लाटीको छोरो: न्यायको प्रश्न

लाटीको भूमिकामा अभिनय गर्दै केनिपा सिंह। तस्बिर- अजय रानाभाट


एउटी बोल्न नसक्ने महिलामाथि बलात्कार गर्ने कथित सभ्य बुद्धिजिवी आफ्नो जिम्मेवारीबाट उम्किन अनेक प्रयास गर्छन्। एउटी अवला नारीमाथि समाजमा हुने शोषणविरुद्ध कोही आवाज उठाउन सक्दैनन्, चाँहदैनन्। आफूमाथि अन्याय परेको छ भन्ने थाहा हुँदा हुँदै पनि व्यक्त गर्न नसक्ने महिलाले न्याय दिने न्यायमूर्ति नै डगमगाएपछि कोमाथि विश्वास गर्ने?

श्याम साह लिखित कथा ‘लाटीको छोरो’ ले उठाउने प्रश्न हो यो। ‘अब्बा’ कथासंग्रहभित्र संग्रहित कथालाई सुलक्षण भारतीले सोही शीर्षकमा नाटक तयार पारेका छन्। भदौ २० गतेदेखि मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकको कथा मधेसको पृष्ठभूमिमा लेखिएको छ।

सुन्दरबजारमा डोम जातिलाई लखेटेर वरिपरिका पञ्चायतका ठूलाबडाले बस्ती बसाउँछन्। बस्तीसँगै ठाउँको नाम पनि जुराउँछन्, सुन्दरबजार।

जहाँ देशको कुनै राजनीतिक परिस्थितिले छुँदैन। त्यस ठाउँका सर्वमान्य नेता थिए, बिसनाथ बाबु।

देशमा जति पनि राजनीतिक परिवर्तन हुन्थे, ती सबैका प्रभाव अन्ततः बिसनाथ बाबुकोमा गएर टुङ्गिन्थे। सुन्दरबजारमा उसको प्रभाव सदावहार हुन्छ। उनी आफुलाई न्यायमूर्ति मान्थे। बिसनाथले सुन्दरबजारका सबै उच्च तहका व्यक्तिलाई आफ्नो पोल्टामा पारेका थिए। गाउँका मानिसहरु ठाडो आँखाले बिसनाथलाई हेर्न सक्दैनथे, किनकि त्यसरी हेर्ने एकजना मानिस पनि सुन्दर बजारमा टिकेका छैनन्।

गाउँका मुखियाको दुर्घटना हुनुमा पनि उनकै हात रहेको हल्ला चल्छ। उनी पञ्चायतमा सबै गरिब निमुखालाई न्याय दिन सक्ने व्यक्तिमा परिचित थिए। यसअघि उनले श्रीमान बितेकी पवित्रालाई बोक्सीको आरोप लगाएका घरपरिवारको विरुद्धमा निर्णय गर्दै पवित्रालाई बस्ने बास र केही पैसा दिने घोषणापछि नाम कमाएका थिए। पवित्रालाई गाउँलेले पागल र बोक्सी भन्थे।

उनले बारम्बार आफ्नै ससुरामाथि बलात्कारको आरोप लगाउँदा पनि पागलको संज्ञा दिएर उनको कुराको कतै सुनुवाई भएको थिएन।

यसैबीचमा त्यो गाउँमा एउटी बोल्न नसक्ने महिला देखा पर्छे। जसलाई सबैले लाटी भनेर बोलाउन थाल्छन्। यौवनले भरिएकी युवती देखेर त्यस बस्तीका सबै पुरुषको मन लोभिन्छ। लाटी स्वभावले निकै जिद्दी थिई। लाटी कहाँबाट आई, कसैलाई थाहा छैन।

तर लाटीको भाषा बुझ्ने पुनितले पवित्राकोमा बस्ने वातावरण मिलाइदिन्छन्। पवित्राले लाटीलाई घरमा राख्न त मान्छे, तर त्यसको जिम्मेवारी पुनितले लिनुपर्ने अडान राख्छे।

पुनित लाटीलाई मन पराउँछ, उनका लागि खान ल्याउँछ। माया गर्छ। लाटी पनि पुनितको कुरा मान्छे, उसको अगाडि खुसी हुन्छे।

