तेह्र कविको सहयात्रा संयोजन ‘आरोहण’


एकल यात्रा निकै चुनौतीपूर्ण हुन्छ। कोही सहयात्री भइदिए यात्रा रोमाञ्चक बन्छ।

यस्तै एक यात्रामा निस्किएका थिए तेह्र आरोही।

यो यात्रा थियो ‘आरोहण’ को– कविहरूको, महाकाव्यको।

साहित्य विधामध्ये महाकाव्य आफैंमा जटिल विधा हो। झन्, भूगोल, विचार, लेखाइ लगायत फरक–फरक भएका व्यक्तिको संयोजनमा लेखन सिङ्गो बनाउनु सजिलो थिएन।

यही असहज बाटोमा कदम चाल्ने आँट गरे १३ जना कविहरूले। नमिल्ने मनलाई केही हदसम्म मिलाए। शब्दहरू समायोजन गरे।

यही तालमेलको नतिजा भयो— महाकाव्य आरोहण।

‘भिन्न भिन्न विचार भएकाहरू मिली एउटै कथामा केन्द्रित भएर काव्य लेखे कस्तो होला? यो सोचले हामीलाई घच्घचाएको थियो,’ कवि डा. रामप्रसाद ज्ञवालीले भने, ‘यही सोचले हामीलाई एउटा सिंगो महाकाव्य लेख्न सघाएको हो।’

तेह्र कविहरूमा सुवेदीसहित प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरप्रसाद शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, नारायणप्रसाद पोखरेल, प्रा.डा. जीवन अधिकारी, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी छन्।

महाकाव्यको एउटा खाका तयार पार्न तेह्र कविको मनसँगै कथा मिल्नु जरुरी थियो, जो उनीहरूलाई हम्मे नै पर्यो। अन्त्यमा सबैको सहमति भूकम्प र विनाश विषयमा मिल्यो। २०७२ सालको भूकम्पले केन्द्रविन्दु बनाएको गोरखा नजरमा पर्यो।

‘गोरखा भूकम्पको केन्द्रविन्दु मात्र होइन। यसमा वर्षौंको ऐतिहासिक विषयवस्तु पनि जोडिएर आएको छ,’ डा. निरौलाले भने, ‘यो नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जिल्ला हो। यसै जिल्लाले विश्वमा नेपाललाई गोर्खालीहरूको देश भनेर चिनाउँछ।’

यही कथामा जोडिएका उनीहरूले काव्यलाई २० सर्गमा विभाजन गरे र एकअर्कालाई काम बाँडे। ‘विभाजनपश्चात् हामी कविहरूले आफ्नै ठाउँमा बसेर काव्य सृजना गरेका हौँ,’ उनले भने।

डा. रामप्रसाद ज्ञवालीले भनेका छन्, ‘चिनी पानीमा घुलेपछिको अवस्था जस्तै, सबै कविहरू यस महाकाव्यमा घुलेमा छन्। अर्थात् कुन सर्ग कसले लेखेको हो, कुन हरफ कसको सृजनाबाट जन्मिएको हो पत्ता लगाउन मुस्किल पर्छ।’

छन्द कविताः पुरातन संस्कार

‘सिलोक लेख्न सजिलो छ। सवाई हाल्न सजिलै होला तर काव्य लेख्न कहाँ सजिलो हुन्छ? कविता छन्दमा लेखे पनि गद्यमा लेखे पनि वा मुक्तक नै लेखे पनि काव्य, काव्य नै हो,’ डा. ज्ञवालीले भने।

‘देवकोटा पुरातन हुन् र? नेवार कूलका सिद्धिचरण श्रेष्ठले छन्दमा लेखे। उनी जजमानी कर्म गर्ने ब्राह्मण त थिएनन्,’ उनले आफ्ना भनाइमा जोड दिदैैं भने, ‘ यसर्थ छन्दमा कविता लेख्दैमा व्यक्ति पुरातन हुने भन्ने होइन। बरू छन्दमा नै व्यापक जीवनका पक्ष टिप्न पाइन्छ। मुक्ति र परिवर्तनको स्वर टड्कारा गरी अभिव्यक्त गर्न सकिन्छ।’

