७ वर्षको उमेरमा यौन शोषणको सिकार भएकी थिइन् यी बलिउड अभिनेत्री!


हलिउड अभिनेत्री एलिसा मिलानोले आफूमाथि भएको यौन शोषणको विरुद्द आवाज उठाउँदै #MeToo अभियान चलाएकी छन्। उनले दुनियाभरको महिलालाई यो अभियानमा सामेल हुन आह्वान गरेकी छन्। उनको यो अभियानमा चौतर्फि रुपमा समर्थन प्राप्त भइरहेको छ।

हलिउडका अभिनेता हार्वे वेनिंस्टनमाथि लागेको यौन शोषणको आरोपको चर्चा संसारभरि नै छ। हार्वेमाथि ३० जना भन्दा बढी अभिनेत्रीले यौन दुर्व्यवहार र ३ जनाले बलात्कारको आरोप लगाउँदा हलिउडका कलाकारले पनि यस विषयमा आवाज उठाउँदै समर्थन गर्दै आएका छन्। हार्वे ओस्कारको वोर्ड सदस्यबाट निलम्वित पनि भइसकेका छन्।

यसै कारण सामाजिक सञ्जालमा यो आन्दोलन शुरु भएको हो। जसमा आफूमाथि भएको यौन शोषणको बारे खुलेर भन्न र यौन दुर्व्यवहारको विरुद्द लाग्न आह्वान गरिएको हो।

आइतबार अभिनेत्री एलिसाले एक ट्वीट गरिन् जसमा लेखिएको थियो,’एक साथीले प्रस्ताव गरेको, यदि सबै महिला यौन शोषणको हिंसाको शिकार भएका छन् भने यहाँ स्टेटमा #MeToo लेखौं। यसले यौन शोषणको समस्याको भव्यता अनुमान लगाउन सकिन्छ। यदि तपाईको साथमा यस्तो भएको छ भने मेरो ट्वीटमा #MeToo लेखेर रिप्लाई गरौं।’

उनको यो अभियानमा हलिउड र बलिउडका सेलिब्रटीले मात्र नभई संसार भरका महिला र पुरुषले स्वागत गर्दै रिप्लाई गर्न थालेका छन्।

उनीहरु आफूमाथि भएको यौन शोषणको बारेमा पनि खुलेर बोल्न थालेका छन्। एलिसाको उक्त ट्वीट २७ हजार भन्दा बढीले रिट्वीट गरेका छन्। र यो ट्वीटको माध्यमबाट #MeToo को ट्वीट २ लाख पटक भन्दा बढी गरिएको छ।

यो अभियान अब बलिउडमा पनि पुगीसकेको छ। यसले बलिउडका कलाकारलाई पनि प्रभावित बनाउन थालेको छ।
बलिउडकी प्रशिद्द कमेडियन मल्लिका दुआले बालापनमा आफुमाथि भएको यौन शोषणको घटनाको खुलासा गरेकी छन्।

उनले फेसबुक र अन्य सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ७ वर्षको उमेरमा नै आफूमाथि यौन शोषणको घटना भएको बताएकी छन्। उनले आफ्नो पोस्टमा लेखिन्, ‘म पनि आफ्नै कारमा… मेरो आमा कार चलाउँदै हुनुहुन्थ्यो र उ पछाडी बसेको थियो। कार चलेको पुरा समय उसको हात मेरो स्कर्टमा थियो। म जम्मा ७ वर्षको थिएँ र मेरी दिदि ११ वर्षकी थिइन्। उसको अर्को हात मेरो दिदिको ढाडमा थियो।’

उनले आफ्नो वुवा अर्को गाडीमा भएको र त्यही रात उसलाई बुवाले रंगेहात समातेपछि बेस्करी र्हिकाएको लेखेकी छन्।  मल्लिका दुआ अहिले स्टार प्लसको शो ‘द ग्रेट लाफ्टर च्यालेंज’मा जजको रुपमा देखिएकी छन्। उनी पत्रकार विनोद दुआकी छोरी हुन्। उनले इस्टाग्राममा गरेको पोष्टमा अन्य महिलाले पनि समर्थन गर्दै आफ्नो घटनाबारे खुलाएका छन्।

कोहीले सार्वजिनक रुपमा आफूमाथि भएको दुर्व्यवहार त कोहीले आफ्नै परिवारबाट यौन शोषणको सिकार भएको घटनालाई सार्वजनिक गरेका छन्।

यसअघि मल्लिकाले उबरमा ड्राइभरले गरेको दुर्व्यवहारको बारेमा लेखेकी थिइन्।

यो अभियानको उदेश्य नै आफूमाथि भएको यस्तै प्रकारको दुर्व्यवहारको घटनालाई सार्वजनिक गर्नु हो। जहाँ यस्तो मुद्दा निकै कम सार्वजनिक हुन्छ। यस ह्यास ट्यागको मार्फत यो बताउने प्रयास गरिएको छ की यो सानो र वास्ता नगर्ने खालको मुद्दा नभई निकै गम्भिर विषय हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.