‘आइ एम भेरी सरी…’ का गायक बलिउड हुँदै नेपाल 


‘आई वान्ट टु सी अ स्माइल अन योर फेस
त्यसैले गर्दैछु म तिम्लाई हरदम हरपल ट्रेस …
…आई एम भेरी सरी
री… स… री… स… री…’

‘केटी रिसाएपछि केटाले फकाउने’ भावको यो गीत आजभोलि निकै सुनिन्छ। तराई परिवेशका दृश्य समेटेको यो गीत युट्युबमा ६१ लाखभन्दा बढी चोटि हेरिसकिएको छ।

रिलिज भएको दुई महिनामै ‘निकै चर्चा’ पाएको गीतका शब्द सरल छन्। दिमागले झट्टै टिपिहाल्ने। गायन ‘स्टाइल’ भने, नेपाली फिल्म पार्श्वसंगीतमा नौलो लाग्छ।

यो नौलो अनुभूति दिने गायक हुन्, प्रवेश मल्लिक। लेखक र संगीतकार पनि उनै हुन्।

नेपाली संगीतमा प्रवेश नयाँ अनुहार हुन्? गीतकै माध्यमबाट परिचित हुने मामिलामा उनी पक्कै नौला हुन्। काम हेर्ने हो भने उनी त्यति ‘नयाँ’ होइनन्।

केही महिनाअघि रिलिज नेपाली फिल्म ‘संरक्षण’ मा उनले तीन गीत ‘किशोरी लाल’, ‘होली’ र ‘सम्झनाको सारंगी’ मा संगीत दिएका थिए। यिनले प्रवेशको पहिचान फैलाउन सकेनन्।

तराईवासीको स्वर–लवज मिसिएको र चलनचल्तीभन्दा फरकढंगमा ‘आई एम सरी’ गाएपछि भने प्रवेश श्रोताका चासोमा परे। यति काम गर्दा पनि ओझेलमा परेका प्रवेश अहिले भने एक गीतबाटै लोकप्रिय बने, उनी आफैं चकित छन्।

‘गीत बनाउनुअघि मलाई सौगात मल्लको कमेडी क्यारेक्टर सुहाउँदो गाउनू भनिएको थियो,’ उनले भने, ‘सौगात दाइका नाटक हेरेको थिएँ, राम्रो चिनजान थियो। उहाँलाई सम्झँदै गाएँ। गाएपछि थाहा भयो, म यस्तो स्वर पनि निकाल्न सक्छु।’

प्रवेशका सुरूआती संगीत नेपाली श्रोतामाझ धेरै नपुगे पनि उनी बलिउडमा सुनिएका गायक हुन्। बलिउड फिल्महरूमा गीत गाएका छन्, जुन ‘चलेका’ पनि छन्।

बलिउड निर्देशक प्रकाश झा निर्देशित फिल्म ‘जय गंगाजल’ का दुई गीत ‘माया ठग्नी’ र ‘धिरे धिरे’ का गायक यिनै प्रवेश हुन्। ‘विनु वादर बिजुरी कहार चमके’ बोलको मैथिली लोकगीत बनाउन पनि प्रवेशले नै संगीतकार सलीम–सुलेमानलाई सघाएका हुन्।

 

हालसम्म आठवटा बलिउड फिल्ममा स्वर, संगीत र शब्द लेखेका प्रवेशका ‘द साइकल’ र ‘चिडियाखाना’ गीत रिलिज तरखरमा छन्।

‘फरक’ स्वरमा बलिउडमा चिनिइसकेका प्रवेश धनुषा जनकपुरधामका हुन्।उनी यस्तो परिवारबाट आएका हुन्, हरेक सदस्य संगीतसँग जोडिएका छन्। प्रवेशका हजुरबा भजन गाउँथे। स्थानीय बाजा ‘पखवाज’ बजाउँथे। हजुरआमा र आमा भजनका साथै मैथिली लोकगीत गाउँथे।

बाबु कामेश्वर गीत गाउँथे। कविता लेख्थे। पेसाले शिक्षक कामेश्वरले आफू प्रधानाध्यापक भएपछि स्कुल कोर्समै संगीत विषय राखे।

प्रवेश र जेठा दाजु सुनील मल्लिक मैथिली संगीतमा राम्रै पहिचान बनाएका जोडी हुन्। अरू तीनजना दाजुभाइ कोही गायक–संगीतकार, कोही तबलावादक त कोही साउन्ड इञ्जिनियर छन्।