आरोहणका तेह्रै जना कवि यो यात्रामा भर्खरै निस्के पनि यसले एउटा उचाइ भेटिसकेको बताउँछन्।

बौद्धिकता र काव्य दुई भिन्न कुरा भएको प्रा. डा. राजेन्द्र सुवेदीले बताए।
‘यी भिन्न कुरा हुन्। एक कार्य गर्दा अर्को नजिक आउनै दिनु हुन्न। आफूले कविता लेखेको बेला पो सर्जक, लेखेको एक हप्तापछि त आफैं पाठक हुने हो,’ उनले भने।

त्यसैले कविता बौद्धिकता र कलाको लडाँइ नभएको उनी बताउँछन्।

समसामयिक कवितामा गद्य शैलीको बाहुल्यता भएका कविहरूको भनाइ छ। कवितामा नयाँ–नयाँ आयाम र हस्तक्षेप बढेका र मुद्दामा पृथकता आएको उनीहरू बताउँछन्। ‘यी सबैका बाबाजुद पनि छन्द कविता लेखिन छाडिएको भने छैन,’ प्रा.डा.सुवेदीले भने, ‘यसै समयमा विभिन्न महाकाव्य, खण्डकाव्य र फुटकर छन्द कविता आइरहेका छन्। छन्द कविताले प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिरहेका छन्।’

समसामयिक स्वर वा केन्द्रीय धारमा केलाई मूलधार मान्ने भन्ने आफैंमा बहसको पाटो भएको प्रा.डा.सुवेदीको भनाइ छ। ‘छन्द कविता लेखन सुस्ताएको वा छन्द कमजोर भएको होइन। समयसापेक्ष तवरले उत्कृष्ट छन्द कविता लेख्ने सिद्धहस्त कवि कम हुँदै गएका हुन्,’ उनले भने।

संयुक्त रूपमा समसमायिक कविता लेख्ने र प्रकाशन गर्ने चलन पहिलादेखि नै थियो। आख्यानमा त पारिजातसहित तत्कालीन दस जना स्रष्टाले ‘आकाश विभाजित छ’ उपन्यास लेखिसकेका थिए।

यसर्थ अहिले ‘आरोहण महाकाव्य’ पनि तेह्रजना कविले लेख्नु नौलो भने होइन। स्वयं कविहरू यो स्वीकार गर्छन्।

बजारमा शुक्रबारदेखि आउने यो महाकाव्यले समसामयिक कविताको स्वर कसरी उठाएको छ? दर्जनभन्दा बढी कवि मिलेर रचना गरिएको काव्यले पक्कै नेपाली साहित्य र कवितामा सर्वोच्च स्थान लिनुपर्ने हो? वा प्रयोगका लागि मात्रै यसको रचना गरिएको हो? वा वर्तमान कविताको भिडमा आफ्नो सजीवता प्रदर्शन गर्न मात्रै यसको रचना गरिएको हो? यी यावत् प्रश्न महाकाव्यसामु तेर्सिएका छन्।

प्रतिउत्तरमा कविहरू भन्छन्– ‘आरोहण’ महाकाव्य यो समयको काव्य साधना र काव्यिक सहकार्यको सप्रमाण दस्तावेज हो।

आरोहण महाकाव्यका अधिकांश सर्जकहरू प्राध्यापन पेसामा आबद्ध छन्। उनीहरू विश्वविद्यालयमा कविता तथा साहित्यको प्राध्यापन गर्दछन्। उनीहरूको काव्यमा माधुर्य हुनाले आरोहणमा काव्यको अभूतपूर्व संयोजन पाइन्छ।

(तेह्रजना कविहरूद्वारा लिखित आरोहण महाकाव्य मंसिर १५ गते शुक्रबार विमोचन हुँदैछ।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.