भारतीय अभिनेता शशी कपुरको निधन


हिन्दी चलचित्रका चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार निधन भएको छ। शशीको मृत्युसँगै बलिउडमा प्रसिद्ध ‘कपुर खानदान’का अग्रज पृथ्वीराज कपुरका छोरा पुस्ताको अन्त्य भएको छ। शशी राज कपुर र शम्मी कपुरका भाइ थिए।

छातीमा संक्रमणका कारण अन्धेरीस्थित कोकिलाबेन अम्बानी अस्पतालमा उनलाई आइतबार बेलुकी भर्ना गरिएको थियो। तीन वर्षअघि पनि शशीलाई छातीमै समस्या भएर अस्पताल भर्ना गरिएको थियो। त्यसपछि भने उनको बाइपास सर्जरी गरिएको थियो।

उनको निधनको खबर पुष्टि गरेता पनि भतिजा एवं नायक रणधिर कपुरले थप जानकारी तत्काल खुलाउन चाहेनन्।

शशी कपुरकी एक छोरी संजना र दुइ छोरा कुणाल र करण छन्। उनकी श्रीमती जेनिफर केन्डलको क्यान्सरका कारण सन् १९८४ मै निधन भएको थियो। पत्नीसँग मिलेरै शशीले सन् १९७८ मा पृथ्वी थिएटर स्थापना गरेका थिए। कुनै समय यो थिएटर मुम्बइमा अत्यन्त प्रसिद्ध थियो।

सन् १९६१ मा ‘धर्मपुत्र’ बाट फिल्मी नायक बनेका शशी कपुरलाई सबैभन्दा चिनाउने चाहिँ अभिनयले नै हो। त्यस अगावै उनले वाल्यकालमै दाजु राज कपुरले बनाएको ‘आग’ (सन् १९४८)मा वाल कलाकारको हिसाबले फिल्मी दुनियामा प्रवेश गरिसकेका थिए। छ वर्षअघि पद्मभूषण र दुइ वर्षअघि आफ्ना पिता पृथ्वीराज र ठूला दाइ राज कपुरले जस्तै ‘दादा साहेब फालके’ सम्मान प्राप्त गरेका शशीले एक सय १६ वटा हिन्दी सिनेमामा काम गरेका थिए।

१९६५ को ‘जब जब फूल खिले’, ‘वक्त’, १९७१को ‘शर्मिली’, १९७५ को ‘दिवार’, १९७६ को ‘कभी कभी’, १९७८ को ‘सत्यम शिवम् सुन्दरम्’, ‘जुनुन’ ‘त्रिशुल’, १९७९को ‘सुहाग’ ‘प्यारका मौसम’, १९८१को ‘कलियुग’, १९८२ को ‘नमक हलाल’, १९८६ को ‘न्यू दिल्ली टाइम्स’ जस्ता सिनेमाले उनको सम्झना गराइरहनेछ। शशी कपुरले केहि अंग्रेजी सिनेमामा पनि अभिनय गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.