पिन्चे होइन, वीराङ्गना सीता


दृश्य एक

स्थान- लङ्काको अशोक वन।

राक्षस र राक्षसीहरूले घेरिएकी एक निरीह, निर्बल, असहाय अबला।

नाम-सीता

परिचय- रामको नाम जप्दै अथक प्रतीक्षा साँचेर अशोक वनमा विलाप गरिरहने रामायणकी प्रमुख नारी पात्रा। जनकपुत्री, रामकी भार्या, दशरथकी बुहारी। त्याग र समर्पणकी प्रतिमूर्ति, सुन्दर, सुग्घर, सुशील, सहनशीला सीता। हाम्रा पूजाघरको भित्तामा सुशोभित, हाम्रा आस्थामा सुरक्षित एक अन्यतम अति आदरणीय पौराणिक नारी चरित्र – सीता

दृश्य दुई

स्थान- पञ्चवटीको भयानक वन।

आइलाग्ने सङ्कटलाई पाइला पाइलाले नाप्दै, सतर्क आँखाले आफ्नो चारैतिरका हरेक वस्तुहरूको निरीक्षण गर्दै, प्रत्येक पदचापलाई ठम्याउँदै पूर्णतः सचेत  एक पराक्रमी नारी। सुगठित आकर्षक शरीर, रौं रौं आत्मविश्वासले भरिएको, सन्तुलन र शक्तिको बेजोड मेल, शत्रुहरूसित एक्लै भिड्न सक्षम एउटी सुगठित बलियो नारी आकृति।

नाम- सीता

परिचय- मिथिलाकी योद्धा।

यहाँ कुनै हलिउड वा ‘ओरिएन्टल’ फिल्मको ख्यातनाम नायिका अनि एक्सन दृश्यको उल्लेख हामी गरिरहेका छैनौं, हाम्रो चर्चाको विषय रहेको छ- बेजोड भारतीय उपन्यासकार अमीशको हालै प्रकाशित बहुप्रतीक्षित अङ्ग्रेजी उपन्यास, ‘सीता वारियर अफ मिथिला।’ वर्तमान भारतीय साहित्यमा ‘लिटरेरी पपस्टार’को मान्यता पाइसकेका बहुचर्चित यी सर्जकले लिङ्ग समानताको गतिलो वकालत गर्दै न्याय र अधिकारक निम्ति मरिमेट्ने सीताको यस्तो दैदीप्यमान चरित्र कुँदेर कतिसम्म ठूलो जोखिम उठाएका छन् भन्ने कुरा बौद्धिक पाठकले सहजै अनुमान लगाउन सक्छन्। हामीले जानेका, सुनेका, पढेका मात्र होइन तर वर्षौं हिन्दी धारावाहिकको रूपमा देखेका सीताभन्दा बिल्कुलै विपरित विशेषणहरूले युक्त सीतालाई पाठकसामु उभ्याएका छन् अमीशले।

प्रसिद्ध पौराणिक चरित्रहरूलाई आख्यानको मुख्य पात्रको रूपमा उभ्याउन अनि ती चरित्रहरूका स्थापित छविलाई आजको सन्दर्भमा पुनर्जीवित पार्नमा सिपालु उपन्यासकार अमीश आजका भारतीय अङ्ग्रेजी उपन्यासकारहरूमा अग्रगण्य देखिन्छन्। शिव श्रृङ्खलाका उपन्यासहरूबाट चर्चाको चुलीमा पुगेका अमीशका उपन्यासहरू ‘शिव ट्रिलजी’ का लाखौं प्रतिहरू बिक्री भएको रेकर्ड छ। भारतका उम्दा दस पुस्तकहरूमा यस ट्रिलजीका उपन्यासले पनि स्थान प्राप्त गरिसकेको छ। चुनाव, व्यवसाय अनि अन्यान्य सर्वेक्षणहरूको निम्ति अग्रणी मानिएको अन्तर्राष्ट्रिय एजेन्सी  ‘एसी निएल्सन’को सर्वेक्षणमा उनका पुस्तकहरू बेस्टसेलर छ भने ती पुस्तकहरूका हिन्दी अनुवादहरूले पनि लोकप्रियताको सूचीमा शीर्ष स्थान ओगटेको देखिन्छ। शिव ट्रिलजीको व्यापक सफलतापछि अमीशले रामायणको भावभूमिलाई आत्मसात गरेर रामचन्द्र श्रृङ्खला थालेका छन्। यस सिरिजको पहिलो उपन्यास ‘इच्छ्वांकुका वंशज’मा रामलाई केन्द्रिय चरित्रको रूपमा उभ्याइएको छ। रामको जन्मदेखि उनको प्रारम्भिक जीवन, वैवाहिक जीवन अनि रावणद्वारा सीताको अपहरणसम्मको घटनाक्रम यस उपन्यासले बोकेको छ। ‘सीता वारियर अफ मिथिला’ यसै श्रृङ्खलाको दोस्रो उपन्यास हो जसमा सीताको जन्म, बाल्यकाल, गुरूकुल जीवन, गुरू विश्वमित्रसित सीताको साक्षात्कार, मिथिलाकी प्रधानमन्त्रीको रूपमा सीताको शासन व्यवस्था, रामसित भेट, स्वयम्वर, अयोध्या प्रकरण, वनवास इत्यादि घटनाक्रमको तानाबाना रोचक ढङ्गमा बुनिएको छ। रामचन्द्र श्रृङ्खलाको पहिलो उपन्यास झैं रावणद्वारा सीताको अपहरणमा नै पुगेर यस उपन्यासको अन्त भएको देखिन्छ।

