाई नै क्यानभास मानेर त्यहीँ पेन्टिङ गर्दा कसो होला?’

सहरका भित्तामा त हरेक देशमा पेन्टिङ गरिएका छन्। तर, सिंगो सहरलाई नै क्यानभास मानेर अमूर्त चित्र कोरिएको निकै कम उदाहरण फेला पारे उनले।

कलाकारी मस्तिष्क न हो, विचारहरुले अनेक वेग हान्न थाले। एउटा डायरीमा ‘आइडिया’हरु टिप्दै गए, त्यो पनि आफ्नै भाषामा।

आफ्नै भाषा?

हो, अमृतको आफ्नै भाषा छ। कुनै दिन उनले यो भाषाको शब्दकोश नै बनाएर छुट्टै स्वतन्त्र भाषा बनाउने पनि सोचेका थिए।

उनले स्पष्ट पार्न झोलाबाट एउटा डायरी झिके, जहाँ गोला–गोला केही चित्र र नबुझिने अक्षर देखिन्छन्। यो भाषा संसारको कसैले पनि बुझ्न सक्दैन, सिर्फ उनले बाहेक।

आठ कक्षातिर पढ्दाताका उनले यस्तो भाषा बनाएका रहेछन्। अंग्रेजी वर्णमालामा आधारित भएर उनले यस्ता अक्षरलाई जन्म दिएका रहेछन्। अंग्रेजी वर्णमालाका क्यापिटल र स्मल दुवै अक्षर उनले बनाएका छन्।

उनी यो भाषामा त्यत्तिकै छिटो लेख्न सक्छन्, जति अंग्रेजी र नेपालीमा लेख्छन्। प्रशासनीक कागजात, कलेजको होमवर्कजस्ता औपचारिक कामबाहेक उनी यही भाषा चलाउँछन्। यस्तै भाषामा उनले कीर्तिपुर क्यानभासको आइडिया उतारेका रहेछन्। झन्डै डेढ वर्ष दिमायो यो अवधारणा चलाउँदा तीन/चारवटा डायरी सकिएछन्। डेढ वर्षको अन्तरालमा उनले थुप्रैपटक कीर्तिपुर रिसर्च गरे। चिया पसलमा कसैले कीर्तिपुरको नाम लिएको सुन्नेबित्तिकै उनी यही भाषामा डायरीमा टिपोट गरिहाल्थे।

काठमाडौंमा कला प्रदर्शनीको ठूलो महोत्सव ‘काठमाडौं ट्रियनाले’ का लागि कलाकारहरुको खेस्रा अवधारणा माग गरियो। अमृतले उही पुरानो फोटोमा फोटोसपको सहायताले आयाताकार चित्र खिचे। र, डायरीसहित फेस्टिभलका क्युरेटर फिलिप म्यान कटेरनलाई देखाए। उनको सोच सुनेपछि कटेरनले भनेछन्, ‘तिमीले यो सोचलाई मूर्त रुप दिनैपर्छ। हामी सहयोग गर्छौं। यदि सकेनौ भने पनि निराश नहुनू, फेस्टिभलमा हामी यो डायरीलाई मात्र पनि कला प्रदर्शनीअन्तर्गत नै राख्छौं।’

काठमाडौं विश्वविद्यालय पढ्दै गर्दा फुरेको यो सोचमा उनका थुपै साथीहरुले हौसला दिएका थिए। फेस्टिभल क्युरेटरले नै यत्तिको ढाडस दिएपछि उनको योजना कसिलो बन्दै गयो।

इन्जिनियर र ओभरसियरबाट सम्भव हुन्छ भन्ने उत्तर पाएपछि उनी सोचलाई काममा उतार्न कीर्तिपुर पुगे। अध्ययन गर्दा ३७ वटा घरमा रङ पर्ने देखियो। ‘मलाई सबैभन्दा ठूलो चुनौति नै घरवालाको अनुमति पाउनु थियो,’ अमृतले अप्ठ्यारा दिन सम्झिए, ‘तर, पहिलो घरले नै अनुमति दिएन। त्यसपछि हामीले अर्कोघरदेखि रङ लगाउन सुरु गर्ने सोचले अनुमति लिन गयौं। अर्को घरमा सार्दा २४ वटा घरमा रङ पर्ने देखियो।’

सुरुमा उनी नगरपालिका कार्यालय पुगेका थिए। नगरपालिकाले नयाँबजार युवा क्लबसँग सल्लाह गर्न सुझाएको थियो। युवा क्लबले रङ पर्ने घरका मालिकलाई चिठी काटेर मिटिङमा आउन अनुरोध गर्‍यो। तर, मिटिङमा २४ घरमध्ये जम्मा चार जना मात्र आएछन्। दोस्रोपटकको मिटिङमा पनि उति नै।

यसपछि कसैले सुझाव दिएछ, सर्भे गर्ने। सर्भे गर्न १२/१३ वटा प्रश्न तयार गरियो। सर्भेका प्रश्नमा रङ लगाउने अनुमतिका लागि घुमाउरो प्रश्न थियो। तर, अमृतलाई पर्‍यो भाषाको समस्या। उनले नेवार साथी खोज्दै जाँदा साथीका मार्फत् कीर्तिपुरकै प्रभा महर्जनलाई फेला पारे।

