संस्कृतिको भविष्य खोज्दै ‘घोडचढी’ (फोटोफिचर)


एउटा मान्छेलाई आफ्नो जाति तथा संस्कृतिको माया कति हुन्छ? सांस्कृतिक महत्वहरूको हस्तान्तरण कसरी हुँदैछ र हुनुपर्छ? शिक्षित हुनु भनेको के हो र शिक्षित मानिसले आफूले सिकेको कुन जिम्मेवारीको लागि प्रयोग गर्नुपर्छ? यी र यस्तै प्रश्नहरूको जवाफ खोज्दै नाटक सकियो।

नाटक सुरु हुँदा एउटा तराईको गाउँ आँखामा आइपुग्छ। दुईवटा घर, घरलाई घेरेको बार। छानामा फर्सी फलिरहेको। एउटै गाउँका दुइटा घरलाई ठ्याक्कै झल्काउने सुन्दर ‘सेट’। सँगै आउने एक आवाज। जुन आवाज निकाल्दै एक व्यक्ति जुत्ता मर्मत गर्दैछ। उसको वरपर केही थान पुराना जुत्ताहरू छन् र छन्, मर्मतका लागि चाहिने सामानहरू। जुत्ता हैन, ऊ कसैको पाइताला मर्मत गर्छ।

ऊसँग संवाद गर्ने पहिलो महिला पात्र भगिनी छोरीले बिहे गर्न ढिलो गरेकोमा चिन्तित छे। छोरीको भाइलाई आमाले दिदीको बिहेको धेरै कचकच गरेकोमा दु:ख लागेको छ। उनीहरूबीचमा को सही भन्ने विषयमा विवाद हुन्छ। त्यो विवाद प्राकृतिक देखिन्छ। यो सुरुवात नराम्रो छैन। संवादले मैथिली लवजको भाषा सजिलै टिप्छ। कथालाई डायलगले ढिलो नगरी गति दिन्छन्। पात्रहरूको परिचय विस्तारै खुल्छ। स्टेजमा भइरहेजस्तै नलाग्ने गरी दृश्यहरू अगाडि बढ्छन्।

नाटकले कुनै गहिरो विषय उठाउने जमर्को गर्दैन। तर ती विषयहरू काठमाडौंको नाटक हलमा बसेर हेर्दै गर्दा आफैंमा गहिरा बन्छन्। छोरीको बिहेसँग एक परिवारको कस्तो कस्तो संवेदना जोडिएका हुन्छन् खुल्छ। र, त्यससँगै खुल्छ, हराउँदै गरेको एक संस्कृतिमा जोडिएको मानिसहरूको भावनात्मक नाता। छोरीको बिहे नभएको भनेर चिन्ता गर्ने काका, बिहे हुने भन्ने सुनेपछि छोडेर जाने भइ भन्ने सोचेर पनि दुखी हुन्छ। दु:खका अलगअलग परिभाषाहरू। ती परिभाषाहरूमा हामी सबै पर्छौं।

चमार गाउँ धेरैपल्ट धेरै विषयमा बोल्न थाल्छ। कहिले चोर आँउछ, कहिले श्रीमान मातेर घर छिर्छ। कहिले कलमा पानी लिन आउनेहरूको झगडा पर्छ त कहिले बाउ छोरा बीचमा चर्काचर्की पर्छ। ती सबै दृश्यहरू कथालाई अगाडि बढाउन लागिरहन्छन्।

