नसुनिएको एउटा कथाको बारेमा


फिल्म हेर्दै गर्दा मैले सानोमा बुवासँग झापा जाँदाको दृश्य सम्झिएँ। बाटो छेउमा एकैठाउँ एकैनासले बनेका घरहरू सुरु भए। मैले अचम्म मानेर हेरिरहेँ। तर ती के हुन् भनेर बुवालाई सोधिन। बरु बाटोको दाहिनेतिर भएका राम्रा स-साना घरहरू देखेर सोधेको थिएँ बुवा, ‘त्यो के हो?’

‘चिहानघर हो’, बुवाले भन्नुभएको थियो। ‘त्यहाँ मरेका मानिसहरू राख्छन्’

‘चिहानघर हैन, त्यो त सानो सहर हो। यो गाडी त्यहीँ जान्छ’, पल्लो सिटमा बस्ने दाइले मलाई जिस्काउनुभएको थियो।

मलाई झट्ट हेर्दा त्यो चिहान होला भन्ने विश्वास नै लागेको थिएन।

फर्किंदा मैले चिहानघरलाई हैन, पारिपट्टि भएका घरहरू के हुन् भनेर सोधेँ। बुवाले भुटानबाट आएका शरणार्थीहरू बस्ने शिविर भन्नुभयो। किन आएका वा कसरी आएका भनेर प्रश्नहरू सोध्ने बेला भएकै रहेनछ सायद। त्यसपछि मैले प्रश्न सोधिँन। बुवाले पनि केही भन्नुभएन। मैले दौडिरहेको गाडीबाट ती शिविरहरूलाई हेरिरहेँ। एकैछिनमा गाडी पास भयो।

खासमा मलाई मलाई परबाट हेर्दा शरणार्थी शिविरभन्दा चिहानघर राम्रो लागेको थियो।

मलाई त्यसभित्र के हुन्छ र मानिसहरू कसरी बस्छन् भन्ने बारेमा केही थाहा भएन। प्लस टु पढ्न इटहरी आएपछि मैले चिन्ने एक जना दाइले भुटानी शरणार्थी बिहे गर्नुभयो। यसपछि भने धेरै कुराहरू बुझ्दै गएँ। भुटान छोडेर हाम्रो देश आउनुभएकी भाउजू अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो। पछि जानुभयो पनि।

त्यसको केही वर्षपछि पुन: झापा पुग्दा त्यहाँका घरहरू पातलिँदै थिए। तर, चिहानहरू उस्तै थिए।

अहिले सम्झिँदा गम्भीर प्रश्नले थिचिन्छु, ‘जीवनको खोजी गर्दै जीवनभर हिँड्नेहरूलाई देशको माया कति हुँदो हो?’

पछि ‘देश खोज्दै जाँदा’ फिल्मको बारेमा सुनेँ। योसँगै जोडिएका मानिसहरू चिनेँ। विषय नजिक भयो। पीडालाई महसुस गरेँ। तर विडम्बना, शरणार्थी शिविरमा भने कहिल्यै पुगिन।

फिल्ममार्फत नै पुग्न जुरेको रहेछ।

फिल्म मैले देखेजस्तै कुनै एक बस्तीको एक कुनाबाट साइकलमा दौडिँदै सुरु भयो। ‘लङ सट’ले सुरुमा बाटो खिच्यो, त्यसमा साइकलहरू दौडिए। पर जाउन्जेल दौडिए र एकछिनमा बिहान भयो। घाम उदायो। त्यो घामको उज्यालो शिविरभरी छरियो। हुनसक्छ, नजिकैका गाउँहरूमा पनि छरियो। केही किलोमिटर पर रहेको भुटानमा पनि छरियो।

तर घाम जसरी चाहेको ठाउँमा पुग्न उनीहरूलाई अनुमति छैन। घाम हुर्किनुभन्दा पहिला काम गर्नुपर्ने ठाउँमा पुग्ने बाध्यता छ।

मैले सोचेँ, त्यसरी घाम लाग्दा उनीहरू के के सम्झिन्छन् होला? केही दिनमै फर्किने भनेर हिँडेको घर वा बाँधेका गाईवस्तु वा बिहानै घरमा आइपुग्ने उज्यालो घाम पनि? त्यो घाम हरेक दिन कतै दुखिरहेका नमिठा यादहरूलाई झस्काएर जाँदो हो।

फिल्म सुरु हुनुभन्दा केही बेर पहिला एनिमेसनमा इतिहास भन्दै गर्दाको एउटा दृश्यले मन पोल्यो। भुटानबाट हिँड्ने बेला नेपालीभाषीहरूलाई इच्छाले छोडेका हुन् भन्ने पार्न जबरजस्ती हाँसेको पारिवारिक फोटो खिच्न लगाइएको रहेछ। बन्दुकको नालको अघिल्तिर उभिएर क्यामेरामा पोज दिन र हाँस्न लगाइएको रहेछ। त्यसरी हाँस्दा मनमा के के कुरा खेल्दो हो?

