आफू अभिनित पात्रलाई उभ्याएर हरिवंशले ल्याए उपन्यास

आफू अभिनित पात्रलाई उभ्याएर हरिवंशले ल्याए उपन्यास




हाँस्य अभिनेता हरिवंश आचार्य अब उपन्यासकारसमेत भएका छन्। शनिबार एक समारोहका बीच उनको पुस्तक ‘हरिबहादुर’को विमोचन उनका जोडि एवं अर्का प्रसिद्ध हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले गरे।

‘हाम्रो समाजमा हरिबहादुर जस्ता चलाख तर नकारात्मक पात्रहरु सबैतिर प्रभावकारी बन्दै गइरहेका छन्,’ उनीहरुको नाटककै एक परिचित पात्र हरिबहादुरमा आधारित उपन्यासबारे बोल्दै मदनकृष्णले भने, ‘त्यस्ता पात्रहरुको भेद खोल्दा त्यसले पाठकहरुलाई रोचक गतिविधिसँग नजिक्याउँदै समाजलाई सचेत हुन मद्दत पुग्ने विश्वास लिएको छु।’

उक्त अवसरमा मदनकृष्णले आफ्नो जीवनी पुस्तक पनि अब छिट्टै प्रकाशित हुने तयारीमा रहेको जानकारी दिएका थिए।

कार्यक्रममा बोल्दै हरिवंश आचार्यले आफुहरु अभिनित नाटकको लेखन पनि सुरुदेखि गर्दैआएको हुनाले पछिल्लो समयका पुस्तकहरु पनि त्यही अभ्यासको निरन्तरता रहेको जानकारी दिए। उपन्यासकार बुद्धिसागरसँगको वार्तामा हरिवंंशले उनका नाटकमा हरिबहादुर जुन रुपमा प्रस्तुत भएको छ प्रस्तुत उपन्यासमा पनि त्यही पात्रलाई अझ विस्तारित रुपले प्रस्तुत गरेको बताए। त्यस्ता पात्रहरुको हाम्रो समाजमा कसरी विकास भइरहेको छ भनेर जानकारी पनि यस उपन्यासले दिने उनले बताए।
नेपाल प्रज्ञाप्रतिष्ठानस्थित डबलीमा आयोजित विमोचन समारोहमा हरिवंशले आफूलाई हरिबहादुरकै रुपमा उभ्याएर पुस्तकसँग जोडिएका कुराहरु प्रहसन र प्रश्नोत्तरका रुपमा समेत प्रस्तुत गरेका थिए।
प्रकाशक फाइन प्रिन्टका अनुसार जेठ पाँच गतेदेखि उक्त पुस्तकको देशब्यापी भ्रमण सुरुहुनेछ।
३ सय ९८ रुपैयाँ मूल्य राखिएको पुस्तकलाई विमोचनको अवसरमा ३ सय २० मा विक्री गरिएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.