कंगनाका आरोपमा आदित्यका छोरा बोले, ऋतिक किन चुप?


अभिनेत्री कंगना रनावतले हालै दिएको एक अन्तर्वार्ताले पूरै बलिउडमा खलबली मच्चाइरहेको छ। अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीबारे उनले धेरै कुरा बताईन्।

आदित्यले घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेसम्मका कुराबारे उनले खुलेर बताएकी थिइन् जसको अहिले खुबै चर्चा भइरहेको छ।

कंगनाका यी टिप्पणीबारे आदित्यका छोरा सुरजले आफ्नो मुख खोलेका भारतीय समाचारमाध्यमले जनाएका छन्। सुरजले कंगना र आफ्ना बावुबारेका केही कुरा खास याद नभएको बताएका छन्।

‘म सायद १४–१५ वर्षको मात्रै थिएँ। मलाई उहाँहरुबीचका सबै कुरा थाहा छैन,’ सुरजले भनेका छन्, ‘मेरी आमालाई भने सबै थाहा छ। किनकि, यो सम्बन्धले हाम्रो घर बिगारेको थियो।’

यता ऋतिकले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। समाचारमाध्यमका अनुसार ऋतिकले आफूखुसी नबोली बसेका भने होइनन्। कंगनाका टिप्पणी र आरोपमा कुनै प्रतिक्रिया नदिन उनका कानुनी सल्लाहकारले सुझाएका छन्।

ऋतिकले अहिले आवेशमा आएर तत्काल केही प्रतिक्रियाले उनलाई समस्यामा पार्न सक्ने भन्दै कानुनी सल्लाहकारले अहिले चुप बस्ने सुझाव दिएका हुन्। यसैकारण ऋतिकले यसबारे केही बोलेका छैनन्।

तर, ऋतिककी पूर्वपत्नी सुजैनले भने आफ्ना पतिको समर्थन गर्दै सांकेतिक रुपमा कंगनाका आरोपमा प्रतिक्रिया दिएकी छन्।

उनले इन्स्टाग्राममा ऋतिक र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘कुनै पनि आरोप र षड्यन्त्रमा यति शक्ति छैन कि त्यसले एक असल आत्मामाथि जित हासिल गरोस्।’

सुजैनको यो भनाइ ऋतिकमाथि कंगनाले लगाएको आरोपको प्रतिक्रिया भएको बताइएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.