प्रधानमन्त्री मोदीलाई मैले रक्सीको नशामा गाली गरेको हुँ- कपिल शर्मा #NepalVotes #NepalElection2017 प्रधानमन्त्री मोदीलाई मैले रक्सीको नशामा गाली गरेको हुँ- कपिल शर्मा

प्रधानमन्त्री मोदीलाई मैले रक्सीको नशामा गाली गरेको हुँ- कपिल शर्मा


कमेडियन कपिल शर्माले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गरेर एक ट्वीट गरेका थिए।

उनले लेखेका थिए- म हरेक वर्ष सरकारलाई १५ करोड रुपैयाँ कर तिर्छु। तैपनि मुम्बईमा आफ्नो अफिसका लागि बिएमसी (मुम्बई नगरपालिका) लाई ५ करोड घुस दिनपर्यो।

यसपछि निकै विवादमा घेरिएका कपिलले यसबारे प्रष्टिकरण दिएका छन्।

उनले यो सबै रक्सीको नशामा भएको बताएका छन्।

‘त्यो ट्वीट गर्दा म रक्सीको नशामा थिएँ,’ उनले भने, ‘भोलिपल्ट बिहानमात्र थाहा भयो मैले के गरेँ भनेर।’

उनले आफूलाई प्रस्ट्याउँदै भने, ‘जब म टिभीमा आफ्नो करियर सुरु गर्दै थिएँ, खुब मिहिनेत गरेँ। दस वर्षसम्म कुनै ब्रेक नलिइ काम गरेँ। मैले नै थाहा पाइनँ, म कहिले साइकलबाट मर्सिडसज चलाउने भएँ। मैले सबै कुरा पाएँ। तर, यी सब कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने थाहा पाइनँ।’

उनले रक्सीका कारण निकै समस्या झेले पनि आफ्ना लागि म्यानेजर जा सहयोगी राख्नेबारे ध्यान नपुगेको पनि बताएका छन्। ‘मैले जे गरेँ, नसोची नै गरेँ,’ उनले भने।

‍मोदीलाई ट्याग गरेको ट्वीटबारे बोल्दै उनले भने, ‘जब मैले ट्वीट गरेँ तबसम्म दुई पेग रक्सी लिसकेको थिएँ। मलाई रिस उठिरहेको थियो र मैले उनलाई आफ्नो व्यक्तिगत मामिलामा घसेटेँ। खासमा म सानैदेखि यस्तै छु।’

साथीहरुसँग खेल जितेपछि आफू होस्टल फर्कने र रक्सी पिउने गरेको बताउँदै उनले भने, ‘त्यसबेला पनि म रक्सी खाएको भोलिपल्ट सबै बिर्सन्थेँ। मैले के गरेँ थाहा हुन्न।’

‘म ३६ वर्षको भइसकेँ। अब भने मैले उमेरका हिसाबले चल्नुपर्ने जरुरी छ। केही गर्नुअघि सोच्न एकदमै आवश्यक छ,’ उनले भने।

कलर्स टिभी च्यानलसँगको मनमुटावमा रक्सीकै नशामा आफूले गलत ट्वीट गरेको उनले बताए। उनका अनुसार कलर्ससँग मनमुटाव भएर फर्केपछि रक्सी खाए र ‘कमेडी नाइट्स विद कपिल’ बन्द गर्ने भन्दै ट्वीट गरे।

‘मलाई बिहान मात्र थाहा भयो मैले के गरेँ भनेर। च्यानलका कारण म रिसाएको थिएँ,’ उनले भने, ‘उनीहरुले कमेडि नाइट्स बचाओ भन्ने शो ल्याउने भए। दर्शकलाई अलमलमा नपार्नुहोस् भनेर मैले भनेको थिएँ। मरो रिस जायज थियो। तर, व्यक्त गर्ने तरिका गलत भयो।’

केही समयअघि उनले रक्सीकै नशामा आफ्ना सहकर्मी सुनील ग्रोवरसँग दुर्व्यवहार गरेका थिए। त्यही कारणले सुनीलसहित अन्य कलाकारले ‘दी कपिल शर्मा शो’ छाडेका थिए। विवादास्पद भएको केही समयपछि उनको शो पनि बन्द भयो। स्वास्थ्य समस्या देखाउँदै उनी शोबाट केही समयका लागि बाहिरिएका बताउँदै आएका छन्।  आफ्नो नयाँ फिल्म ‘फिरंगी’ को प्रचारमा लागेका उनी फेरि ‘दी कपिल शर्मा शो’ मा फर्कने भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.