खानदानी सोख नै संगीत बनाएको मल्लिक परिवार गाउँमा केही विशेष पर्व आउनासाथ गाना–बजानामा लाग्थ्यो। मेला–पर्वमा गाउने, बजाउने निम्तो आउँथ्यो– तीन पुस्तालाई स–परिवार।

‘सांगीतिक’ परिवारमा हुर्केका प्रवेशका घरमा धेरैथरि बाजा थिए। उनलाई भने बजाउने अनुमति थिएन। अलि पढन्ते स्वाभावका उनलाई बाबुले संगीतमाभन्दा पर राख्न खोजे, डाक्टर बनाउन चाहे।

बाबुले देखेको सपनाकै कारण लुकी–लुकी हार्मोनियम सिक्नुपर्यो। एक वर्ष यसैगरी बितिसकेको थियो। हार्मोनियम बजाउन ‘जान्ने’ नै भइसकेका थिए। एक दिन हार्मोनियमको तालमा गीत गर्दा, बाबुले सुनेछन्। भनेछन्, ‘यो पढाकुलाई कहिलेदेखि संगीतमा भूत चढ्यो?’

तै लहड देखेर बाबुले छोरालाई डाक्टर बनाउने सपनासँगै संगीतमा पनि होमिन दिए।

‘सुरुमा त मलाई निकै डर लागेको थियो,’ प्रवेशले सम्झिए, ‘तर, मेरो रूचि थाहा पाउनेबित्तिकै जिल्लास्तरीय गायन प्रतियोगितामा पठाइदिनुभयो।’

सात कक्षादेखि नै प्रतियोगितामा भाग लिन थालेका उनी लगातार पाँच वर्षसम्म प्रथम नै भइरहे। नेपालकै पुरानो र सक्रिय नाट्यसंस्था मिथिला नाट्यकला परिषद् (मिनाप) मा प्रतिभा तिखार्ने अर्को ठाउँ पाए। मिनापका सबै सदस्य उनका बाबुका साथी, ‘चान्स’ पाउन बेर लागेन। त्यो मौकाको राम्रै सदुपयोग गरे।

सुरूआती दिनमा लोक संगीतमा आफ्नो स्वर दिए। ‘केही नयाँ गर्छु’ अठोट भएका प्रवेशले ती गीतमा अनेक प्रयोग गरे। घरि फालिएका पानीका बोतलबाट धुन निकाल्थे, घरि घ्युको ड्रमलाई ठटाउँथे। कहिलेकाँही त बाल्टीमा जगले पानी खन्याएर छुट्टै संगीत निकाल्थे।

दाजु सुनील मिनापमा लोकप्रिय भइसकेका थिए। बाबुले लेख्ने, दाजु गाउने, प्रवेश घुलिदँै गए। दाइलाई संगीतका ‘आइडिया’ दिन थाले। दाजुभाइको सहकार्य नेपाली र भारतीय मैथिली क्षेत्रमा राम्रै जम्यो।

केही वर्षपछि उनी संगीतकार शिलाबहादुर मोक्तानले एरेन्ज गरिदिएको एल्बम ‘मुटुभरी माया’ को तयारीमा लागे। यहीबेला बाबुले देखेको सपनाको पनि तयारी गर्नुपर्ने भयो। उनी एमबिबिएस तयारीमा लागे, नाम निकाले, पढेनन्।

बाबुको चित्त त बुझाउन पर्यो! दिल्ली गएर आइटी पढ्ने निर्णय गरे, मन भने संगीतमै अल्झाएर।

बाबुको मन राखेर आइटीमा स्नातक सकेपछि आफ्नो मन बुझाउनतिर लागे। दिल्ली विश्वविद्यालयमा ‘हिन्दुस्तानी शास्त्रीय संगीत’ पढ्न भर्ना भए, स्नातकोत्तर गरे।

विश्वविद्यालयमै हुँदा ‘शिक्षक संगीत सभा’मा प्रवेश हार्मोनियम बजाउँदै गाउँदै थिए। संगीत गुरू मधुप मुद्गलको नजर उनमा पर्यो। शिष्य बनाए। मधुप ‘क्वायर’ प्रस्तुतिमा आफ्ना शिष्यलाई सहभागि गराउँथे। एकैचोटी चालीस जनाले गाउने–बजाउने यो प्रस्तुतिमा प्रवेशले बिभिन्न भारतीय लोकसंगीत सिके।

