तुलसी दिवसको कवितामा नेपथ्यको गीतसहितको भिडियो


कवि तुलसी दिवसले धेरै वर्षअघि लेखेको कविताका हरफहरू नेपथ्यको दशौं एल्बममा गीतका रूपमा समेटिएको छ।

‘मेरैजस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फुल फुलेकै होला
सम्झिराख
सम्झिराख, लामो सफरमा
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख!

अब भने श्रोतालाई नेपथ्यको रजत वर्षमा घोषित उपहार शृंखला अन्तर्गत यो गीत म्यूजिक भिडियोका रुपमा तयार पारिएको छ। ‘मैले यो कविता बाल्यकालमै रचेको थिएँ,’कवि दिवस भन्छन्। उनले भने, ‘पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरूको मर्मले छोएपछि प्रकाशित हुनपुगेको थियो।’

केहि वर्षयता नेपथ्यको श्रव्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समूह ‘कथाहरू’ले बनाएको यो म्यूजिक भिडियोे नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयले निर्माण गरेको हो। नेपथ्यले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दै आएको थियो। कवि तीर्थ श्रेष्ठको ‘आमा’लगायत केही गीतहरू कविताबाटै तानिएको हो।

‘म गीतको लागि शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हात परेको थियो,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले भने। यस सुन्दर कवितालाई पनि मैले संगीतबद्ध गर्ने प्रयास गरेको हुँ।’

नेपथ्यले यो वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरिसकेको छ। त्यसै क्रममा यसलाई पनि तयार पारिएको हो। २५ वर्षे उत्सवकै क्रममा ब्याण्डले यसैपाली आफ्नो दशौं एल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको छ। उक्त दशौं एल्बममा संकलित गीतहरू मध्येकै ‘सम्झिराख’ पनि एक हो। सार्वजनिक हुने क्रममै रहेको उक्त एल्बमबाट म्यूजिक भिडियो बन्न सफल यो पाँचौ गीत बन्न पुगेको छ।

त्यसै एल्बमको ‘कोशीको पानी’, ‘हो रामा रामा’, ‘शिरफूल शिरैमा’, ‘हामी नेपाली’ जस्ता गीतहरूको म्यूजिक भिडियो यस क्रममा सार्वजनिक भएका थिए। यी गीतहरू यूट्युबमा उपलब्ध छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.