फिल्म नबन्दै ‘छक्कापञ्जा २’ एक करोडमा बिक्यो

फिल्म नबन्दै ‘छक्कापञ्जा २’ एक करोडमा बिक्यो




यस वर्षको चर्चित फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’ नबन्दै एक करोडमा विक्री भएको छ। निर्देशक दीपाश्री निरौलाका अनुसार हाइलाइट्स नेपालले यति रकममा विदेश रिलिज र डिजिटल राइट खरिद गरेको हो।

यसअन्तर्गत युट्युब तथा सामाजिक सञ्जाल अधिकार तथा नेपालबाहेकका देशहरुमा रिलिज गर्ने अधिकार हाइलाइट्स नेपालसँग रहन्छ। हाइलाइट्स नेपालले छक्कापञ्जा पनि सुटिङमा नजाँदै ५० लाखमा खरिद गरेको थियो। देशभित्रै १६ करोडको हाराहारीमा कुल संकलन गरेको फिल्मको सिक्वेलले अहिले दोब्बर पाएर रिलिजअघि नै आफूलाई सुरक्षित गरेको छ।

विकास आचार्य र सामीप्यराज तिमल्सिनाको कथामा बन्ने फिल्मलाई छक्कापञ्जाकै टिमले निर्माण गर्न लागेको हो। ‘नाईं नभन्नु ल’ ब्रान्डबाट चिनिएका आचार्य पनि यसमा कार्यकारी निर्माताका रुपमा भित्रिँदैछन्। उनले यसअघि घोषणा गरेको ‘निरञ्जना’ छक्कापञ्जाकै कारण पर धकेलिएको छ।

दीपाश्री निरौलाकै निर्देशन रहने फिल्मको पटकथा दीपकराज गिरीले लेख्नेछन् भने संवाद लेखनमा गिरीसहित जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’ र अभिमन्यु निरवी रहनेछन्।

फिल्ममा निश्चल बस्नेतले पनि अभिनय गर्दैछन्। केमियो भूमिका निभाउन लागेका निश्चलसँगै यसैसाता रिलिज हुने फिल्म ‘लभ लभ लभ’ की नायिका स्वस्तीमा खड्का पनि दीपक–दीपाको टिममा भित्रँदैछिन्। ज्योत्सना योगी पनि सिक्वेलमा भित्रिने निर्देशक निरौलाले जानकारी दिइन्। उनका भनाइमा बाँकी कलाकारहरु भने छक्कापञ्जाबाटै दोहोरिनेछन्।

देशभित्र बेरोजगारले पिल्सिएका युवाहरुको वैदेशिक रोजगारीको मनोदशालाई फिल्मले उतार्न लागेको निरौलाको भनाइ छ। छक्कापञ्जाबाट लैंगिकताको सवालमा असंवेदनशील देखिएको भन्ने व्यापक आलोचना खेपेकी निरौलाले सिक्वेल निर्देशन गर्दा भने आफू गम्भीर रहने बताइन्। ‘सिक्वेल निर्माण हाम्रो लागि निकै ठूलो चुनौति हो,’ निरौलाले सेतोपाटीसँग भनिन्, ‘राम्रो गर्ने प्रयास रहँदारहँदै पनि कमीकमजोरीहरु त रहन्छन् नै। तर, हामीले अघिल्ला फिल्ममा देखिएका कमजोरीलाई गम्भीरतापूर्वक लिएका छौं र यसपटक कम गर्ने प्रयास गर्नेछौं।’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.