बलिउडमा डेब्यु गर्न तयार छन् अक्षय कुमारका सालाभाई!


बलिउड स्टारका छोराछोरीहरुको बलिउडमा प्रवेशको खबर आइरहन्छन्। हालै अक्षय कुमारले भने आफ्नो साला अर्थात श्रीमतीको भाईलाई फिल्ममा लन्च गर्ने तयारी गरिरहेका छन्। करन डिम्पल कपाडियाकी बहिनी सिम्पल कपाडियाको छोरा हुन्।

खबर अनुसार करनले खेल्ने फिल्मको निर्माण टोनी डिसुजाले गर्नेछन्। टोनीले यसबारेमा बोल्दै करनलाई फिल्ममा राख्ने कुरा भएको तर यसबारे अहिल्यै बोल्नु उचित नहुने बताए।

उनले फिल्म ‘क्याप्टेन नवाब’को शुटिङपछि अर्को प्रोजेक्टमा काम गर्ने बताए। २४ वर्षीय करनले १४ वर्षको हुँदादेखि फिल्ममा काम गर्ने सोच बनाएको बताउँदै आफु निकै अन्तरमुखी भएको र फिल्ममा आउने निर्णयले परिवार दंग परेको बताए।

फिल्ममा आउनको लागि करनले आफ्नो तौल पनि घटाएका छन्। उनले अभिनय पनि सिकिरहेका छन्। उनले फिल्मको लागि धेरै ठाउँमा अडिसन दिन गएको तर सबैले रिजेक्ट गरेको बताए।

करनको आमा पनि अभिनेत्री थिइन्। आफ्नो करिअरको सुरुवातमा उनले राजेश खन्नाको साथमा फिल्म खेलेकी थिइन्। तर उनी डिम्पल कपाडिया जस्तो लोकप्रिय हुन नसकेपछि अभिनय छोडेर कपडा डिजाइनर बनिन्।

उनको सन् २००६ मा क्यान्सरको कारण निधन भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.