छक्कापन्जा २ः सस्तो मनोरन्जन


अरु फिल्म हेर्छन्, म पढ्छु सायद!

मन परेको कलाकारले अभिनय गरेको र मन परेको निर्देशकले निर्देशन गरेको फिल्म छुट्यो भने परीक्षाको प्रवेशपत्र हराएझैँ महसुस हुन्छ मलाई।

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘टिम’ले बनाएको फिल्म छक्कापन्जा २ रिलिज भएकै दिन म परिवारसहित हलमा पुगेँ। यिनीहरुले बनाएको अघिल्ला फिल्म मन परेकाले हेर्न गएको थिइनँ। तै पनि एउटा कौतुहल भने मनमा थियो। लैंगीक सवालमा शुन्य संवेदनशील छक्कापन्जाको आलोचनापछि केही गम्भीर भए कि भन्ने लागेको थियो। तर, फिल्म हेरेपछि थाहा भयो, ‘ब्रान्ड’ बिग्रेपछि सुधार हुन मुस्किल पर्दो रहेछ!

मलाई लाग्छ, ‘असली ब्राण्ड आफू घाटा खाएर टाट पल्टन्छ बरु, तर आफ्नो ग्राहक र सेवाग्राहीलाई ठग्दैन।’

तर दीपक–दीपा नेपाली फिल्म उद्योगमा असली ब्रान्ड बन्न सकेनन्।

मैले अहिलेसम्म त्यस्तो कुनै कथा, उपन्यास वा नाटक पढेको याद छैन, जुन पढेपछि मलाई प्रोटागोनिस्ट (नायक) को हो भन्ने थाहा नै नहोस्। प्रोटागोनिस्ट हुन्छ, उसको लक्ष्य हुन्छ। त्यो लक्ष्य प्राप्तिका लागि उसले संघर्ष गर्छ। एन्टागोनिस्ट (खलनायक) सँग लड्छ। एन्टागोनिस्ट पात्र हुन पनि सक्छ, परिस्थिति वा अवस्था वा व्यवस्था हुन पनि सक्छ। ऊसँग प्रोटागोनिस्टको द्वन्द्व हुन्छ र उसको दुखान्त वा सुखान्त अन्त्य हुन्छ।

फिल्म साहित्य हो। यहाँ कथा हुन्छ।

हेरेपछि मनमा प्रश्न उठ्छ— छक्कापन्जा २ कस्तो कथा हो जहाँ प्रोटागोनिस्ट नै छैन? सबै नायकजस्ता लाग्छन्। तर वास्तविक नायक कोही पनि छैन। नायक को हो भनेर दर्शकले भेउ नपाउने फिल्म हो, छक्कापन्जा– २।

फिल्म सिर्जनात्मक अभिव्यक्ति हो। हरेक सिर्जनात्मक अभिव्यक्तिमा बहाव (फ्लो) हुनु जरुरी ठानिन्छ। बहाव नभएको अभिव्यक्ति निरस गाली वा उट्पटयाङ मजाक मात्र हुनसक्छ। रथरुपी फिल्मका नटहरु खुस्किँदै, हल्लिँदै र फुस्कँदै जान्छन्। रथ र रथमा सवार पात्र ठाउँ कुठाउँ घरी यता पल्टन्छन् घरी उता। पात्र पल्टेको देखेर दर्शक हाँस्छन्। त्यही हाँसोलाई छक्कापन्जा टिमले आफ्नो सफलता ठानेको होला। हो भने, यो साह्रै नराम्रो कुरा हो।

आधुनिक फिल्म आफैंमा एउटा ‘रिसर्च’ हो। फिल्मले नयाँ निचोड निकाल्छ, जुन लक्षित दर्शकका लािग नयाँ र नौलो परिकार बन्छ। तर, जुन विषयवस्तुलाई फिल्मले समाएको छ, त्यसमा आवश्यक अध्ययन पुगेको छैन। अध्ययन नगरी बनाइएको सिर्जनामा नयाँ निचोड हुने सवालै भएन।

