सलमान सबभन्दा धेरै कमाइ गर्ने सेलेब्रेटी, टप २० मा को–को?

तस्बिरः फोर्ब्स


सलमान खान बलिउडमै सबभन्दा बढी कमाउने सेलेब्रेटी बनेका छन्। फोर्ब्स भारतले सार्वजनिक गरेको सूचीका अनुसार सन् २०१७ मा धेरै कमाउने बलिउडकर्मीको पहिलो नम्बरमा सलमान परेका हुन्। उनको यस वर्षको कमाइ २ सय ३२ करोड भारुभन्दा बढी छ।

फोर्ब्सले एक सय जनाको नाम सार्वजनिक गरेको हो जसको दोस्रो नम्बरमा शाहरुख खान छन्। उनको कमाइ एक सय ७० करोड भारुभन्दा माथि छ।

पहिलो र दोस्रो नम्बरमा अभिनेताले पकड जमाए पनि तेस्रोमा खेलाडी विराट कोहलीले आफ्नो नाम सुरक्षित राखेका छन्। क्रिकेटर कोहलीको कमाइ एक सय करोड भारु छ।

चौथो स्थानमा ९८ करोड भारु कमाउँदै अक्षय कुमार परेका छन्।

पाँचौंमा क्रिकेटर सचिन तेन्दुलकर, छैठौंमा आमिर खान, सातौंमा प्रियंका चोपडा, आठौंमा क्रिकेटर महेन्द्र सिंह धोनी, नवौंमा ऋतिक रोशन र दसौंमा रणवीर सिंह छन्।

यसपछि एघारौंमा दिपीका पादुकोण र बाह्रौंमा संगीतकार एआर रेहेमान परेका छन्।

१३ औं नम्बरमा ब्याडमिन्टन खेलाडी पिभि सिन्धु, रणवीर कपुर चौधौं नम्बरमा र बाहुबली निर्देशक १५ औंमा छन् भने अजय देवगन सोह्रौं, गायक अर्जित सिंह १७ औं, कमेडियन कपिल शर्मा अठारौं, बरुण धवन १९ औं नम्बरमा छन्।

अभिनेता अमिताभ बच्चन ६४ करोड भारु कमाएर २० औं नम्बरमा पर्न सफल भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.