सोच्छु, हरेक दिन लाग्ने घाम उनीहरूलाई त्यही क्यामेरा जस्तो लाग्दो हो।

फिल्मले त्यही लामो समयको बीचबाट छानेर नौ महिनाको समय पस्कियो। नौ महिना। एउटा बच्चा जन्मिन लाग्ने समय वा फिल्ममा देखाइएझैं केराको बिरुवाले बुंगो निकाल्ने समय। तर फिल्म हेर्दै गर्दा थाहा भयो, क्यामेराले खिच्न भ्याएको दृश्य धेरै थोरै हुन्। बताएभन्दा लामो समयको न्यारेटिभ फिल्मले पस्किन्छ। सायद फिल्मको सफलता हो यो।

फिल्म सरल बग्यो। कुनै दर्शन वा राजनैतिक नारालाई बोक्नुभन्दा क्याम्पमा एक सामान्य मानिसहरूले महसुस गर्ने उतारचढावलाई पस्किनु सजिलो मान्यो। पात्रहरूको सम्बन्ध मिहिन ढङ्गले कुँदिएर डायलग बने। सन्दर्भले डायलग बोल्न लगायो। पात्रहरूले अभिनय गरेनन्, भोगिरहेको एक पाटो जीवन भोगिदिए।

दृश्यहरूको खिचाइमा नवीनता देखियो। प्राय: जसो क्लोज सटहरू खिच्दा अनुहार भन्दा अगाडि फ्रेममा कुनै सामान पनि खिचियो। सामान्यतया: फिल्ममा दुई पात्रलाई एउटै फ्रेममा खिच्दा एउटालाई फोकस गर्दा अर्कोलाई ब्लर गरेको हो। तर यसमा त पात्र र कुनै वस्तु त्यसरी खिचिए। झ्याल बाहिरबाट भित्र बसेको अनुहार खिच्नु वा टाटी भित्रबाट बाहिरको दृह्य। केराको पात खिच्नु, ठडिएको रूख खिच्नु। हाँगा खिच्नु। लिपेको भुइँ खिच्नु, खेल्दै गरेका केटाकेटीहरू खिच्नु, भुटानको झन्डा खिच्नु। सिनेमाटोग्राफीले फिल्मको सिम्बोलिक ग्राफलाई न्याय गर्‍यो। दृश्यहरू कलात्मक भए। भन्न खोजेको बुझियो, ‘फिल्ममा पात्रहरू सँगै उनीहरूले चलाउने वस्तु वा सामाग्रीहरूपनि एक जीवन हुन्।’

फ्ल्यासब्याक न्यारेटिभ टेक्निक खासै नौलो हैन तर प्रस्तुतिले त्यसलाई भद्दा हुनबाट जोगायो। भइसकेको दृश्य देखाइसकेपछि पनि त्यसले मूल कथालाई फुत्किन दिएन। बरु त्यो कसरी भयो भन्ने कौतुहलता जीवित राख्यो। यस्तै फ्ल्यासब्याकलाई जोड्ने दृश्यको संयोजन गज्जब देखियो। भतिजको लास लिएर दौडिरहेको गाडीको झ्यालबाट देखिने जङ्गलको ब्याकग्राउण्ड र त्यही बाटो भएर पहिला काका भतिज साइकल चढ्दा पछाडि देखिने जङ्गल। दुवै एउटै। सुरुमा दाउराको हार अनि त्यसपछि खिचिएको चिता। दृश्यहरूले सांकेतिक रूपमा भने, त्यो कथामा विगत र वर्तमान एकैठाउँ जोडिएका छन्। केवल साधन फेरिएको छ तर दौड उस्तै छ। केवल ठाउँ फेरिएको छ तर देशको खोजी उस्तै छ।

