कंगनाले ऋतिकविरूद्ध प्रहरीमा दिइन् उजुरी


केही साताअघि बलिउड अभिनेत्री कंगना रनावतले एक अन्तवार्ता दिएकी थिइन् जसले बलिउडमा निकै खलबली मच्चाएको थियो। कंगनाले अन्तर्वातामा अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीबारे धेरै कुरा बोल्दै केही अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन्।

आदित्यले घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेसम्मका कुराबारे उनले खुलेर बताएकी थिइन् जसले सबैलाई चकित पारेको थियो। कंगनाका टिप्पणीबारे बोल्दै सुरजले कंगना र आफ्ना बावुबारेका केही कुरा याद नभएको बताएका थिए। आफू १४–१५ वर्षको मात्रै भएकाले उनीहरूबीच भएका सबै कुरा थाहा नभएको उनले बताएका थिए। यो सम्बन्धले घर बिगारेकाले आफ्नी आमालाई भने सबै थाहा भएको उनले बताएका थिए।

ऋतिक भने यो मामिलामा चुप थिए। आफ्ना वकिलहरूको सल्लाहअनुसार उनले बोले केहो बिग्रने सम्भावना हुने भन्दै उनी चुप रहे पनि अहिले यसबारे आफ्ना धारणा राखेका छन्। बलिउड सम्बन्धी समाचारमाध्यमका अनुसार उनले सामाजिक संजालमा एक पत्र पोस्ट गरेका छन् जसमा उनले आफ्नो बचाउ गरेका छन्। यो पत्र देखेपछि कंगनाको तर्फबाट उनका वकिल रिजवान सिद्दिकीले ऋतिकविरूद्ध मुद्दा दायर गरेका छन्।

ऋतिकका वकिल महेश जेठमलानीले गत अप्रिलमा यो पूरा मामिलाबारे मुम्बई पुलिसमा उजुरी हालेका थिए। उजुरीमा कंगनाले उनलाई यौन सम्बन्धबारे इमेल पठाएको ऋतिकले बताएका थिए।

कंगनाले आफ्नो अन्तर्वार्तामा ऋतिक र यो पूरै विषयबारे धेरै कुरा बोलिसकेकी छन्। अब ऋतिकले यसमा प्रतिक्रिया दिन सुरू गरेका छन्। उनले अगाडि अब के-के भन्नेछन्, त्यो हेर्न बाँकी छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.