नाटकले मूल रूपमा एक सांस्कृतिक परम्परा ‘घोडचढी’ र त्यसमा जोडिएको चम्खोली बाजा को भविष्यबारे पुस्तान्तरको संघारमा के-के सङ्घर्षहरू हुन्छन् भन्ने देखाउँछ। छोरा पुस्ता बाबुको नाच र जुत्ता बनाउने कामलाई लाजको रूपमा देख्छ। ऊ पढ्दै छ र पढाइले उसलाई सांस्कृतिक महत्वलाई सम्झिने भन्दा बुवाको बढ्दो उमेर र रोगी जीवनको माया गर्न सिकाएको छ। ऊ भित्रको द्वन्द्व धेरै नेपाली नयाँ पुस्ताको प्रतिनिधि द्वन्द्व हो। ऊ बुवाले त्यो सबै गर्न छोडुन् भन्ने चाहन्छ। तर बाबुलाई त्यसो गर्नु मरेबराबर हुन्छ। उनी दोस्रो पुस्तामा गएपछि उक्त नाचसँगै आफ्नो जातीय पहिचान गुम्ला भन्नेमा चिन्तित छन्। यही दुई पुस्ताबीचको सङ्घर्षको वरपर नाटक घुमेको छ।

घोडचढीलाई सांकेतिक रूपमा बुझ्दा समग्र नेपाली संस्कृतिको बिम्ब मान्न सकिन्छ। चमारले घोडचढी भुल्दै गएजस्तो वा बाजा बजाउन बिर्सिँदै गएजस्तो हामीले पनि आफ्ना मौलिक परम्परालाई भुल्दै गइरहेका छौं। हामीलाई मन पर्ने चिज नाटकमा रविले मन पराउने चिजहरू जस्तै हुन्। ती फेन्सी छन्, हेर्दा राम्रा छन् तर तिनले हामी हुनुको महत्त्व दर्साउँदैनन्। नाटकको समग्र जोड नै मौलिक संस्कृतिलाई नयाँ पुस्ताले सगर्व जगेर्ना गर्न लाग्नुपर्छ भन्ने हो। पढिरहेकी छोरी बुधनीले आफ्नो चमार संस्कृति र चम्खोली बाजाको जगेर्ना गर्न गरेको प्रयासलाई त्यसैले नाटकले मुख्य विषय बनाएको छ।

नाटकको प्रयास अझै सार्थक तब देखिन्छ, जब त्यहाँ बाजा मानिसहरु साँच्चै चमार गाउँबाट आएका हुन्। कम्तीमा रंगमञ्चमा नै सही, उनीहरूले आफ्नो जातीय पहिचानलाई चम्खोली बाजाको धुनमार्फत सुनाएका छन्। त्यो धुन लय हाल्छ, थर्किन्छ। बाजाको बिटमा नाच्ने उनीहरूका पैतालाहरू निर्धक्क भएर नाच्छन्। त्यो नाचमा सहजता छ। आफ्नो माटोमा नाच्नुको गौरव छ। नाटकमा देखाइएको धार्मिक आस्था तथा सांस्कृतिक सेलिब्रेसनले एउटा परम्परालाई बचाएको छ।

नाटकको सबैभन्दा सबल दृश्य अन्तिममा छ। बाबु बुढो भएपछि नाच्न नसक्ने तथा उसको छोराले नाच्ने इच्छा नदेखाएपछि आफ्नो थानमा लगेर घोडचढी चढाउने सोच्छ। उसले त्यसलाई चढाउन लैजाँदै गर्दा बुधनारायणले त्यसलाई रोक्न खोज्छ। बुधनारायण शारीरिक रूपमा अशक्त छ। उसका खुट्टाले राम्रोसँग काम गर्दैनन् तर पनि ऊ त्यो घोडचढी लैजान नदिन हरसम्भव प्रयत्न गर्छ। एक संस्कृति छोडिँदाको दु:ख अर्कोलाई कति लाग्छ भन्ने देखाउन त्यो दृश्य सफल छ। तर बाबुले घोडचढी फाल्न नपाउँदै छोराले नयाँ घोडचढी चढेर नाच्न आएपछि बाबु आएर उसलाई ढोगेको दृश्य एकदमै महत्त्वपूर्ण छ। त्यसले उनीहरूको सम्बन्ध बावुछोरा भन्दा अलग बनाइदिन्छ। त्यो संयोगले गहिरो संवेदनालाई बटुलेर देखाएको छ। बाबुको आँखामा अचम्मका उज्यालो भरिन्छन्। डुब्दै गरेको घामले उदाउँदै गरेको जुन देखेजस्तो।

