पठनसम्बन्धी बहसमा उत्रिए लेखकहरू


पर्यटकीय स्थल नगरकोटमा प्रायः मनोरञ्जनात्मक कार्यक्रम भइरहने गर्दछ। विभिन्न संस्थाका तालिमहरू, गोष्ठीदेखि लिएर सम्मेलन पनि यहाँ भइरहने गर्छ। यही नगरकोटमा शनिबार लेखकहरू भने पुस्तक र पढाइसम्बन्धि आ–आफ्ना सम्झना सुनाउँदै बहसमा उत्रिएका छन्।

लेखकहरू घनश्याम खड्का, महेश पौडेल र दीपक सापकोटाले पठनसम्बन्धी विगतका स्मृति, लेखनका प्रेरणाहरू र पठन संस्कृतिका नयाँ आयाममाथि नगरकोटमा चर्चा गरे। ‘पढाउनेले पढौं’ भन्ने नाराका साथ नेपाल प्रहरी स्कुल, साँगाले आयोजना गरेको मासिक कार्यक्रम ‘बुक मेनु’को सातौं शृंखलामा यसरी लेखक र शिक्षकहरूले पठनबारे अनुभूति बाँडेका हुन्।

छलफका क्रममा निबन्धकार एवं लेखक दीपक सापकोटाले अब हाम्रा मानक मानिएका प्राध्यापक,  इतिहासविद् एवं लेखकहरूलाई पनि स्कुलका विद्यार्थी तथा शिक्षकहरूले प्रश्न गर्न थाल्नुपर्ने बताए। उनले थपे, ‘हाम्रो समाज विविध सांस्कृतिक–सामाजिक संरचनाबाट निर्माण भएको छ। यहाँका थुप्रै मुद्दा साहित्यमा लेखिएको छैन यसर्थ विमर्श गर्ने संस्कारको सुरुवात अब हुनुपर्छ।’ त्यस्तै लेखक घनश्याम खड्काले भने, ‘नेपाली समाजमा नयाँ लेखक र प्रतिभा जन्मिरहेका छन् र उनीहरूले नेपाली जनजीवनका अनेक मुद्दामाथि केन्द्रीत रहेर लेखन गरिरहेका छन्।’

टैगोरका हरेक किताबले आफूलाई प्रभाव पारेको बताउँदै समालोचक पौडेलले भने, ‘नेपाली समाज जस्तो छ, तिनै मुद्दालाई नेपाली साहित्यमा प्रतिबिम्बित गर्नुपर्छ। यसैले लेखनमा सामाजिक यर्थाथवाद नभएमा त्यसको दुरगामी महत्त्व रहँदैन।’ त्यस्तै कथाकार दिनमान गुर्मछानले मधेशका स्कुलहरूमा आज पनि पठन संस्कृतिको विकास हुन नसकेको यर्थाथ बताए। उनले थपे, ‘शिक्षक, विद्यार्थीमा पठनको वास्तविक संस्कार बसाउनु जरुरी छ।’

कार्यक्रममा आयोजक संस्था नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नवीन श्रेष्ठ, कवि रामगोपाल आशुतोष लगायतले पनि आफ्ना पठनसम्बन्धी अनुभव बाँडेका थिए। उक्त स्कुलका शिक्षक एवं कवि हरिहर तिमल्सिनाका अनुसार पठन संस्कृतिको विकास गरी शिक्षक तथा विद्यार्थीहरूलाई यसमा प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.