अमिताभलाई ३२ रुपैयाँ!


बलिउडका महानायक अमिताभ बच्चनले आम आदमी पार्टीका नेता तथा कवि कुमार विश्वासलाई कानुनी कार्यवाही गर्ने चेतावनी दिएपछि उनले अमिताभलाई भारु ३२ रुपैयाँ पठाएका छन्।

विश्वासले अमिताभका बुवा कवि हरिवंश राय बच्चनको एउटा कविता ‘नीड का निमार्ण’ आफूले वाचन गरेर यु–ट्युबमा अपलोड गरेका थिए। यसको विरोध गर्दै अमिताभले विश्वासलाई कानुनी नोटिस पठाएका थिए। अमिताभले विश्वासलाई कपिराइट्स कानुनको उल्लङ्घन गरेको भन्दै कानुनी कार्यवाही गर्ने बताएपछि विवाद बढेको थियो।

अमिताभले पठाएको पत्रमा उनले आफ्नो बुवाको कविताको अडियो–भिडियो तत्काल डिलिट गर्न र यसबाट भएको कमाइँ उपलब्ध गराउन भनेका थिए।

विश्वासले ट्विटमार्फत अमिताभलाई उत्तर पठाएका छन्, ‘सबै कविहरुले यसका लागि मलाई धन्यवाद दिए। तर, तपाईबाट नोटिस पाए। बाबुजीलाई श्रद्धाञ्जली दिएको भिडियो डिलिट गर्दैछु। साथै तपाईले माग गरेको ३२ रुपैयाँ पनि पठाएको छु, जुन यसबाट कमाई भएको थियो। प्रणाम!’

कुमार विश्वास तर्पण नामबाट विभिन्न कविहरुको कविता पाढ गरेर युट्युबमा अपलोड गर्छन्। उनले जुलाई ८ मा अमिताभका बुवा हरिवंश राय बच्चनको कविता ‘नीड का निमार्ण’ वाचन गर्दै आफ्नो नामबाट युट्युबमा शेयर गरेका थिए।

यसको विरोध गर्दै अमिताभले जुलाई १० मा कुमार विश्वासलाई ट्विटरमा ट्याग गर्दै लेखेका थिए, यो कपिराइट्सको उल्लङ्घन हो। विश्वासले कविता शेयर गर्दा हरिवंश राय बच्चनलाई क्रेडिट दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.