सलमान खानको सर्तको घेरामा ‘रेस ३’


बलिउड अभिनेता सलमान खान अहिले फिल्म ‘रेस ३’ को कारण चर्चामा छन्। फिल्ममा उनको मूख्य भूमिका हुने भनेदेखि नै उनले अनेक सर्तहरू तेर्साउँदै आएका छन्।

रेमो डिसुजाले निर्देशन गर्ने फिल्ममा सलमानले पहिलो सर्त नै ‘रेस २’ मा जस्तो कुनै अन्तरंग दृश्य नगर्ने राखे। त्यसपछि अभिनेत्री ज्याक्लिनसँग सलमानको अन्तरंग दृश्य नहाल्ने निर्णय भयो।

फिल्मको निर्माता आफू पनि भएकाले सलमानले निर्देशक र अन्य कलाकार पनि आफैँले छानेका थिए।

हरेक फिल्मको कथादेखि कलाकारसम्मका विषयमा हस्तक्षेप गर्ने सलमानले फिल्मको अर्को दृश्य ड्रग्स कारोबार पनि हटाउन सर्त राखे।

उनका अनुसार फिल्मलाई बच्चाले पनि हेर्नसक्ने बनाउन बोल्ड र अनैतिक कार्यका दृश्य नराख्दा राम्रो हुन्छ।

त्यसपछि उनले फेरी फिल्ममा एउटा कमेडी दृश्य थप गर्ने सर्त राखे। त्यो सर्त पनि निर्माण यूनिटले पूरा गरे। पहिलो दिनमा नै अनिल कपुरको भूमिकामा कमेडी भरिएको थियो।

अब सलमानले फिल्मको शुटिङको सेट नै भद्दा र असुहाउँदो भएको कारण सेट नै हेरफेर गर्नुपर्ने सर्त राखेका छन्।

९ नोभेम्बरबाट सुरू भएको फिल्मको शुटिङको केही दिनभित्रै सलमानका सर्त नै सर्तले निर्माण टिम भने हैरान भएका छन्। तर, बलिउडमा उनको राम्रो स्थान भएका र यस फिल्ममा सलमानको लगानी भएकाले उनको कुरालाई कसैले टाल्न सक्दैनन्।

सलमान यो फिल्मको लागि निकै उत्साहित छन् त्यसेका लागि धेरै मेहेनत गरिरहेका छन्।

उनको फिल्मको पहिलो दिनको तस्विर सार्वजनिक भएको छ। फिल्ममा ज्याकलिन फर्नान्डिज सलमान खानको जोडीको रुपमा छिन्।

रमेश एस तारुणी र सलमान खानले ‘रेस ३’ निमार्ण गर्दैछन्। फिल्मको कथालाई सिरज अहमेदले लेखेका छन् भने प्रितमले संगीत भर्दैछन्।

फिल्ममा सलमान र ज्याकलिन बाहेक बबि देवल, डेजी शाह, सकिब सलिम, आदित्य पंचोली, लगायतको अभिनय रहनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.