अष्ट्रेलियाले ‘पेपर भिजा’ जारी गर्दैन। भिजाको प्याकेट कन्सल्टेन्सीमा आउँदैन। तर जे यथार्थमा हुँदैन, त्यही फिल्ममा जबरजस्ती देखाइएको छ। अहिलेका युवा–युवती जसलाई यो प्रष्ट थाहा छ कि अष्ट्रेलियाको भिजा भए नभएको अनलाइनबाट थाहा हुन्छ, फिल्ममा यस्ता दृश्य आउँदा उदेक लाग्छ। त्यति सामान्य जानकारी बटुल्ने जाँगर पनि फिल्ममेकरले नचलाएको प्रस्टिन्छ। फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाएर भिजा हेर्छ। नायिका ‘फिंगर क्रस’ गरेर भगवान पुकार्छिन्। जसलाई ‘टार्गेट’ गरेर फिल्म बनाइयो, त्यही समूहका युवा युवतीहरु यो दृश्य हेर्दा हाँस्न त हाँस्लान् तर उदेक मानेर हाँस्छन्।

‘माग्नेबुढा’लाई परामर्शदाता बनाएर प्रस्तुत गरिएको फिल्मले शैक्षिक परामर्शदाताको खिल्ली उडाएको छ। शैक्षिक परामर्शको क्षेत्रमा लाग्ने कुनै पनि व्यक्तिको व्यक्तित्व त्यस्तो हुँदैन। हसाउनकै लागि भनेर अतिरन्जित गरेर कुनै पनि पेशा र पेशाकर्मीलाई यसरी प्रस्तुत गर्न जरुरी हुँदैन। कुनै पनि कन्सल्ट्याण्ट विद्यार्थीको पछि लागेर गाउँमा डकुमेन्ट बनाउन र घुस खुवाउन पुग्ने गर्दैन। यथार्थमा विद्यार्थीको भीड लाग्छ कन्सल्टेन्सीमा। फिल्ममा जस्तो एउटा मात्रै विद्यार्थीलाई हरप्रयास गरेर विदेश पठाउनको लागि कन्सल्टेन्सी खोलिँदैन, एउटा विद्यार्थीको पछि हप्तौं बिताउने फुर्सद कुनै पनि ‘कन्सल्ट्यान्ट’लाई हुँदैन। सबैभन्दा अमिल्दो कुरा एउटा कन्सल्ट्याण्ट घाटसम्म पुगेर पण्डित खोजेको देखाइएको छ। हो, हरेक क्षेत्रमा गलत काम गर्ने हुन्छन्। तर त्यसलाई निचोड र निश्कर्ष निकाल्दा सम्बन्धित क्षेत्रको मर्यादालाई जोगाउने काम फिल्मले गर्नुपर्दछ। तर, छक्कापन्जा यो जिम्मेवारीबाट पन्छिएको देखिन्छ।

मनोरन्जन अत्यन्तै सुन्दर शब्द हो। साहित्य, कला, संगीत, फिल्म यी सबै मनोरन्जन दिनका लागि बनेका हुन्। यसमा कसैको पनि दुई मत छैन। तर त्यही मनोरन्जन शब्दको अगाडि सस्तो शब्द आइदियो भने त्योजस्तो दुर्दशा अर्को के होला? सस्तो मनोजरन्जन के हो भनेर भोलिको पुस्ताले सोेध्यो भने उत्तर दिनका लागि राम्रो उदाहरण बनेको छ, छक्कापन्जा २। मनोरन्जन दिने बाहनामा छक्कापन्जाले जे पनि गरेको छ, मानौँ एउटा बच्चा आफ्नो साथीसँग चोर पुलिस खेल्छ, चोर पात्र बनेको साथीलाई गोली लागेर लडेको देख्दा अन्य साथीहरु मज्जाले हाँस्छन्। नक्कली बन्दुकमा त मज्जाले हाँस्दा रैछन् भनेर साँच्चैको बन्दुक पड्काइयो भने अब के होला? त्यो अभिनय नभएर अपराध हुन्छ। छक्कापन्जाले गरेको त्यही हो।

