निर्देशक लेख टन्डनको निधन, शाहरुखलाई दिएका थिए पहिलो ब्रेक!


केही हप्ता अगाडि मात्र बलिउडका निर्देशक कुन्दन शाहको निधन भएको थियो। जुन खबरले बलिउड नगरि शोकमग्न भएको थियो।

यस हप्ताको आइतबार बलिउड निर्देशक लेख टन्डनको निधन भएको छ।

८८ वर्षीय लेखको आइतबार बेलुकी ५ः४५ बजे मुम्बईस्थित आफ्नै निवासमा मृत्यु भएको हो। उनी विगत ५/६ महिनादेखि विरामी थिए। शोकाकुल परिवारले उनको अन्तिम संस्कार सोमबार दिउँसो १२ बजे गरिने जनाएको छ।

लेख फकीर चंद टंडनले कयौं फिल्म सँगै ‘दिल दरिया’, ‘फिर वही तलाश’ र ‘फरमान’ जस्ता टीभी सिरियलमा पनि काम गरेका छन्।

उनले सन् १९६२ मा फिल्म ‘प्रोफेसर’बाट फिल्म निर्देशनमा आफ्नो कदन राखेका थिए। उनले निर्देशन गरेको फिल्म ‘दुल्हन वही जो पिया मन भाये’, ‘आम्रपाली’, ‘अगर तुम न होते’, ‘आंदोलन’ र ‘झुक गया आशमान’ निकै चर्चित भएका थिए। उनका अन्य फिल्ममा ‘उत्तरायन’, ‘खुदा कमस’, ‘जहाँ प्यार मिले’ र ‘प्रिंस’ आदि छन्।

उनको फिल्म ‘आम्रपाली’ ओस्कार अवार्डसम्म पुगेको थियो।

फिल्म ‘आम्रपाली’मा अभिनेत्री बैजन्ती माला र अभिनेता सुनील दत्त मूख्य भूमिकामा थिए। ‘आम्रपाली’ बेस्ट फरेन फिल्म क्याटोगोरीको लागि ३९ औं एकेडेमी अवार्डमा भारतको तर्फबाट छनौट भएको थियो।

फिल्म ‘दुल्हन वही जो पिया मन भाए’ को लागि टंडनलाई सन् १९७८ मा फिल्मफेयर अवार्डबाट सम्मानित गरिएको थियो।

उनले कयौं फिल्ममा अभिनेता बनेर पनि काम गरेका थिए। फिल्म ‘स्वदेश’, ‘रंग दे बसन्ती’, ‘चेन्नई एक्सप्रेस’, ‘चौतरफा छोकरले’ मा उनले अभिनय गरेका थिए।

उनको जन्म १३ फेब्रुअरि सन् १९२९ मा लाहौरमा भएको थियो। उनलाई फिल्ममा आउनको लागि पृथ्वीराज कपुरले प्रेरित गरेको बताइन्छ। पृथ्वीराज आफ्नो पिताको साथी थिए।

लेख टंडनले नै अहिलेका बलिउड अभिनेता शाहरुख खानलाई पहिलोपटक ब्रेक दिएका थिए। उनले शाहरुखालाई आफ्नो टीभी सिरियल ‘दिल दरियामा’ कास्ट गरेका थिए। तर यस सिरियलको प्रोडक्सनमा समय लागेपछि उनको पहिलो टीभी सिरीयल ‘फौजी’ बन्यो।

यसैबाट शाहरुखले सानो पर्दामा डेब्यू गरेका थिए।

हालै उनले एक अन्तर्वार्तामा आफ्नो र शाहरुख खानबीच निकै मतभेद भएको बताएका थिए। तर उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा एउटा सानो भूमिकाको लागि पनि १८ लाख रुपैयाँ दिएको बताएका थिए।

आफ्नो पहिलो फिल्म नै ओस्कार अवार्डमा पुगेको, उद्योगलाई शाहरुख खान दिने, शम्मी कपुरदेखि आमिरखान सँग काम गर्ने बलिउडका प्रख्यात अभिनेता निर्देशक र फिल्म निर्माताले यो संसारबाट बिदा लिएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.