फिल्म ‘रेस-३’ मा बबिलाई सलमानको साथ!


बलिउड अभिनेता सलमान खान हाल भारतीय रियालीटी शो ‘बिग बोस’ को ११ औँ सिजन सञ्चालनमा व्यस्त छन्। उनी फिल्म ‘टाइगर जिन्दा है’ को लागि पनि निकै व्यस्त छन्। बलिउड स्टार सलमान खान अब फिल्म ‘रेस -३’ पनि देखिँदै छन्।

बलिउड एक्सन थ्रिलर सिरिज ‘रेस २’को तेस्रो संस्करणको ‘रेस ३’ मा सलमान देखिने पक्का भएका हुन्। यसअघि ‘रेस’ र ‘रेस २’ मा अभिनेता सैफ अलि खान मुख्य भूमिकामा थिए।

सलमानले ‘रेस ३’ खेल्ने पक्का भएपछि अर्को खबर पनि बाहिरीएको छ। उनले फिल्ममा कुनै अन्तरंग दृश्य भने दिनेछैनन्। र उनले अरु कसैको पनि बोल्ड अवतार फिल्ममा नदेखाइने कडा शर्त राखेका छन्। जसलाई निर्माण पक्षले स्वीकार गरेका छन्।

यस फिल्ममा सलमान खान ‘नेगेटिभ’ भूमिकामा देखिएका छन्। फिल्ममा ‘नेगेटिभ’ रोलमा पहिलो पटक सलमान खान देखिन लागेका हुन्। फिल्ममा उनको एक्सन दृश्यहरु पनि निकै दमदार हुने निर्माण पक्षले जनाएको छ।

‘रेस ३’ मा अभिनेता बबि देओल पनि देखिने भएका छन्। फिल्मका निर्माता रमेश तौरानीले ट्वीटरमार्फत दिएको जानकारी अनुसार बबि पनि यस फिल्ममा मुख्य भूमिकामा छन्। यसअघि निर्माता रमेश तौरानीले बबीसँग फिल्म ‘सोल्जर’, ‘नकाब’ जस्ता फिल्ममा सँगै काम गरेका छन्। तैरानीले बबि एकदमै मिहेनती कलाकार भएको बताउँदै यस फिल्ममा फरक भूमिकामा देखिने बताएका छन्।

यस पटक ‘रेस ३’ का निर्देशन अब्बास मस्तानले गर्नेछैनन्। अब यस फिल्मलाई कोरियोग्राफर रेमो डिसुजाले निर्देशन गर्ने भएका छन्। यस फिल्मको अघिल्ला २ भाग अब्बास मस्तानले नै निर्देशन गरेका थिए।

फिल्ममा सलमानको साथमा अभिनेत्री ज्याक्लिन फर्नान्डेज देखिँदैछिन्। उनी यसअघि सलमानसँग फिल्म ‘किक’मा देखिएकी थिइन्। ‘रेस ३’ मार्फत यो जोडि फेरी देखिन लागेका हुन्।

‘रेस २ ‘मा भने अभिनेत्री दीपिका र सैफ अलि खानको जोडि थियो। जसलाइ दर्शकले निकै रुचाएका थिए।

सलमान खानको लागि मुस्लिमको महान चाड इद निकै लक्की छ। उनी ‘रेस ३’ लाई इदको अवसरमा सन् २०१८ मा रिलिज गर्ने तयारीमा छन्। यस फिल्मको शुटिङ नोवेम्बरमा शुरु हुनेछ।

‘रेस ३’ को लागि सलमानले निर्मातासँग फिल्मको आम्दानीको ७० प्रतिशत आफ्नो पारिश्रमिक हुनुपर्ने माग गरेका थिए। जसलाई निर्माताले स्वीकार गरेका छन्। फिल्मको लगानी २ सय करोड भन्दा माथि छ।

फिल्म रेसको सिरिज पैशाको लागि हुने द्वन्द, प्रेम, बदला र ग्लयामरको लागि परिचित छ।

तर ‘रेस ३’ भन्दा अगाडी सलमानको फिल्म ‘टाइगर जिन्दा है’ रिलिज हुनेछ। दर्शकहरु यस फिल्मको पर्खाइमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.