धुर्मुस-सुन्तलीले सन्तपुर नमुना वस्ती माघ २१ मा हस्तान्तरण गर्ने

'निर्माण पूरा गर्न १ करोड ५० लाख रकम अपुग'

निर्माणाधीन सन्तपुर वस्ती। तस्बिरः सिताराम कट्टेलको फेसबुक


सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर वस्तीमा एकीकृत नमूना वस्ती आउँदो माघ २१ गते हस्तान्तरण गर्ने भएका छन्।

परियोजना अनुसार माघ २४ मा हस्तान्तरण गरिने भनिएता पनि समयभन्दा अगाडि नै बस्ती हस्तान्तरण गरिन लागिएको कट्टेलले जानकारी दिए। बस्ती निर्माणमा जुटेको तीन महिना पुगेकोमा खुसी पनि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘आज ९० दिन भएछ एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा जुटेको। निकै खुसी छु। उत्तिकै भावुक पनि छु। सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामिले बस्तीको परिकल्पना मात्र गरेर सम्भव थिएन।’

धुर्मुसका अनुसार बस्ती निर्माणको क्रममा ५ करोड ९५ लाख अनुमानित बजेट छुट्याइएकाेमा  करिब ४ करोड ३१ लाखभन्दा बढी रकम खर्च भइसकेको छ।

अझै १ करोड ५० लाख रकम नपुगेको जानकारी दिदैं उनले थप सहयोग आवश्यक रहेको बताए।

धुर्मुस सुन्तली फाउण्डेसनले साउनको अन्तिम साता तराइका विभिन्न जिल्लामा आएको बाढीले सन्तपुरका दलित समुदायमा सबै घर बगाएपछि उद्दार र राहत पनि दिएको थियो।

घरहरु सरकारी मापदण्ड अनुसार दुई तल्लाको, चार वटा कोठा, भूकम्प प्रतिरोधी, एक धारा, एक शौचालय र एक बगैँचा निर्माण भएका फाउण्डेसनले जनाएको छ।

फाउण्डेशनले निर्माण गरेको यो तेस्रो वस्ती हो। यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.