प्रवेशले जनकपुर हुँदा संगीतमा गर्ने विभिन्न प्रयोग यहाँ आएर ‘परिचित’ भयो। क्वायर प्रस्तुति क्रममा मधुपले एक दिन विद्यार्थीलाई भने, ‘हामीसँग बाजा छैन, धुन निकाल्नुपर्यो भने के गर्ने? संगीत त प्रकृतिमै छ।’

प्रवेशलाई के चाहियो। डस्टबिन, ब्याडमिन्टनको तार भेला पारे, ड्रम र गितारको धुन निकाले। बाजाबिनै सांगीतिक प्रस्तुति तयार पारे।

दिल्ली छँदा सहपाठीसँग मिलेर ब्यान्ड खोले। भारतका विभिन्न ठाउँ चहारेर गीत गाउँदै हिँडिरहेकै बेला धेरैले बलिउडको आगो झोसिदिए।

‘कार्यक्रममा हामी आफ्ना गीत मात्र गाउँदैनथ्यौं,’ उनले भने, ‘बलिउडका पनि गाउँथ्यौं,’ उनले भने, ‘धेरैपटक तपाईंको आफ्नै गीत गाउनुस् भन्दै वान्स मोर आउँथ्यो। बम्बई हुनुपर्ने मान्छे किन दिल्लीमा भन्थे। साथीहरूले पनि बारम्बार बलिउड जा भन्न थाले। मलाई हिम्मत आयो।’

आँट त गरे, बलिउड जान निकै कुरा त्याग्नपर्ने भयो।

भर्खरै बिहे गरेका उनले खाइपाइआएको शिक्षकको जागिर छाड्नुपथ्र्यो। घरमा मात्र होइन, श्रीमतीका आमाबाबुलाई पनि मनाउन पर्ने। द्विविधामा झुलिरहेकै बेला श्रीमतीले भनिन्, ‘तिमीमा प्रतिभा छ, बलिउडमा जम्ने सपना पनि। नडराऊ। यहीँ बस्यौ भने तिम्रो प्रतिभा निस्कदैँन। सपनामै जीन्दगी बित्नेछ।’

श्रीमतीले नै राजीनामा पत्र लेखिदिइन्, धुकचुक भइरहेका प्रवेशले इमेल गर्न सकेनन्। श्रीमतीले नै गरिदिइन्। अब भने, श्रीमतीको आडले परिवार र ससुराली मनाउन बेर लागेन। हान्निए बम्बई, बलिउड खोजमा।

दिल्ली छोड्नुअघि सोचे, ‘कुनै स्कुलमा जागिर खाउँला। संगीतकारहरूसँग चिनजान बढाउँला र बलिउड छिरौंला।’

संगीतकारसँग चिनजान त के, जागिरसमेत पाएनन्।

बलिउड संगीतकारका दैलो र स्टुडियो धाउँदा एउटै ‘डायलग’ सुन्थे, ‘६ महिनापछि आउनु केही होला कि!’ त्यो ६ महिना आउन दुई वर्ष लाग्यो।

एक दिन दिल्ली छँदै चिनेका सन्तोष मण्डलमार्फत् सञ्जीवकुमार झासँग चिनजान भयो। दुवै मैथिलीभाषी थिए। सञ्जीव छोटा फिल्म निर्देशन गर्थे, एउटा फिचर फिल्मको पटकथा लेख्दै थिए।

समानभाषी भएकैले दुईको ‘ट्युनिङ’ मिल्यो। भेटमा प्रवेशले संगीत सुनाउने, सञ्जीवले कथा सुनाउने। प्रवेश फुर्सदमै थिए, सञ्जीव भने समय पाउनेबित्तिकै प्रवेशको संगीत सुन्न आउँथे।

दुई वर्षसम्म केही नभएपछि उनी दिल्ली फर्किने तयारीमा थिए। सञ्जीव आइपुगे। सधैं एक्लै आउने उनीसँग त्योदिन एक साथी थिए।

ती मान्छे सञ्जीवले लेखेको ‘द साइकल’ फिल्मका निर्माता रहेछन्। उनले प्रवेशको संगीत सुने ,अनुबन्धित गरे। पारिश्रमिक पनि त्यहीँ थमाइदिए।

‘द साइकल’ ले उनको बिथोलिएको मनस्थितिलाई नयाँ गति दियो। दिल्ली फिर्ता रद्द गरे। बलिउडमा चम्किने सपना बोकेर बम्बई छिरेका प्रवेशले उही तर नयाँ सपना देखे।

