पोखरामा सुनिए मंसिरका गजल #NepalVotes #NepalElection2017 पोखरामा सुनिए मंसिरका गजल

पोखरामा सुनिए मंसिरका गजल


पोखरामा शनिबार मंसिर महिनामाथि लेखिएका गजल सनिएका छन्। गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको नियमित गजल गजलको १ सय ७३ औं शृंखलामा प्राय मंसिर महिना र यससँग जोडिएका प्रणयभावका गजल सुनिएका हुन्।

कति बन्छन् कति भत्कन्छन् घर यो मंसिरमा

खै कतिका पूरा हुन्छन् रहर यो मंसिरमा

गजलकार ईश्वरमणि अधिकारीले कार्यक्रममा सुनिएका गजल शेर हुन्, यी।

तिमीले त्यो दिल खडेरी बनाएदेखि

मेरा आँखाका बगर डुबानमा प¥यो

अर्का गजलकार सुदर्शन पौडेलले प्रेमको विम्वात्मक शेर सुनाए। कार्यक्रममा अधिकांश किशोल गजलकार सहभागी थिए र अधिकांशले मायाप्रेमको गजल सुनाए भने केही देश, राजनीति र माटोसँग सम्बन्धित गजल पनि सुनिए।

‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने नारासहित सन्ध्याले गर्दै आएको शृंखलामा यस्तै झन्डै ३ दर्जन गजल सुनिए। गजलकारहरुले अधिकांश प्रणय भावका गजल सुनाएका थिए।

तिम्रो मेरो प्रेम कहानी जान्यो पछ्यौरीले

त्यसैले त आफु तिरै तान्यो पछ्यौरीले

लुगलुग काम्दै थियौं चिसो बतास चली

च्याप्प समाई एकै साथ बान्यो पछ्यौरीले

पिताम्वर शर्माको यी गजल शेरजस्तै मंसिरे शृंखला मायाप्रेम र विवाह केन्द्रित बनेको हो। जब महिनाको दोस्रो शनिबार आउँछ, पोखराका नयाँ पुराना गजलकार एउटै थलोमा भेला हुन्छन्।

यो थलो गजल वाचनको मञ्चमात्रै बनेको छैन, गजलमाथिको विमर्श र अनुभव साटासाट गर्ने एउटा माध्यम पनि बन्दै आएको छ।  डेढ दशकदेखि पोखरामा गजल सन्ध्याले गजल र गजलकारको साझा थलाको रुपमा नियमित वाचनको शृंखला बन्दै आएको पूर्व अध्यक्ष दीपक समीपले बताए।

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले पोखरेली साहित्यमा गजल सन्ध्या पोखरा गजलको पाठशाला भएको बताए। नयाँ पुराना एकै मञ्चबाट गजल वाचनदेखि नेपाली गजलको विकास र उन्नयनमा सन्ध्याले विशेष भूमिका खेलेको सुवेदीको भनाइ थियो।

सन्ध्याका सचिव मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, सन्ध्याका पूर्व अध्यक्ष कपिल शर्मा, मुक्तक मञ्चका अध्यक्ष प्राञ्जल, गजलकार आवाज, शर्मा रिता अधिकारी, त्रुपक, आभास, अशोक तिवारी, बाबुराम खत्री, देपदास संयोग, अनील आचार्य, ओमप्रकाश ढकाल, हिक्मत केसी, दर्शनबाबु आचार्य, गौरी तमु, पिताम्वर गौतम, चरत आचार्य, ऋद्धिमा रिजाल, सूर्यमणि बराल, संगीता आभास लगायतले गजल वाचन गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.