‘लेडी’ अमिताभ बच्चन: ‘जेन्टलम्यान’ दीपिका पादुकोण


म दुई दशकदेखि हिन्दी फिल्म उद्योगमा पत्रकारिता गरिरहेकी छु। मैले पटक पटक बलिउड बोकाडिया (अतार्किक-असांगिक: निर्देशक केसी बोकाडिया तर्क नभएका ठुलो हल्ला खल्ला मात्र भएका फिल्महरू ‘लाल बादशाह र मैदान-ए-जंग’ जस्ता फिल्म निर्देशकको अर्थमा) देखी ब्ल्याकबेरीसम्म पुगेको भन्ने गरेकी छु । यो २० वर्ष भन्दा केहि लामो मेरो फिल्म पत्रकारितामा मैले बलिउडमा साक्षी बसेको सबैभन्दा उत्साहजनक कुराहरू मध्ये फिल्ममा महिलाहरूको विकासक्रम पनि एक हो।

सन् १९९३ मा फिल्मसिटीमा फ्यान्ट्यासी फिल्म ‘राजकुमार’को सेटमा पुगेको कुरा मेरो बलिउड पत्रकारिताको एकदमै सुरूवाती सम्झनाहरूमा एउटा हो। पंकज परासर निर्देशित फिल्ममा अनिल कपुर र माधुरी दिक्षितले फिल्ममा राजकुमार तथा राजकुमारीको भूमिका निर्वाह गरिरहेका थिए जसमा नसरूद्दिन शाह एक खराब प्रधानमन्त्रीको भूमिकामा अभिनय गरिरहेका थिए। म त्यहाँ ‘इन्डिया टुडे’ पत्रिकाका लागि आवरण कथा बनाउने सिलसिलामा माधुरी दिक्षितको अन्तरवार्ता लिन पुगेकी थिएँ। सेटमा करिव २०० मानिसहरू काम गर्दै थिए। मलाई स्पष्ट याद छ, मैले म सहित जम्मा चार महिलालाई मात्र सेटमा गन्न सके। त्यहाँ महिलाको नाममा म बाहेक, माधुरी, माधुरीकी आमा र उनकी हेयर ड्रेसर मात्र थियौं।  मैले कुनै प्रश्न गरिन किनकी त्यो बलिउडको फिल्म सेटमा सँधै देखिने गरेको एउटा सामान्य दृश्य थियो।

बलिउड परिवर्तनको पहिले संकेत मैले करिब पाँच वर्ष पछाडी मन्सुर खानको ‘जोस’ फिल्मको सेटमा देखे। म शाहरुख खानको अन्तरवार्ता लिन फिल्म सिटी पुगेगी थिएँ। त्यहाँ मैले मन्सुरका सहायकको रूपमा धेरै महिलाहरूलाई देखें।  मैले उनलाई यसबारेमा जिज्ञासा राखें। उनले मलाई क्षणिक शंकाको भावमा हेरे र भने , ‘महिलाहरू धेरै योग्य छन्।’

त्यसका केहि वर्षहरू पछि महिलाहरूले स्तर र भूमिका परिवर्तन सुरू हुन थाले। सन् २००० मा फराह खान तथा जोया अख्तरले निर्देशकिय  डेब्यू भयो। ‘ओम शान्ति ओम’को बल्कबस्टर सफलताले फराहा बलिउडकी सर्वाधिक सफल महिला निर्देशक बन्न पुगिन्। महिलाहरू थप शक्तिशाली बने र स्पष्टरूपमा मुखरित हुन थाले । तर यो शक्ति आवाजमा भने बदलिएन। बलिउडमा ‘हाइ-प्रोफाइल’ मानिएका ‘ए-लिस्टर’ हिरोइनहरू बलिउड उद्योगमा रहेको लैगिंक समिकरणका कुरामा चुप जस्तै थिए। विभेदपूर्ण पारिश्रमिक , कमजोर फिल्मी भूमिका तथा फिल्ममा हुने विभेदपूर्ण लैगिकं राजनीतिका बारेमा कुनै हिरोइनले आवाज उठाएको मलाई सम्झना छैन्। महिला कलाकारका लागि वक्सअफिसको सफलताले पुरूषका दाँजो एकदमै कमजोर अर्थ राख्ने गर्थ्यो।

बितेका तीन-चार वर्षमा भने त्यो सन्त मौनता तोडिएको छ। बलिउड अझै पुरूषहरूकै नियन्त्रणमा रहेपनि नयाँ पुस्ताका महिलाहरूले क्यामरा अगाडी तथा पछाडी रहेको ‘सेक्सिजम’लाई पछाडी धकेलिरहेका छन्। मलाई सन् २०१५ को एक अन्तरवार्तामा अभिनेत्री अनुष्का शर्माले बाहिर सुटिङ हुँदा कसरी पुरूष कलाकारले महिला कलाकारभन्दा गतिलो कोठा सुविधा पाउँछन् भनेर बताएकी थिइन। उनले यस्तो भनेकी थिइन- ‘ कोही पनि यसबाट बाहिर जान चाहदैन्थे। यो दीर्घस्थाई थियो। अभिनेत्री बनेपछि मात्र मैले भेदभाव अनुभव गरें।’

