प्रज्ञा प्रतिष्ठानकाे अगुवाईमा राष्ट्रिय एकता दिवस मनाइँदै


सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको  घाेषणा गरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न गतिविधिमार्फत् यसलाई मनाउने घाेषणा गरेकाे छ।

प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विचार गोष्ठी, चित्रकला प्रदर्शनी लगायतका गतिविधि गरेर मनाउने जानकारी दिएको छ। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिति गठन गरेकाे छ।

कार्यक्रम अन्तर्गत अाज सोमबार प्रतिष्ठानमा ‘आजको सन्दर्भ र पृथ्वीनारायण शाह’ विषयमा विचार गोष्ठी गरिने तथा  मंगलबार र बुधबार प्रतिष्ठानको प्रतिमा कक्षमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट चित्रकला प्रदर्शनी गरिने बताइएकाे छ। साथै नेपाल प्रज्ञा प्रतिष्ठानमै पुस्तक प्रदर्शनी पनि गरिने बताइएको छ।

ब्यान्डबाजा र पञ्चैबाजासहित प्रभातफेरी गर्दै सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै प्रज्ञा परिसरमा आई बिहीबार कोणसभा गरेर विसर्जन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.