मिथिलाकी योद्धा सीतामा सीता एक वीराङ्गना नारीको रूपमा उभिएकी छन् जो पञ्चवटी अनि दण्डकारण्यको विकट जङ्गलमा हजारौं सङ्घर्षहरूको सामना गर्दै वनवास झेल्छिन, शत्रुहरूसित निर्धक्क लड्न पछि पर्दिनन्। साहस र संयमकी प्रतिमूर्ति, बुद्धि र शौर्यकी स्वामिनी, समय र सोचलाई खरो चुनौती दिन सक्षम एक अद्भुत आत्मविश्वासी योद्धाको रूपमा यहाँ हामी सीताको दर्शन पाउँछौं। भारतीय साहित्यिक परम्परामा शौर्यहीन अबला नारीको जुन चित्र हामी पाउँछौं त्यसलाई विनिर्माण गर्दै सीतालाई यस उपन्यासमा शौर्यको प्रतिमूर्तिको रूपमा देखाइएको छ। भारतीय साहित्यमा मात्र होइन विश्वका अधिकांश साहित्यमा नै नारी पात्रलाई शौर्यशाली देखाइनु अनुचित मानिन्छ। नारीलाई शौर्यहीन मात्र होइन भावुक, निर्बल कायर, अरूमाथि निर्भरशील, बुद्धिहीन अनि पुरूष पात्रको सहायक पात्रको रूपमा मात्र देखाइने प्रथा आजसम्म पनि रहिआएको छ।भारतीय भाषामा उपलब्ध अनेक रामायणहरूमा सीतालाई शौर्यहीन अनि निर्बल पात्रको रूपमा नै देखाइएको छ। अझ भारतीय चलचित्र अनि टेलिभिजनमा प्रसारित हुने धारावाहिकहरूमा सीतालाई जहिले तहिले रोइरहने, पिञ्चे चरित्रको रूपमा उभ्याइको छ। नारीको यस्तो प्रकारको छविलाई उल्ट्याउँदै अनि सीताको चरित्रलाई न्याय दिँदै यस उपन्यासमा सीताको वीराङ्गना रूपलाई परिलक्ष्यित गरिएको छ।

सीताको यो वीराङ्गना रूप अमीशले अदभुत रामायणबाट ग्रहण गरेको स्वीकार गरेका छन्। अदभुत रामायणमा सीताको जन्म नै रावणको वधको निम्ति भएको उल्लेख छ। अदभुत रामायणमा दुइवटा रावणको उल्लेख पाइन्छ- प्रथम दशमुख रावण जसको वध रामले गर्छन् अनि दोस्रो सहस्रमुख रावण जसद्वारा स्वयम् राम पनि पराजित हुन्छन् उसको वध सीताले गर्छिन्। यसबाट राम र सीताको संयुक्त शक्ति तत्कालीन भारतीय राजनीतिमा आवश्यक रहेको देखिन्छ। सहस्रमुख रावणको संहारमा वीरताको परम उत्कर्ष प्रदर्शित गर्ने सीताको वर्णन अदभुत छ- राम सहस्रमुख रावणको वाणले घायल भएर मुर्छित छन् तर यस्तो स्थितिमा पनि जानकीको अनुहारमा शोकको कुनै रेखा छैन। उनले उच्च स्वरमा अट्टहास गरिन् अनि रावण वधको निम्ति कृतसंकल्प भएर महाविकट रूप धारण गरिन् अनि निमेष मात्रमा नै रावणको सहस्र शिर खड्ग काटिदिइन्-