एकाएक लाटी गर्भवती हुन्छे। एसको पेट कम्तिमा पनि ४ महिनाको हुँदो हो, गाउँका सबै सभ्य भनाउँदा पुरुषहरु तनावमा देखिन्छन्।
गाउँमा असई भएर आएका प्रेमबहादुर थापा, पण्डित चन्द्रकान्त झा, व्यापारी सीताराम अग्रवाल, शिक्षक रामप्रशाद शर्मासहित बिसनाथ बाबु, सबै लाटीको पेट देखेर तनावमा हुन्छन्। गाउँमा प्रत्येक मानिसले चर्चा गर्ने विषय लाटीको उठेको पेट नै हुन थाल्छ। तर लाटी यस विषयमा अनभिज्ञ छे।

चुनाव आउन एक महिना बाँकी छँदा लाटीको पेट बढ्न थालेपछि सबैभन्दा बढी तनाव बिसनाथलाई हुन्छ। उनलाई गाउँमा भएको यस्तो घटनाले आफ्नो चुनावी माहोलमा प्रभाव पर्नसक्ने ठूलो डर छ।

कसैका लागि त्यो ठट्टाको विषय बन्छ, कसैका लागि त्यो सामाजिक प्रतिष्ठाको विषय पनि बन्छ। केही बुद्धिजिवीहरुले  लाटीलाई पेट बोकाउने मानिसको खोजी गरिपाउँ भनेर थानामा निवेदन पनि हाल्छन्। पटकपटक बिसनाथ बाबुकहाँ पञ्चायती बसाउनका लागि धाउन थाल्छन्।

गाउँमा पञ्चायत बस्नुअघि बिसनाथकहाँ शिक्षक रामप्रसाद शर्मा आउँछन् अनि लाटीको पेट आफनो भएको स्वीकार गर्छन्। शिक्षकले बिसनाथ बाबुसँग आफूलाई बचाउन आग्रह गर्छन्। त्यसपछि बिसनाथकहाँ असई प्रेमबहादुर आउँछन् र आफ्नो भुल कबुल गर्छन। उनले बिसनाथलाई एक–अर्काको काम लाग्ने मानिस हौं भन्दै प्रलोभनमा पार्छ। पुनितलाई पनि लाटीको बलात्कार गरेको आरोप लागेको हुन्छ।

त्यसपछि पण्डित अनि व्यापारी सीतारामले पनि लाटीको पेट आफ्नो भएको कबुल गर्दै आफ्नो प्रतिष्ठा बचाउन बिसनाथलाई आग्रह गर्छन्।

यी चारैजना बिसनाथको नजिकका मानिस हुन्छन् र उनले ती सबैलाई उम्काउने र लाटीलाई अन्याय हुन नदिने बताउँछन्।

भोलिपल्ट पञ्चायत बस्छ। अब पञ्चायतमा बिसनाथले के निर्णय गर्छन्?

के लाटीले न्याय पाउँछे त? के ती चारै जनाको प्रतिष्ठा जोगिन्छ त? लाटीले जन्माएको छोरा कसको हुन्छ त?

यसको लागि नाटक हेर्न अनामनगरस्थित मण्डला थिएटरसम्म पुग्नैपर्छ।

श्याम साहको कथालाई जस्ताको तस्तै प्रस्तुत नगरी निर्देशकले यसको प्रस्तुतीमा केही हेरफेर गरेका छन्। नाटकमा लाटीको भूमिकामा केनिपा सिंह छिन्।

जिद्दी र घमण्डी स्वभावकी लाटी जब गर्भवति हुन्छे, त्यतिबेला पनि उसलाई आफ्नो गर्भको केही आभाष हुन्न। जब उनलाई पञ्चायतमा २ मिनेट आफ्नो कुरा राख्न समय दिइन्छ, त्यसबेला उनले आफूमाथि बलात्कार गर्ने पाँचै जनालाई देखेपछि पिडाबोधले चिच्याउँछिन्। त्यसबेला केनिपाको अभिनय दमदार देखिन्छ। फोहोरी, बोल्न नसक्ने र जंगली स्वभावकी लाटीको भूमिकालाई उनले न्याय दिएकी छन्। लाटीमाथिको अन्याय र उनको अवस्था देख्दा दर्शकको आँखा नरसाई बस्न सक्दैन। यो नै केनिपाको सफलता हो।

