नेपाल छायाँकन सकेर ‘द म्यान फ्रम काठमाण्डू’ लाग्यो अमेरिका


‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकिएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले पत्रकार सम्मेलनमा बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखेका थिए।

पाँच करोड बजेट बताइएको फिल्मलाई भारतीय, पाकिस्तानी तथा हलिउड कम्पनीले फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए।

‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन्’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्टप्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’

निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको कागबेनी हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए। तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए।

‘खासगरि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सिंगो विश्वमा फैलिएको अतिवाद र समकालिन राजनीतिको कथा यसले भन्छ र सान्दर्भिक पनि छ’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुई वर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने । निर्माता समेत रहेका उद्दिनले पछिल्लो समय नेपाली फिल्मको ब्यापारमा देखिएको बढोत्तरीले लगानीका लागि आफूहरुलाई हौसला मिलेको बताए ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

निर्माता उद्दिनले रिलिज मिति चाँडै घोषणा गर्ने बताए। विदेशी भाषामा स्वरांकन गरेर विदेशमा रिलिज गर्ने तयारीमा निर्माता छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.