उनको सहयोगले २४ मध्ये १२/१३ घरले सजिलै अनुमति दिए। झन्डै आश मारिसकेका अमृतले गन्तव्यका लागि भीरमा हिँड्दै गर्दा बलियो डोरी फेला पारे। बाँकी घरकाले मान्दै जालान् भन्ने सोचेर उनले काम अघि बढाए।

करिब पचास जना कामदार र स्वयंसेवक रङ लगाउन खटियो। पहिले नमानेकाहरुले पनि अनुमति दिए। कतिले त त्यत्रा कामदारलाई खाजाखानासमेत खुवाउँथे। ‘हामी पनि रमाउँथ्यौं, अमृत भन्छन्, ‘उहाँहरुले पनि रमाइलो मान्नुभयो।’

झन्डै एक महिनामा सबै घरमा रङ लगाएर सकिनै आँटेको थियो। पहिले अनुमति नदिएका लगभग सबै घर मानिसकेको थिए। तर, अन्तिम घरले भने केही गरी अनुमति नै दिएन। त्यसैले अमृतको आयाताकारको एक छेउ चोइटिएजस्तो देखिन्छ।

तर, खाली देखिने ठाउँमा टाउकोले छेकेर फोटो खिच्दा पुरा देखिने भएर सबैले त्यसरी नै खिच्दा रहेछन्।

जब कला महोत्सवमा अन्तर्राष्ट्रियस्तरका ठूला कलाकारले उनको काम मन पराए, भारतदेखि जर्मनी, हङकङसम्मका पत्रिकामा समाचार छापियो– राजधानीबाहिरको मानिसले आफ्नो ठाउँ चिनाएकोमा कीर्तिपुरवासी अमृतदेखि निकै खुसी छन्। अमृत पनि खुसी छन्, ऐतिहासिक, कथै–कथा भएको सहरलाई सिंगो क्यानभास मानेर चित्र बनाउन पाएकोमा। नामैले कीर्तिपुर रहेको सहरमा आफ्नो कीर्ति देखाउन पाएकोमा दंग छन्।

अचेल त कतै आयाताकार देख्दा पनि उनी कीर्तिपुर सम्झिहाल्दा रहेछन्। आयाताकार टेबुल, आयाताकार भित्ता, आयाताकार क्यानभास, आयाताकार कोठा आदि–आदि।

खास यसको अर्थचाहिँ के हो त? अर्थ खोल्न अमृतलाई अनेक तरिकाले प्रश्न सोधियो।

पहिलो पटक प्रश्न सोध्दा एकपल्ट हाँसेका अमृत दोस्रोपल्टको सोधाइमा लामै समय हाँसे। उनको हाँसोबाटै प्रस्ट हुन्थ्यो– उनी कुनै हालतमा आफ्नो अर्थ खुलाउनेवाला छैनन्।

‘मैले यसको अर्थ यो हो भनेँ भने हेर्नेको ध्यान त्यहीँ मात्र जान्छ, र मेरो कला मर्छ,’ अमृत अड्कलेर कुरा खोल्छन्, ‘यस्ता अमूर्त चित्रकलामा हेर्नेले आ–आफ्नै अर्थ लगाउन् भन्ने मान्यता हुन्छ। त्यसो हुँदा अनेक अर्थ निस्कने भए।’

अनेकपटकको प्रयासमा उनले यसो गर्नुको कारण काठमाडौं आएपछिको आफ्नो भोगाइ उतारेको बताए। ‘काठमाडौंबाहिरको एउटा मान्छे काठमाडौं आएपछि के–के भोग्छ?’ अमृत भन्छन्, ‘कीर्तिपुर गएर यो रङ मात्र नहेर्नुस्, कीर्तिपुरका भित्री गल्लीगल्ली पनि चाहार्नुस्। कीर्तिपुरमा अनेक कथा भेट्न सक्नुहुन्छ। तपाईंले त्यतिबेला यसको अर्थ पक्कै भेट्नुहुन्छ। यहाँ कीर्तिपुरभन्दा मेरो भोगाई बढी भएकाले तपाईंहरुले आफ्नै जिन्दगीलाई पनि नियाल्नुस्। त्यसो गर्दा पनि अर्थ भेटिन सक्छ।’

पोखरामा बिबिए पढिरहेका अमृतको मनलाई कलाले लखेट्दै काठमाडौं ल्याइपुर्‍यायो। पोखराका घरबेटी उनी काठमाडौंमा डेरावाल भए।

कलाको डिग्री लिन आएका, डेरामा बसेका। कीर्तिपुर पनि डिग्री लिन आएका डेरावालहरुको सहरसमेत हो नि!

कतै यो आयाताकारले डिग्री लिने, राम्रो जागिर पाउने सपना बोकेर दिनरात घोटिने डेरावालहरुको अवस्था चित्रण गर्न खोजेको त होइन?

अमृतको ‘रेडिमेड स्टेटमेन्ट’ छँदैछ– आ–आफ्नो तरिकाले अर्थ लगाउन सबैलाई छुट छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.