कपिल शर्मालाई हलिउड फिल्मको अफर


कमेडियन कपिल शर्मा जति नै विवादमा घेरिए पनि उनको सफलता उडान रोकिने देखिँदैन।

‘दी कपिल शर्मा शो’ बाट निकै चर्चा कमाएका कपिल अभिनेता समेत बनिसके। उनको दोस्रो फिल्म ‘फिरंगी’ यही डिसेम्बरमा रिलिज हुँदैछ।

दुई वटा मात्र बलिउड फिल्ममा देखिए पनि उनी अरू अभिनेता भन्दा कम नभएको सावित गरेका छन्। उनलाई हलिउड फिल्मको प्रस्ताव आएको छ।

फिल्म ‘फिरंगी’ का निर्देशकले सबभन्दा पहिले यसबारे जानकारी दिएका थिए। पत्रकार सम्मेलनमा बोल्दै उनले कपिलको हलिउड निर्मातासँग कुराकानी भइरहेको बताएका थिए।

‘ब्याड मामाज’ कम्पनीले आफ्नो श्रंखला फिल्ममा कपिललाई प्रस्ताव गरेको उनले बताए।

कपिलले पनि यो कुरा पुष्टि गरेका छन्। ‘हो मलाई प्रस्ताव आएको हो, तर अझै टुँगो लागेको भने छैन,’ उनले भने, ‘फाइनल भएपछि म जानकारी गराउँछु।’

फिल्मको पटकथा आफूले पाइसकेको र उक्त कम्पनी ठूलो भएकाले आफू त्यहाँ गएर भेट्ने पनि कपिलले बताएका छन्। ‘अहिले त टेलिफोनमा मात्र कुरा भइरहेको छ,’ उनले भने, ‘म त्यहाँ गएर उनीहरूलाई भेट्छु, अनि बाँकी कुरा फाइनल हुन्छ।’

पछिल्लो समय आफ्नो शोका कारण र सहकर्मी सुनील ग्रोवरसँगको विवादले निकै आलोचना खेपेका कपिल अब फेरि आफ्नो करिअरमा सम्हालिँदै आएका छन्। उनी चाँडै शोमा फर्कने तयारी पनि भइरहेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.