भारतीय संगीतकार करन जोसेफद्वारा आत्महत्या

भारतीय संगीतकार करन जोसेफद्वारा आत्महत्या


भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बहुतले भवनबाट शनिबार हामफालेका हुन्।

आफ्ना साथीसँग एक महिनादेखि बस्दै आएको भवनको १२ औं तलको झ्यालबाट उनी हामफालेका प्रहरीले बताएको द इन्डियन एक्सप्रेसमा उल्लेख छ।

आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेका उनका साथीले बताएका छन्। ठूलो आवाज सुनेर हेर्न जाँदा करन भुइँमा रगताम्मे लडिरहेका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

करनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

२९ वर्षीय जोसेफ पियानोवादक हुन्। उनका साथीहरुले बताएअनुसार उनी जहाँ जाँदा पनि पियानोसँगै हुन्थे।

प्रहरीले कुनै सुसाइड नोट नभेटेपनि केही समययता करन निकै चिन्तित रहेको बताइएको छ। थुप्रै कन्सर्टमा आफ्ना खुबी देखाइसकेका करन एक महिनाअघि मात्र मुम्बई आएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.