नाटकको भाषा सबल छ। अभिनयमा कलाकारहरू उम्दा जमेका छन्। सबैले तराईको लवज बोकेका छन्। लवज मिठो छ। स-साना दृश्यहरूले मन छुन्छन्। दैनिक जीवनका रमाइलोहरू दृश्यमा देखिँदा अनुहारमा हाँसो आफैं आउँछ।

तर चमार समुदायको साँस्कृतिक महत्वलाई टिप्ने प्रयत्न गर्दा नाटकमा कमजोरीहरू पनि देखिन्छन्।

कथाले समयको फ्रेम अलिक प्रस्टसँग समात्दैन। कति दिनको घटना हो भन्ने यकिन खुल्दैन। त्यसलाई जनाउनका लागि लाइटलाई अलिक रचनात्मक तरिकाबाट देखाउन सकिन्थ्यो। दिन र रातको बदलाव प्रकाशको माध्यमबाट देखाउने ठाउँ थिए। साथै, केही स्थानमा पात्रहरूको इमोसनसँग अझै नजिक बनाउनको लागि लाइटलाई अलिक फोकस गर्न सकेको भए हुन्थ्यो।

चमार समुदायको सांस्कृतिक पक्षहरूलाई समेटिरहँदा धेरै सामाजिक विषयहरू पनि एकैपटक देखाउन खोजेजस्तो लाग्छ। यसो मनन गर्दा नाटक परम्परा अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा मात्र केन्द्रित हुन सकेको भए सेटमा अलिक ध्यान जानसक्थ्यो। साथै बाबु र छोराबीचको पुस्तागत द्वन्द्व अझै बलियो हुनेथियो। छिमेकीसँगै नयाँ परिवारलाई पनि कथामा मिसाएकाले पहिलो खण्डमा सेट जति सबल लाग्छ त्यति नै सबलताका साथ सांस्कृतिक दृश्यहरूलाई सेटले समेट्न सक्दैन।

बीचमा उठेका कथाहरू क्लाइमेक्समा त पुग्छन् तर तिनको रिजोलुसन राम्रोसँग हुँदैन। जस्तो छोरो विदेश गएको भनेर दुखी भएको बौका र उसको श्रीमतीको सम्बन्धलाई एक पटक उठाएपछि पुन: जोडिँदैन। बुधनकीको बिहेको प्रसङ्गले पनि रिजोलुसन नपाउँदा नाटक कतै छोडिएजस्तो वा अल्मलिएको जस्तो पनि लाग्छ।

नाटकको अन्त्य अनावश्यक तन्काइएको छ। अन्त्य लम्ब्याएर मुख्य पात्रमार्फत् लेखकले भन्न खोजेको कुरा जबरजस्ती पात्रमार्फत बोलाउन लगाएको भान हुन्छ। छोराले नयाँ घोडचढी बनाएर ल्याएपछि बाबुले छोरालाई प्रणाम गरेको दृश्यमा नाटक सकिएको भए दर्शकलाई सोच्ने ठाउँ पर्याप्त हुन थियो।

यी कमजोरकीका बावजुद समग्रमा भन्न खोजेको कुरामा भने नाटक  लगभग स्पस्ट छ। जातीय संस्कृति तथा प्रचलन झल्किने विषयलाई स्टेजमा ल्याउने प्रयास बिल्कुलै स्वागतयोग्य छ। चमार जातिको थाहा नभएको संस्कृति र त्यहाँको चम्खोली बाजाको ‘लाइभ’ धुन सुन्न शिल्पी थिएटर पुग्नुस्।

ट्विटर: @skyasesh

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.