शिरांशि रावणस्याशु निमेषान्तरमात्रतः।

खड्गेन तस्य चिच्छेद सहस्राणीह लीलया।। 

राम मूर्च्छाबाट उठेर सीताको यो रौद्र रूपलाई देखेर भयभीत बन्छन् अनि धरतीमा आफ्नो शिर राखेर  सोध्छन्- हे चन्द्रखण्डले अंकित विशाललोचिनी तपाईं को हुनुहुन्छ ? म तपाईंलाई चिन्दिन। कृपया मलाई तपाईंको परिचय दिनुहोस्। सीताको पराक्रम अनि वीरता यसबाट पनि स्पष्ट हुन्छ। तर अन्य रामायणमा रामको चरित्रलाई प्रकाशित गर्नको निम्ति सीताको सौष्टवशाली चरित्रप्रति घोर अन्याय गरिएको छ। सीताको किनारीकृत अनि गौण चरित्रलाई अमीश यस उपन्यासमा न्याय दिने सक्दो प्रयास गरेका छन्। उनको अद्भुत कल्पनाशक्ति अनि इतिहासचेतको बेजोड सम्मिश्रणले सीताको गौरवशाली चरित्रलाई सजीव तुल्याएको छ।

चाणक्य नीतिमा नारीलाई कहिले पनि पूर्ण रूपमा विश्वास नगर्ने सन्देश दिइएको छ। कुनै कुरा मनमा धेरै बेरसम्म राख्न नसक्ने, अरू समक्ष प्रकट गरिहाल्ने चरित्र नारीमा पाइन्छ भन्ने विश्वासले नारीहरूलाई राज्यको उच्च पदहरूमा राखिने परम्परा विरलै देखिन्छ। राज्यको उत्तराधिकारी पुत्ररूपमा प्राप्त नभए राजाहरूले पुत्रेष्टि यज्ञ गर्ने गरेको अनि यति हुँदा पनि पुत्र प्राप्त नभए धर्मपुत्र पाल्ने तर आफ्नी छोरीलाई उत्तराधिकारीको रूपमा स्वीकार नगर्ने प्रचलन रहेको देखिन्छ। भारतको राजनैतिक इतिहासकै प्रसङ्ग झिक्नुपर्दा एक कुशल योद्धा अनि प्रशासकमा हुनपर्ने सम्पूर्ण गुणले सम्पन्न हुँदा हुँदै पनि रजिया सुल्तानले पुरूषतन्त्रकै बाघचालमा होमिनुपरेको अनि मृत्यु वरण गरेको कथा भारतीय इतिहासका पाठकहरूलाई राम्ररी थाहा छ। पुरूषवादी भारतीय मानसिकतालाई गतिलो सिर्कुना लाउँदै मिथिलाको प्रधानमन्त्री अनि मुख्य प्रशासकको रूपमा सीतालाई देखाएर भारतीय परम्पराभन्दा अलग्गै भारतीय नारीको छुट्टै अनि गौरवशाली रूप उपन्यासमा प्रस्तुत गरेर उपन्यासकारले सीताको मिथलाई तोडेका छन्।

कालिदासले वनवासी शकुन्तलाको वर्णन गर्दा नारीलाई हेर्ने पुरूषदृष्टि अनुसार उनको नखशिख सौन्दर्यको वर्णन गरेका छन्। संस्कृत परम्परादेखि चलिआएको नारी सौन्दर्यको वर्णन भारतीय आधुनिक भाषा साहित्यमा केही अपवादलाई छाडेर उस्तै नै छ। हिन्दी साहित्यको रीतिकाल अनि नेपाली साहित्यको श्रृङ्गारकालमा नारीहरूको कामिनी अनि चञ्चल रूपको व्यापक चित्रण पाइन्छ। अझ भारतीय चलचित्रहरूमा त झन् नारीहरूको यही कामिनी रूपले नै बढी प्रश्रय पाएको देखिन्छ। यस्तो पारम्परिक लेखनबाट आफूलाई मुक्त गर्दै उपन्यासकारले सीताको वर्णन गर्दा उनको शारीरिक सौन्दर्यलाई भिन्नै दृष्टिले हेरेका छन्। उनको उपन्यासमा जब प्रथमचोटि गुरू विश्वमित्रले सीतालाई गुरूकुलमा देख्छन्, तेह्र वर्षीय किशोरीको शरीर पारम्परिक नारी रूपभन्दा भिन्न योद्धा रूपको दर्शन उनी पाउँछन्। सशक्त फुर्तिलो शरीर, हातमा काटिएका दागहरू, शारीरिक परिश्रमको कारण आएको साँवलोपन अनि दह्रिलो मांशपेशी, हतियार समात्ने सीप, लक्ष्यलाई भेदन गर्न सक्ने एकाग्र आँखा अनि धैर्यताले सीतालाई कुनैपनि प्रकारले रामभन्दा कमतर उनी देख्दैनन्। यसैपनि रामायणमा  बालिका सीताले शिवधनु उचालेर यताउता राखेको प्रसङ्ग पाइन्छ, जुन शिवधनु शिव स्वयं, परशुराम अनि रामबाहेक अरू कसैले उठाउन त के कुरा, हल्लाउन समेत नसकेको कथा पाइन्छ। यही एउटा प्रसङ्गले पनि सीताको शारीरिक सबलताको परिचय दिन्छ तर किन हो रामायणमा सीताको यो रूप राम्ररी प्रकाशित हुनै सकेको देखिन्न। उपन्यासकारले सीताको यही सबल पक्षलाई नै उभ्याउने प्रयास गरेका छन्।