३ दशकपछि नाटकमा फर्किएका टीका पहारी नेता बिसनाथको रुपमा देखिएका छन्। स्वार्थी र आफ्नो उदेश्यको लागि जे गर्न पनि तयार बिसनाथको भूमिकामा देखिएका पहारीलाई नाटकमा देख्दा निकै उत्साहित बनाउँछ। जब उनी ‘म छु र न्याय छ’ भन्छन्, गाउँलेसँगै दर्शक पनि उनको कुरामा सजिलै विश्वास गर्न बाध्य हुन्छन्। बिसनाथको भूमिकामा पहारीले कुनै कसर बाँकी राखेको देखिँदैन।

लाटीको बलात्कार गरेको स्वीकार गर्ने शिक्षक रामप्रसाद शर्माको भूमिकामा सन्देश लामिछाने, असई प्रेमबहादुर थापाको भूमिकामा रियर राई, हवल्दार बच्चु यादवको रुपमा प्रकाश दाहाल, पण्डित चन्द्रकान्ता झामा रोशन सुवेदी, व्यापारी सीताराम अग्रवालको भूमिकामा राजन काफ्ले, लाटीको प्रेमी पुनितको भूमिकामा सुदीप खतिवडा, पसले मिठालाल यादवको भूमिकामा आयन खड्का, नाईंको भूमिकामा मिलन कार्की, लाटीको छोराको भूमिकामा अर्बिन खड्का र डोमिनमा अर्चना पन्थी सबैको अभिनय स्वाभाविक लाग्छ।

लाटी र बिसनाथपछि नाटकमा बच्चु यादवको भूमिकामा प्रकाश दाहालको अभिनय भिन्न स्वादको लाग्छ। उनको शारीरिक हाउभाउ, रणनीति तथा डायलग बोल्दा दर्शकलाई निकै आकर्षित पार्छ। पशुपति राईले पवित्राको भूमिकामा दर्शकलाई नयाँ स्वाद दिएकी छन्। पागल, बोक्सीजस्ता अवहेलनाको बोझ र आफ्नै ससुराबाट यौन हिंसाको सिकार भएकी एक विधुवा महिलाको भूमिकाले स्टेजमा तरंग पैदा गर्छ।

नाईंको भूमिकामा मिलन कार्कीको भूमिका निकै सांकेतिक छ। उनी पवित्रा र लाटीमाथि भएको अत्याचारका घटनाका साक्षी छन्। तर नाईं आफ्नो कुरा कसैको सामु राख्दैनन्। जब उनी रुँदै आफ्नो भावना ओकल्न सांकेतिक रुपमा गीत गाउँछन्, उसको स्वर र भावनामा त्यो पीडा झल्कन्छ, जसले लाटी र पवित्रामाथि भएको अत्याचारको अनुमान लगाउन सकिन्छ। मिलन कार्कीले लामो समयसम्म स्टेजमा आफ्नो उपस्थिति जनाउँदै केही नबोली केही नसुनी दर्शकको मन जितेका छन्।

लाटीको छोरा मञ्चन भइरहेको स्टेजलाई गाउँले परिवेश झल्कने गरी प्रस्तुत गरिएको छ। नाटक हल छिर्ने गेटदेखि भित्रसम्म फैलिएको पराल, पवित्रा बस्ने सानो झुपडी, पञ्चायत बस्ने रुख र त्यस रुख वरिपरि व्यापार, मान्छेको भीड आदि निकै गाउँले परिवेशमा चित्रण गरिएको छ।

नाटकमा किसन, सम्यक र नवीनको संगीत रहेको छ। जसले नाटकमा रङ भर्न सफल भएको छ। संगीतले दर्शकलाई कथाका पात्रको पीडा महसुस गराउँछ।

समग्रमा भन्दा लाटीको छोरो हेर्नुपर्ने नाटक हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.