बलिउडका ५ महँगा गीत, जसको सुटिङमा पानीसरह बगाइयो पैसा (भिडियोसहित)


शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या राय बच्चनको ‘देवदास’ ले १५ वर्ष पूरा गरेको छ। दर्शकहरूले यो फिल्मजत्तिकै यसको गीत ‘डोला रे डोला’ लाई पनि खुबै मन पराएका थिए।

यसका लागि निर्देशक सञ्जय लीला भन्सालीले भव्य सेट तयार पारेका थिए। करिब साढे २ करोड भारतीय रुपैयाँ खर्च गरिएको यो गीतलाई आफ्नो समयमा बलिउडकै सबभन्दा महँगो बताइएको थियो। गीतको नृत्य निर्देशन सरोज खानले गरेका थिए।

नृत्य निर्देशक खानले उक्त गीत ‘नटवरी शैली’ मा सुटिङ गरेको बताएकी छन्। ‘यो दुर्गा पूजाको माहोलमा गाइएको गीत थियो, त्यसैले मैले नटवरी शैली अपनाएकी थिएँ,’ उनले बिबिसीसँग भनेकी छन्, ‘यो गीत सुटिङ गर्न हामीलाई १३ दिन लागेको थियो।’

 

धेरै नर्तकी प्रयोग गरिएको र सबैको निम्ति महँगो कपडा तथा आभूषण तयार पारिएकाले सुटिङ महँगो भएको उनको भनाइ छ।

यो गीतमा माधुरी र ऐश्वर्याले एकसाथ नृत्य गरेकी छन्। सुरुमा उनीहरूले सँगसँगै नाच्न आनाकानी गरे पनि पछि स्वीकार गरेका थिए। भव्य सेट, महँगा कपडा र आभूषण सँगसँगै माधुरी र ऐश्वर्याको नृत्यले पनि यो गीतमा प्राण भरेको थियो।

बलिउड भन्नेबित्तिकै गीत–संगीत जोडिएर आउँछन्। गीत–संगीत भन्नेबित्तिकै नृत्य पनि जोडिन्छ। ‘देवदास’ को डोला रे डोला त एउटा उदाहरण मात्र हो, कतिपय बलिउड फिल्मका गीत यस्ता छन्, जसको सुटिङमा पानीसरह पैसा बगाइएको छ।

धेरै बजेटमा निर्माण गरिएका पाँच महँगा गीत निम्न छन्ः

१) मलंग (धूम ३): फिल्म क्षेत्रका स्रोतहरूका अनुसार ‘धूम–३’ को यो गीतमा करिब पाँच करोड भारू खर्च गरिएको थियो। आमिर खान र कटरिना कैफमाथि छायांकन गरिएको यो गीतको निम्ति २ सय जना विदेशी जिम्न्यास्ट प्रयोग गरिएका थिए। यसले पनि गीतको बजेट बढाएको थियो।

 

२) था करके (गोलमाल): रोहित सेट्टीको ‘गोलमाल २’ को गीत ‘था करके’ मा १० वटा महँगो गाडी विस्फोट गराइएको थियो। यो गीतमा १ हजार डान्सरका साथै २ सय जना फाइटर प्रयोग गरिएका थिए। यो गीत सुटिङ गर्न १२ दिन लागेको थियो।

 

३) जब प्यार किया तो डरना क्या (मुगले–ए–आजम): महँगो गीतको सूचीमा सन् १९६० मा रिलिज भएको आसिफ निर्देशित ‘मुगले–ए–आजम’ को ‘जब प्यार किया तो डरना क्या’ भन्ने गीत पनि पर्छ। यो गीतको सुटिङका लागि सिसाबाट निर्मित महलको सेट तयार पारिएको थियो। भारतकै शीशमहलसँग हुबहु मिल्दो उक्त सेट तयार पार्न दुई वर्ष लागेको थियो।

फिल्म इतिहासकारहरूका अनुसार १५० फिट अग्लो र ८० फिट चौडा यो महल बनाउन जति पैसा खर्च भयो, त्यो पूरा फिल्मको बजेटभन्दा बढी थियो। यो सेट बनाउन बेल्जियमबाट ल्याइएको सिसा प्रयोग गरिएको थियो।

सबभन्दा रमाइलो त, ‘मुगल–ए–आजम’ फिल्म श्यामश्वेत भए पनि यो गीत टेक्नोकलरमा छायांकन गरिएको थियो। आजको बजार मूल्यमा हिसाब गर्ने हो भने त्यतिबेला यसको लागत करिब साढे २ करोड भारू थियो।

 

४) प्रेम रतन धन पायो (शीर्षगीत): फिल्म ‘प्रेम रतन धन पायो’ को शीर्षगीत महँगो हुनुको कारण यसमा ‘मुगल–ए–आजम’ को शीशमहलको हुबहु सेट तयार पारिनुले हो। यसका लागि करिब तीन सय जना कालिगढले काम गरेका थिए।

सलमान खान र सोनम कपुरमाथि छायांकन गरिएको यो गीतको सेट तयार पार्न निर्माता–निर्देशक सुरज बडजात्याले करिब साढे २ करोड भारू खर्च गरेका थिए।

सेट डिजाइनर नितिन देसाईका अनुसार तीन सय कालिगढलाई उक्त सेट बनाउन ५–६ महिना लागेको थियो।

 

५) हंसनाव (बाहुबली–२): प्रभाष र अनुष्का शेट्टीमाथि छायांकन गरिएको यो गीतका लागि हाँस आकारको काठको सेट तयार पारिएको थियो।

यो गीतमा कम्प्युटर ग्राफिक्सको भरपूर प्रयोग गरिएको छ। ग्राफिक्सको काम गर्ने वीएफएक्सका प्रमुख धुरा बाबुका अनुसार यसका लागि हाँस आकारको काठको सेट र सिँढी मात्र तयार पारिएको थियो। यसबाहेक बाँकी काम कम्प्युटर ग्राफिक्सको मद्दतले गरिएको थियो, जुन रियल सेटको तुलनामा धेरै महँगो थियो।

यो गीतमा करिब डेढ करोड रुपैयाँ खर्च भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.