‘सीता वारियर अफ मिथिला’मा सीतालाई पनि विष्णुको अवतार मानिएको छ। मलयपुत्र कविलाहरू सीतालाई विष्णु निर्धारित गर्छन भने वायुपुत्र कबिलाहरू रामलाई विष्णु मान्ने पक्षमा छन्। रामायणका दुइ शक्तिशाली ऋषिहरूमा विश्वमित्र सीताको पक्षमा छन् भने वशिष्ठ जो अयोध्याका राजगुरू  पनि हुन्, रामको पक्षमा छन्। सीता र रामलाई विवाह बन्धनमा बाँधेर विश्वामित्र दुइ विष्णुलाई एक बनाउन चाहन्छन्। यसरी दुइ विष्णुको एकीकरणले सबल भारतको निर्माण हुनसक्ने कुरामा उनीहरू विश्वास राख्छन्। हुन पनि सीता अनि रामकै सहकार्यले नै रावण वध सम्भव हुन सकेको छ। रावण-मेघनाद-कुम्भकर्णको मृत्युले भारतमा घरिघरि भइरहने भीषण आक्रमणको अन्त भएको देखिन्छ। यसरी उपन्यासकारले सीता अनि रामलाई समकक्ष उभ्याएर नारी शक्तिको सम्मान गरेका छन्।

प्रस्तुत उपन्यासमा सीतालाई परम्परागत भारतीय नारीभन्दा भिन्न रूपमा देखाइएको छ। नेपाली वीराङ्गना नारीको रूपमा उनलाई प्रतिस्थापित गरिएको छ। नेपालको तत्कालीन मिथिलाको वर्णन, खुकुरी अनि गोर्खाहरूको शौर्यको वर्णन, सीताकी आमालाई मङ्गोल मूलको अनि उच्च प्रशासकीय गुणले युक्त नारीको रूपमा वर्णन, पूर्वोत्तर अनि किराँती संस्कृतिलाई गौरवशाली रूपमा चित्रण जस्ता प्रसङ्गहरूले सीतालाई पूर्ण रूपमा नेपाली नारीको रूपमा नै स्थापित गर्न उपन्यासकार सफल भएका छन्। अझ सीता अनि हनुमानलाई चेली-माइतीको रूपमा देखाउँदै अनि आजीवन यो सम्बन्धलाई निभाउने नेपाली संस्कृतिको झलक यस उपन्यासमा हामी पाउन सक्छौं।

समयक्रम सँगै रामायणको कथा अनि प्रसङ्गहरूमा परिवर्तन आएको देखिन्छ। उत्तरआधुनिक युगमा सीताको चरित्रलाई समयानुकुल देखाउने उपन्यासकारको प्रयासले हामीलाई किनारीकृत गरिएका यी पात्रहरूबारेमा पुनर्पठन गर्ने सन्देश दिन्छ। आजसम्म देखिएको रून्चे अनि निर्बल पारम्परिक छविलाई उल्टाउँदै सीताको गरिमामय छविको दर्शन उपन्यासकारले पाठकलाई गराएका छन्। सीताको रूपमात्र होइन तर शौर्यले पनि कसरी तत्कालीन समाजमा प्रसिद्धि पाएको थियो भन्ने कुरालाई उपन्यासमा उनका एक एकवटा वीरतापूर्ण कृत्यहरूका माध्यमद्वारा दर्शाइएको छ। पौराणिक भारतीय-नेपाली नारीको यस्तो शौर्यशाली रूपले पाठकको मन गदगद नभइ रहन सक्तैन।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.