गायक हनी सिंह १८ महिनासम्म किन थिए गायव?


बलिउडका प्रख्यात गायक हनी सिंह लामो समयदेखि बलिउडमा हराएका थिए। उनको कुनै गीत रिलिज नभएको २ वर्ष बितिसकेको छ। उनी यत्रो समयसम्म कहाँ के गर्दैछन् कसैलाई पनि थाहा थिएन। यसबारे उनको तर्फबाट पनि कुनै बयान नआउँदा उनको बारेमा मिडियामा अनेक अड्कल र अनुमान गरिएको थियो।

अहिले हनी सिंह आफै सार्वजनिक भएर आफ्नो बारेमा खुलेर बताएका छन्। उनले भने,‘म चाहन्थें कि म आफ्नो बारेमा मेरो फ्यानलाई आफैँ  बताऊ। त्यही कारण मैले कुनै प्रवक्तालाई पठाइन।’

हनी सिहंले बताए कि विगत १८ महिना उनको जीवनको सबैभन्दा खराब दिन थियो। उनी त्यस समयमा कोहीसँग कुरा गर्न सक्ने स्थितिमा थिएनन्।

हनीले भने,‘मलाई थाहा छ कि मेरो बारेमा विभिन्न प्रकारका कुराहरू भएका छन्। कसैले मलाई ड्रग्सको खराब लत लागेको र पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको त कसैले डिप्रेशनको शिकार भएको बताएका थिए। तर म नोयडाको आफ्नै घरमा थिएँ।’

उनले आफू एक डरलाग्दो बिरामीको शिकार भएको बताए।

उनले भने,‘म बायपोलर डिसअडरबाट पीडित थिएँ। अल्कोहलको नशामा यो बिरामी अझै हावी हुन्छ। मलाई डिप्रेशन हुन लागेको थियो। सबै औषधिले प्रभाव पार्न छाडेको थियो।’

हनीले यो बिरामीबाट छुटकारा पाउन चारवटा डाक्टर बदलेको बताए। तर पनि कुनै फाइदा नभएको बताउँदै उनले आफू त्यससमय खराब अवस्थाबाट गुज्रिएको बताए।

हनीले बताएअनुसार उनलाई साँझ परेपछि आफ्नै परिवारको सदस्यदेखि डर लाग्ने गर्थ्यो।

उनले भने,‘मलाई साँझ परेपछि आफ्नै परिवारदेखि डर लाग्न सुरू हुन्थ्यो र म आफ्नो बसमा हुन्थिन। म अनौठो व्यवहार देखाउन थाल्थें।’

उनले यही कारणले आफूलाई सबैबाट टाढा राखेको बताउँदै यसअघि आफ्नो कोठाबाट पनि बाहिर पनि नआएको बताए।

उनले भने,‘मैले बाहिर के हुन्छ भन्ने नै बिर्सिएको थिएँ। मैले लामो समयदेखि कपाल पनि कटाएको छैन। म आफ्नो स्वास्थ्य राम्रो बनाउनै केन्द्रीत थिएँ।’

लाखौं फ्यान बटुलेका र लाखौंको आगाडि आफ्नो प्रस्तुति दिने गायक हनीसिंह आफ्नै परिवारको सदस्यदेखि नै डराउनुपरर्ने अवस्था आएको थियो।

हनीले अब आफू ठिक भएको बताउँदै पुरानै अवस्थामा फर्किएको बताए। लामो समयदेखि गायव  गायक अब बलिउडमा फर्किनेछन्।

यसअघि मिडियामा उनको निकै चर्चा हुने गरेको थियो। केही हिट गीतहरूपछि उनी एकाएक गायव भएका थिए। उनको बारेमा धेरैले चासो राख्दा पनि कसैले केही पत्ता लगाउन सकेका थिएनन्।

उनको बारेमा गरिएको अड्कलबाजी र बद्नामीबाट हैरान उनको श्रीमतीले भने हनी बिरामी भएको र स्वास्थ्य उपचारमा रहेको बताएकी थिइन्।

हनी सिंह बलिउडमा युवालाई लक्षित गरेर गीत गाउन माहिर छन्। उनको लाखौं युवा फ्यान छन्। विशेषगरी महिलाहरू उनको बढी फ्यान छन्। उनको स्टेज कार्यक्रममा पनि धेरै दर्शकको भीड लाग्ने गरेको थिए।

बलिउडमा युवामाझ निकै लोकप्रिय हनी अब फर्किएर आफ्नो नियमित काम गर्ने बताइएको छ। र्‍यापर  हनीसिंहको कमव्याकले उनको लाखौं फ्यान खुसी भएका छन्।

सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्था ठिक भएको र राम्रो प्रस्तुति हेर्न पाइने भन्दै शुभचिन्तकहरूले निकै उत्साह व्यक्त्त गरेका छन्।

हनी सिंहको गीत ‘आज दिल है पानी पानी पानी’, ‘लुंगी डान्स’, ‘चार बोतल’ आदि निकै हिट छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.