‘कास्टिङ’ निर्देशन फिल्मको कमजोर पाटो हो। फिल्म हेर्दा लाग्छ, कास्टिङ निर्देशकलाई कन्सल्टेन्सी पेशा र त्यो पेशा गर्ने मान्छेबारे केही पनि ज्ञान छैन। शैक्षिक परामर्शदाताको भूमिकामा माग्ने बुढाको व्यक्तित्व, बोली, हाउभाउ कुनै पनि आधारमा देखाउन खोजेको पेशासँग मिल्दो छैन। २२ वर्षे पण्डितले संस्कृत लयमा बोलेको देखाइएको छ, जबकि उनकै ‘पिताजी’ ठेट नेपाली लवजमा बोल्छन्। बरु उल्टो गरेको भए सुहाउँथ्यो। २२ वर्ष होइन, ४२ वर्षका जस्ता देखिन्छन् जितु नेपाल। बोली, हाउभाउ, मेकअप र निर्देशकको राम्रो तयारीले ५० कटेका आमिर खान कलेज विद्यार्थी बनेको खल्लो देखिँदैन। तर, जितु नेपाल वास्तविक उमेरभन्दा ज्यादा देखिन्छन्।

फिल्ममा नाम चलेका अन्य अनुहारहरु पनि छन्, जो उक्त पेशासँग सम्बन्धित नै लाग्दैनन्। त्यो क्षेत्रका जानकारहरुसँग सल्लाह लिन फिल्म चुकेको छ। अदालतमा न्यायधिशले गरेको निर्णयको शब्द कानुनी छैन। अदालती बयान र बहस केटाकेटी पाराको छ। न्यायाधिश बोल्दा न्यायधिशजस्तो सुनिँदैन, वकिल बोल्दा वकिलजस्तो सुनिँदैन। कानुनी बहस चिया पसलको विवादजस्तो र न्यायाधिशले गरेको निर्णय आठ पढेको युवाले गाउँका मामालाई पठाएको पत्रजस्तो देखिन्छ। यसको अर्थ हो, फिल्म जसरी बनाए पनि हुन्छ भन्ने सोचाइ।

फिल्मले न ‘एजुकेसन कन्सल्टेन्सी’ पेशाबारे बुझ्न थोरै समय खर्च ग¥यो न त कानुनी बहस र बयानबारे नै सामान्य सोधपुछ ग¥यो। टिभी सिरियलमा चलेका सबै कुरा फिल्ममा चल्दैनन्। फिल्म टेलिसिरयलभन्दा माथि हुनुपर्छ, कमेडी शोभन्दा फरक हुनुपर्छ।

कागजी विवाह कागजको लागि मात्र हो भनेर वकिलले गरेको बहस फिक्का छ। अदालतमा गरेको विवाह अदालतको लागि मात्रै होइन, चर्च वा मन्दिरमा गरेको विवाह चर्च वा मन्दीरको लागि मात्रै होइन। समाज साक्षी राखेर गरेको विवाह समाजको लागि मात्र होइन। विवाह भएको गाविसको प्रमाण पत्र अदालतमा पेश भइसकेपछि फिल्ममा देखाएजस्तो अदालतले तारेख थप्दै जाँदैन, एकै बहसमा निर्णय गर्छ। सरकारी कागजलाई आधार नमान्ने अदालत हुँदैन। अझ कन्पारो त्यो बेला तात्छ, जब मुद्दामा नयाँ मोड आयो भनेर न्यायधिशले टाउको समाउँदै प्रहरीलाई जिम्मा लगाउँछ। हाँस्ने र हँसाउने बहानामा छक्कापन्जाले अदालतको समेत मानहानी गरेको छ। यो सब बिनातयारी, बिना अध्ययन, बिना सुझबुझ नेपाली फिल्म बनाउने पुरानो प्रवृत्ति हो।

नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढेको छ। यसको अर्थ उनीहरुको सुझबुझ र मनोविज्ञान पनि पहिलेभन्दा धेरै परिपक्व छ। दर्शकको अपेक्षालाई उपेक्षा गरी बनाउँदा छक्कापन्जा २ पिँडालुको पेडा बनेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.