यसमा अनुष्का मात्र एक्ली होइनन्। कंगना रनावतले यस विरूद्ध निडर भएर बोल्दै अभिनेत्रीहरूका लागि बलिउड नियमहरूको पुन:लेखन गरिन। भलै यसका लागि उनी बलिउडको स्थापित परम्परा विरूद्ध आफैलाई घातक हुनेगरी उभिन पर्‍यो। मैले पछिल्लो पटक उनीसँग गरेको अन्तरवार्तामा उनले यस्तो भनेकी थिइन्- ‘म अंहकारी पागलहरूको यसो र उसो गर्नुपर्ने निर्देशनबाट आजित भइसकें।’ अर्की अभिनेत्री सोनम कपुरले पनि ‘विरे दी विडिङ’का लागि बजेट जुटाउन उनी र उनकी दिदी रिया कपुरले भोगेको अप्ठ्यारोको बारेमा खुलासा गरिन्। ‘जोन र वरूणले ‘ढिषुम’ बनाउन धेरै पैसा पाए तर हामीलाई उनीहरूलाई जस्तो सजिलो भएन।’ त्यस्तै, हालसालै स्वारा भास्करले ‘पद्मावत’ निर्देशक संजय लिला भन्सालीलाई खुल्ला पत्र लेखिन जून अंरिगालको गोलालाई चलाएजस्तै हो। उनले पत्रमा वर्षकै सर्वाधिक हिट ध्येको एक फिल्मका विरूद्ध त्यसमा रहेको लैगिंक राजनीतिमाथि प्रश्न गरेकी थिइन।

म सँधै उनीहरूका विचारहरूसँग सहमत हुने गरेकी छैन्। तर, म उनीहरूको आवाज उठाउने हिम्मतको भने कायल छु। जबकी उनीहरूका लागि यस्ता विषयमा मौनता राख्नु सजिलो र व्यवसायिक रूपमा फाइदाजनक छ। अनुष्काले भनेजस्तै समस्या देखाउने-खडा गर्नेलाई कसैले रूचाउँदैनन् वा अनुष्काले भनेजस्तै त्यसका लागि मानिसहरूले उनीहरूलाई ‘वकील’को तक्मा भिराउने गरेको आफ्नै अनुभव सुनाएकी थिइन्। बितेका ६ महिनामा मानिसहरूले मलाई थुप्रै पटक हलिउड भएका जस्ता यौन दुर्व्यबहारका घटनाहरूबाट बलिउड मुक्त हुन्छ? भनेर सोधेका छन्। जवाफमा मैले यसका लागि समय लाग्ने बताउने गरेकी छु किनकी ‘न्यूयोर्क टाइम्स’लाई त हार्भे विन्सटिनको यस्तो घृणित कामको रिपोर्टिङ गर्न दशकौ लाग्यो। तर, म एकदिन बलिउडमा पनि यो हुनेमा निश्चित छु किनकी असन्तोषका स्वरहरूलाई अब थप दबाउन सकिने अवस्था छैन।

बलिउडमा यो परिवर्तन सय करोडको हिट वक्सअफिस कमाइले गर्दा प्रत्यक्ष सम्भव भएको हो। हिन्दी फिल्ममा महिलाको अवस्था सन् २०११ मा रिलिज भएको विद्या वालनको ‘द डर्टी पिक्चर’ले पाएको भयंकर सफलतापछि मात्र भएको हो। त्यो फिल्मले बलिउड धरातलका नियमहरूलाई पुनर्भाषित गर्‍यो। यसलाई महिला केन्द्रित फिल्महरू- कहानी, क्वीन, एनएच१०, इङ्लिस भिङ्लिस जस्ता फिल्महरूले एकपछि अर्को गर्दै पछ्याए। किनकी यी फिल्महरूले महिलाहरू पनि पुरूष जस्तै दर्शक आकर्षित गर्न योग्य छन् भनेर प्रमाणित गरे।

मैले पत्रकारिता सुरू गर्दा एउटा अभिनेत्री पाउने सबैभन्दा ठूलो प्रंशसा वा उपाधि- ‘लेडी अमिताभ बच्चन’ थियो। यो श्रीदेवी तथा माधुरी दिक्षित दुबैको व्याख्यामा भनिने गरेको मलाई अझै सम्झना छ। यसको अर्थ  फिल्ममा ती अभिनेत्रीको राख्ने शक्तिको व्याख्या थियो। यो साता दीपिका पादुकोण अभिनित ‘पद्मावत’ले २५० करोड भारूको कमाइ गरेर आफूलाई समाचारको हेडलाइन बनायो। हुनसक्छ, अब त्यो दिन उति दुर क्षितिजमा नहोला जब कुनै सफल अभिनेतालाई ‘जेन्टल म्यान दीपिका पादुकोण’ भनेर इंगित गरिनेछ, भनिने छ।

(अनुवाद: अशेष अधिकारी)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.