‘काठमाडौं सहर, धुलोले उडायो रहर’


बुधबार दिउँसो १५/१६ जनाको एक हुल तीनकुने चोकमा झुरुप्प भेला भयो। उनीहरुको हातमा डोरी, पानी पर्दा ओढ्ने प्लास्टिकजस्ता सामान थिए। त्यसमध्ये एक–दुई जनाबाहेकले आफूलाई शीरदेखि पाउसम्म प्लास्टिकले खर्लप्प ओढाए। घाँटीमा डोरी बाँधे। तर, पुरै कसिलो भने पारेनन्।

प्लास्टिक ओढेर घाँटीसम्म बाँधिएपछि अनुहारवरिपरि बाफ ढाकियो। उनीहरु सकिनसकी सास फेरिरहेका थिए। सास तान्दा प्लास्टिक घरि फुल्थ्यो, घर अनुहारमा चपक्क टाँसिन्थ्यो।

उनीहरुको हातमा ‘राजधानी भयो लाजधानी’, ‘काठमाडौं सहर, धुलोले उडायो रहर’जस्ता नारा लेखिएका प्लेकार्ड थिए।

वरिपरिका मानिसहरुले उनीहरुलाई घेरे। भीड बढ्दै गएपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्यो। तर, आममानिस भने प्रहरीमाथि खनिए। उनीहरु भन्दै थिए, ‘उहाँहरुले राम्रो काम त गर्दैहुनुहुन्छ नि, किन धपाउन खोज्नुभा?’

ठूलो संख्यामा मानिस बोलेपछि प्रहरी पनि रमिते बन्न बाध्य भयो।

यो राजधानीमा केही समयदेखि अचाक्ली उडिरहेको धुलोको सांकेतिक विरोध हो। तर, यस्तो संकेत, सबैले धुलोको विरोध भन्ने बुझिहाल्थे।

कान्तिपुर फिल्म एकेडेमीमा फिल्म पढिरहेका विद्यार्थीहरुलाई प्रत्येक बुधबार क्लासबाट बाहिर निकालेर चरित्र खोज्ने, अवलोकन गराउने वा आफूभन्दा बेग्लै चरित्र बनाएर सडकमा छोडिने गरिँदो रहेछ। कुनै दिन भने विद्यार्थीहरुलाई प्रस्तुतिको अभ्यास पनि गराइँदो रहेछ।

बुधबारको प्रस्तुतिका लागि भने विद्यार्थीहरुले समाजको तात्तातो विषयमा जोडिएर प्रस्तुति दिएका हुन्। ‘पर्फमेन्स आर्ट’ भनिने यस्तोखाले प्रस्तुतिको अवधारणा भने त्यहीँ अभिनय पढाइरहेका रंगकर्मी टंक चौलागाईंले तयार पारेका हुन्।

‘कोटेश्वर सुरु हुनेबित्तिकै धुलो सुरु भइहाल्छ,’ उनले भने, ‘कोटेश्वरदेखि तीनकुनेसम्म जाँदा जतिसुकै बाक्लो मास्कले पनि धान्न नसक्ने हुन्छ। अचेल काठमाडौंमा हिँड्दा यति निस्सासिन्छ कि हामीले यो निस्सासोलाई कलाका माध्यमबाट देखाउन चाह्यौं।’

बुधबार बिहान क्लासमा छिर्नेबित्तिकै चौलागाईंले आफ्ना विद्यार्थीहरुसँग धुलोकै प्रसंग उप्काएछन्। बुधबार के प्रस्तुति दिने निधो भएको थिएन। उनको दिमागमा फ्याट्ट आइहाल्यो, धुलोकै विरोध गरौं न त!

विद्यार्थीहरुले तुरुन्तै सहमति जनाए। टोलीले डोरी, प्लास्टिकलगायत सामान जुटायो र तीनकुनेतिर बढ्यो। करिब १५ मिनेट उनीहरु धुम्धुम्ती उभिए। सबैलाई डोरी बाँधिएको थियो। उनीहरु त्यसबाट फुत्किन चाहन्थे। तर, जति प्रयास गर्दा पनि फुत्किन सक्दैनथे।

‘घाँटीमा डोरी बाँध्नुको अर्थ सरकारले हामीलाई आनन्दले सास फेर्न पनि दिइरहेको छैन भन्ने हो,’ अवधारणाकार चौलागाईंले प्रस्तुतिको अर्थ खुलाए, ‘हुन त कलामा मानिसले जे बुझ्छन् त्यो सत्य हो भनिन्छ। अर्थ नै लगाउन पर्दाचाहिँ, सबैलाई डोरीले बाँध्नुको अर्थ जनता जेलिएका छन् र जति प्रयास गर्दा पनि फुत्किन सकिरहेका छैनन् भन्ने हो।’

‘पर्फमेन्स आर्ट’ हेर्दा नाटकजस्तै लाग्छ। यो अलि बढी बिम्बात्मक हुन्छ। समाजमा भइरहेका वेथिति, विसंगती, राज्यको खराब पद्धतीजस्ता विषयमा विरोध जनाउन संसारभरका कलाकारहरुले सांकेतिक रुपमा यस्तो विधि अपनाउँछन्।

‘तर, बुधबारको यो प्रस्तुति हामीले बुझाउनै परेन,’ चौलागाईंले भने, ‘प्लेकार्ड पनि साथमा भएकाले सबैले धुलोको विरोध भन्ने बुझिहाले। र, आ–आफ्नो अर्थ पनि लगाए।’

अरुण क्षेत्री, अनील कँडेल, सन्जोग रसाइँली, गीता विष्ट, शिशीर पनेरु, कमल बोहरा, मोहन जैसी, राज थापा, अभीनित चौलागार्इं, सुरेन्द्र बस्नेत, स्वप्नील घिमिरे, योगिन राई, एलिस राउत, सजनालगायतले प्रस्तुति दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.