क्याटरिनाले भनिन्, अब म हिन्दी राम्रैसँग बोल्छु


फिल्म ‘जग्गा जासुस’ को प्रचारका लागि विहिबार रणवीर कपुरसँगै देखिएकी बलिउड अभिनेत्री क्याटरिना कैफले हिन्दी बोल्न आफूलाई सहज हुन थालेको बताएकी छिन्।

लन्डनमा हुर्किएकी क्याटरिनालाई बलिउड कलाकारले उनको कमजोर हिन्दी लवजका कारण उडाउँदै आइरहेका छन्। उनले भनिन्, ‘हिजोआज हिन्दी बोल्दा मलाई त्यति गाह्रो लाग्दैन्।’

पछिल्लो समय उनको केही फिल्म फ्ल्प भएको थियो। त्यसैले ‘जग्गा जासुस’ बाट उनलाई ठूलो आशा छ। यस फिल्ममा क्याटरिना खोजी रिपोर्टरको भूमिकामा छिन्।

फिल्मको प्रचारका लागि दिल्ली आइपुगेकी क्याटरिनाले भनिन्, ‘ पछिल्लो एक–दुई वटा फिल्म त्यति राम्रो हुन सकेन्। यस्तो हुन्छ। सबै फिल्म सुपरहिट हुँदैन तर मलाई लाग्छ, सबैलाई जग्गा जासुस मन पर्छ।’

विदेशबाट भारतीय सिनेमामा आएर सफलता पाउने क्याटरिना धेरै कम नायिकाहरुमा पर्छिन्। त्यसैले उनी आफूलाई भाग्यमानी पनि ठान्छिन्। भनिन्, ‘मलाई लाग्छ, म भाग्यमानी छु। मेरो जीवनमा एकपछि अर्को नसोचेको सफलता हात लाग्यो। मैले ठिक समयमा निर्णय गर्न सके। राम्रा व्यक्तिहरुसँग काम गर्ने मौका पाएँ।’

उनले आफ्नो स्वभाव छिट्टै रिसाउने खालको रहेको खुलासा गरिन्। ‘म हाइपर छु। सानो कुरामा पनि प्रतिक्रिया दिन्छु। तर, मैले इन्डस्ट्रीबाट धेरै कुरा सिक्ने मौका पाए,’ उनले भनिन्।

क्याटरिनाले फिल्म खेल्न आएको केही समयसम्म आफूलाई हिन्दी भाषाको फिटिक्क ज्ञान नभएको बताइन्। ‘निकै गाह्रो हुन्थ्यो। तर, मैले तय गरे, यहाँ टिक्नु छ भने सिक्नु त पर्छ नै। अहिले पनि म हिन्दी सिकिरहेकी छु,’ उनले भनिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.