दबंग–३ बनाउन भाइले नमानेपछि सलमानले गरे यी निर्देशकलाई अनुरोध

दबंग–३ बनाउन भाइले नमानेपछि सलमानले गरे यी निर्देशकलाई अनुरोध


सलमान खानको करिअरमै एक महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ मानिएको ‘दबंग’ फिल्म शृंखलाको तेस्रो संस्करण बन्ने पक्का भएको छ।

एक साहसी र हठी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा सलमानको दबंग चरित्रलाई दर्शकले खुबै रुचाएका थिए। बक्स अफिसमा धूम मच्चाएको यही फिल्मले सय करोड–दुई सय करोड आम्दानी गर्ने प्रतिस्पर्धाको सुरुआत गराएको हो। यो समेत सलमानका ११ फिल्मले कमाइको सय करोड आंकडा नाघिसकेको छ।

सलमान र सोनाक्षी सिन्हा अभिनीत दबंगको पहिलो शृंखलाको निर्देशन अभिनव कश्यपले गरेका थिए। व्यवसायिक रूपमा सफल भएपछि जब यसको दोस्रो शृंखला बनाउने तयारी भयो, अभिनवले हात झिके। एउटै विषयवस्तुको सिनेमामा घरिघरि काम गर्न आफूलाई रुचि नभएको भन्दै उनी पन्छिएका थिए।

अभिनव बाहिरिएपछि निर्देशनको बागडोर सम्हाल्न आइपुगे सलमानकै भाइ अरबाज खान। अरबाजको निर्देशनमा बनेको दोस्रो शृंखला ‘दबंग–२’ पनि बक्स अफिसमा सुपरहिट साबित भयो।

चरित्रका हिसाबले एउटा ब्रान्ड नै बनिसकेको चुलबुल पाण्डेलाई अब दर्शकले तेस्रो शृंखलामा पनि हेर्न पाउनेछन्। तर, के यसको निर्देशन अरबाजले नै गर्लान् वा अभिनवलाई तेस्रो शृंखलाको जिम्मा सम्हाल्न डाकिएला?

अरबाजले दबंग–३ को निर्देशन गर्न अस्वीकार गरिसकेको बलिउडहंगामा डटकमले लेखेको छ। बलिउडसँग सम्बन्धित उक्त वेबसाइटका अनुसार अरबाज खासमा दबंगको दोस्रो शृंखला पनि निर्देशन गर्न चाहँदैन थिए। अन्तिम समयमा अभिनवले हात झिकेपछि उनी आफैं दबंग–२ को नाउ पार लगाउन तम्सिए।

तेस्रो शृंखला तयारीका क्रममा भने उनले सुरुमै आफू निर्देशन गर्न इच्छुक नभएको जनाउ दिइसकेका छन्।

पहिले अभिनव र अहिले अरबाज बाहिरिएपछि सलमानले आफ्नो यो सुपरहिट फिल्म शृंखलाको तेस्रो संस्करण निर्देशन गर्न पुराना मित्र प्रभु देवालाई आग्रह गरेका छन्।

सलमान र प्रभुले यसअघि सन् २००८ ‘वान्डेट’ फिल्ममा सँगसँगै काम गरेका थिए। यो फिल्म पनि सुपरहिट भएको थियो।

सलमानले दबंग–३ निर्देशन गर्न आग्रह गरेको प्रभु देवाले पुष्टि गरेका छन्। ‘म सलमानले भनेको जुनसुकै फिल्ममा काम गर्न तयार छु,’ उनले बलिउडहंगामा डटकमलाई भनेका छन्, ‘उनलाई कसैले नाइँ भन्न सक्दैन।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.