राष्ट्रपतिबाट स्रष्टाहरू पुरस्कृत


नेपाल प्रज्ञा–प्रतिष्ठानले मंगलबार पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न नियमीत पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७४ का विजयी कविहरूलाई पुरस्कृत गरेको छ। पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।

समारोहमा यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका कवि चन्द्र रानाहँछा, दोस्रो  भएका सुवास राई ‘क्याप्टेन’ तथा तेस्रो भएका दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई क्रमश: ३० हजार, २५ हजार तथा २० हजार रुपैयाँसहित पदक प्रदान गरिएकाे थियाे।

यसैगरी  सर्वोच्च राशिको पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार डा. तारानाथ शर्मालाई प्रदान गरिएको थियो। प्रत्येक चार वर्षमा दिइने यो पुरस्कार चार लाख रुपैयाँको रहेको छ। यस्तै, प्रत्येक दुई वर्षमा दिइने जनही एक लाख रुपैयाँको प्रज्ञा संस्कृति पुरस्कार डा. वीणा पौड्याललाई र प्रज्ञा भाषा पुरस्कार डा. रामावतार यादवलाई प्रदान गरिएकाे थियाे।

हरेक वर्ष दिइने नेपाली साहित्य पुरस्कार, २०७३ का लागि कवि विमल निभा तथा २०७४ का लागि कथाकार ध्रुव सापकोटालाई प्रदान गरिएकाे थियाे। प्रज्ञा मातृभाषा साहित्य पुरस्कार अब्दुल लतिफ शौकलाई र सोमबहादुर धिमाललाई प्रदान गरिएकाे छ। पहाडी हिमाली क्षेत्रका लागि मातृभाषा साहित्य पुरस्कार २०७३ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गरिएकाे छ ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रूपान्तरण र राष्ट्रको समृद्धिमा स्रष्टाहरूको भूमिका अहम् रहने बताइन्। साथै उनले साहित्य तथा संस्कृतिका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने स्रष्टाहरूलाई सम्मानित गर्न पाउँदा गौरवान्वित भएको पनि बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.