माघ १९ देखि पोखरामा चार दिने अन्तराष्ट्रिय फिल्म महोत्सव


माघ १९ गतेदेखी पोखरामा चार दिने फिल्म महोत्सव हुने भएको छ। सोमबार नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) गर्न लागेको जानकारी दिएको हो। महोत्सवमा लामा तथा छोटा गरी ५३ फिल्म प्रदर्शन गरिनेछ।

निफका निर्देशक मनोज पंडितले कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फिल्मलाई हेर्ने मात्र नभई बहसको विषय बनाउनका लागि फिल्म महोत्सव गर्न लागिएको जानकारी दिए। ‘हामी कहाँ फिल्महरू कि त विदेशी महोत्सवमा सहभागिता लागि बन्छन् कि बजारका लागि। नोफले यी दुबै चरित्रमाथी विज्ञहरूको अवधारणासहित बौद्धिक छलफलमा केन्द्रित हुनेछ’, पंडितले भने।

निफमा पछिल्लो दुई वर्षयता बनेका फिल्मलाई महोत्सवमा सहभागी गरेको जनाएको छ। महोत्सवका लागि निफले ३० देशबाट प्राप्त चारसय फिल्मबाट महोत्सवका लागि फिल्म छनौट गरिएको बताएको छ। निफमा उत्कृष्ट फिल्म, सर्ट फिल्म, विशेष महत्वको जुरी सम्मान र नेपाल पानोरमामा फिल्मलाई पुरस्कृत गर्ने पंडितले बताए।

महोत्सवमा १० वटा छलफल कार्यक्रम पनि गरिनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.