‘त्यो बेला कुन स्थितिमा बाँचेको थिएँ भन्ने मलाई थाहा छ कि श्रीमतीलाई,’ उनी भन्छन्, ‘बम्बईमा त्यो दुःख सुनाउने साथी थिएनन्। परिवारलाई भनौं, आफूमाथिको भरोसा टुट्न सक्थ्यो। ती वर्ष सम्झँदा अहिले रमाइलो लाग्छ। म अहिले जहाँ उभिएको छु, त्यसको जग नै ती दुई वर्ष हुन्। त्यो समयले मलाई परिपक्व बनाएको छ।’

सञ्जीवकै सहयोगबाट छोटा फिल्म, नाटकको पृष्ठभूमि संगीतको काम पाए। भारतीय साहित्यकार उदय प्रकाशको कविता ‘औरतेँ’ माथि बनेको छोटो फिल्ममा पृष्ठभूमि संगीत दिए। यसमा अभिनेता इरफान खानले कविता वाचन गरेका छन्।

‘मैले यो फिल्म बन्नुअघि नै ३० सेकेन्डको टिजर म्युजिक उदय प्रकाशजीलाई पठाएको थिएँ,’ उनले उदय प्रकाशसँगको संवाद सम्झिए, ‘उहाँले भन्नुभयो, ‘मेरा कविता इतना अच्छा नहीँ, जितना तुने म्युजिक करदिया।’

पहिले सञ्जीव चिनाइदिने सन्तोष मण्डल सहयोगी बन्न आइपुगे। प्रकाश झा फिल्म्सका मुख्य सम्पादक मण्डलले प्रकाश झासँग चिनजान गराइदिए। मैथिलीभाषी झाले ‘जय गंगाजल’मा गीत गाउने अवसर मात्र दिएनन्, उनको कम्पनीबाट बनेका दर्जनभन्दा बढी डकुमेन्ट्रीमा संगीत दिने जिम्मा दिए।

प्रवेश दुई वर्षयता हिन्दी फिल्मका पार्श्वसंगीतमा काम गरिरहेका छन्। ‘बरेलीकी बर्फी’ फिल्मको ‘स्विटी तेरा ड्रामा’ गीतमा उनको र्याप सुन्न सकिन्छ। ‘बद्रीनाथकी दुल्हनियाँ’ फिल्मको पृष्ठभूमि संगीतमा पनि प्रवेशको स्वर छ।

बलिउडमा जम्न थाले पनि मैथिली र नेपाली गीत उनको प्राथमिकतामै छन्।

‘म जहाँ पुगे पनि नेपाली र मैथिली संगीत छोड्दिन,’ उनी भन्छन्, ‘यी भाषामा गाउँदा, फरक महसुस गर्छु भन्ने होइन। सबै ठाउँका संगीत बराबर हुन्। मलाई भारतीय शास्त्रीय संगीत मन पर्छ, मैथिली र नेपाली लोकगीत पनि। मेरो हुर्काइ मैथिली संगीतमा भयो, नेपाली लोकगीत मेरो हृदयमा बसेका छन्। हिन्दीमा काम गछु, मैले हुर्किंदै सिकेका संगीत प्रयोग गर्छु।’

आफ्ना उपलब्धिले बलिउडमा ‘स्टार’ बन्ने सपनाको बाटोतिर डोर्याउँदै गरेको देख्छन् प्रवेश।

‘मलाई बलिउडमा प्रवेश ब्राण्ड भन्ने स्थापित गर्नुछ,’ उनले सपना सुनाए, ‘त्यो भनेको बलिउड संगीतमा नेपाली लोक घुलिएर आउनु, मैथिली पनि। हिन्दी शास्त्रीय संगीत मेरो पढाइ नै भइहाल्यो। गुरूबाट भारतका बिभिन्न ठाउँका लोकसंगीत बुझेको छु। ती सबै मेरो संगीतमा ल्याउँ भन्ने चाहन्छु।’

हाल उनी बलिउडमा रितम श्रीवास्तवले बनाउन लागेको फिल्ममा मुख्य संगीतकार अनुबन्धित भएका छन्। यता भने महजोडीले निर्माण गरिरहेको ‘शत्रुगते’ का निम्ति संगीत तयारी गरिरहेका छन्।

सबै तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.