फिल्मको सुन्दर प्रेम कहानी। त्यो कहानीमा कुनै आवाज छैन। प्रेम गर्नेहरू आपसमा बोल्दैनन् तर पनि त्यसले मनग्गे भाषा बोल्छ। खासमा त्यो प्रेम व्यक्त पनि हुँदैन। हुनसक्छ, त्यो प्रेमलाई व्यक्त भन्दा अव्यक्त रहन दिएर निर्देशकले पात्रहरूलाई अमर बनाए। हुनसक्छ, त्यसले तेस्रो देश पुनर्वासमा छुटेका त्यस्ता धेरै अव्यक्त सम्बन्धहरूलाई प्रतिबिम्वित गर्न खोज्यो। हुनसक्छ, त्यो समयको एक असफल खोजी थियो। वा यो पनि हुन सक्छ कि त्यो प्रेम पात्रहरूसँग छँदै थिएन। कुनै कठोर समयलाई पगाल्ने असफल चेष्टा थियो। तर जे भए पनि फिल्ममा त्यो प्रेम पात्रहरूको विभिन्न गुणहरूलाई फैलाउने साधन भएर आयो।

सँगै त्यो प्रेमले शिविरभित्र भएका आन्दोलनहरूमा पिसिएका धेरै सम्बन्धहरूलाई प्रतिनिधित्व गर्‍यो। ती सम्बन्ध जो त्यसरी भत्किनको लागि थिएनन्। ती सम्बन्धहरू जो त्यसरी छुट्टिनको लागि पनि थिएनन्।

फिल्मले निकै गहिरा सकसहरूलाई विभिन्न सन्दर्भ पारेर भन्यो। सामान्य जीवनमा भइरहने त्यस्ता घटनाहरू फिल्ममा अलिक पृथक् भएर उभिए। जस्तै भातमा ढुङ्गा लागेको दृश्य। यो त्यसपछि हुन्छ, जब सँगै आएकी र बसेकी बहिनीले तेस्रो देश जानका लागि फर्म भरेको थाहा हुन्छ। अर्को, बिरामी भएर डाक्टरकोमा गएको बेलाको दृश्य। डाक्टरले भन्छ, ‘लामो सास लिनुस् त।’ उनको सकसले बताउँछ कि, उनी लामो सास लिन सक्ने अवस्थामा छैनन्। देशको खोजीमा दौडिँदा दौडिँदा उनको सास बस्न सकेको छैन।

समग्रमा फिल्मले नसुनिएको एउटा कथा र नचिनिएका पात्रहरूको परिचय बोकेर आयो। देश छोड्नेहरूलाई देशको मायाले कति छुन्छ भन्ने देखायो। आफूले बाँचिरहेको देश र त्यसको माटो कति बलियो हुन्छ भनेर झक्झक्यायो।

र यतिमात्र हैन नेपाली फिल्म उद्योगमा ऐतिहासिक फिल्महरू बनाउने हो भने कसरी बनाउनुपर्छ भनेर पनि सिकायो। फिल्मले प्रयोग गरेका टेक्निकहरू पुन: नेपाली फिल्म उद्योगमा दोहोरिएको हेर्ने रहर मनमा पलाएको छ।

तर अब दोहोरिँदा यो फिल्मले छुटाएका यी कुराहरू नदोहोरिउन्।

कथामा कुनै दृश्यहरू जसरी उठे त्यही रूपमा स्थापित भएनन्। भतिजलाई मार्ने मानिस को होला भनेर बदला लिन हिँडेका काकाले शङ्का गरेको मानिस खासमा गलत हैन रहेछ भन्ने कुरा थाहा पाएको प्रसङ्ग अलिक कमजोर देखियो। शङ्काका लागि धेरै समय छोडे पनि त्यसको जवाफका लागि अलिक समय छुट्याउन सकिन्थ्यो।

काका विचलित भएर गुफामा पसेर रोएको दृश्य बलियो हुँदाहुँदै पनि ऊ त्यो अवस्थामा कसरी पुग्छ भन्नेमा अझै मेहनेत गर्न सकिन्थ्यो। त्यो नहुँदा उक्त दृश्य फिल्मको प्रतिनिधि दृश्य हुनबाट चुकेको छ।

र फिल्ममा छुटेको महत्त्वपूर्ण पक्ष शरणार्थी शिविर र झापाका बस्तीहरूको सम्बन्ध कस्तो थियो भन्ने प्रश्न फिल्ममा ‘परको जङ्गलमा नजानु है’ भन्नेमा सीमित गरिएको छ। ती दुई समुदायकोबीचको सम्बन्धको बारेमा फिल्ममा कुनै दृश्यहरू थपिएका भए अझै सबल हुन्थ्यो जस्तो लाग्यो।

फिल्म हेर्न जानुभन्दा पहिले बुवाआमालाई सुनाएको थिएँ। फर्किएर घर आइपुगेपछि आमाको फोन आयो। बुवा पनि सँगै हुनुहुन्थ्यो।

आमाले सोध्नुभयो, ‘कस्तो रहेछ फिल्म?’ मैले बुझेँ त्यो प्रश्न दुवैजनाको थियो।

मैले फिल्मको कथा सुनाएँ। माथि लेखेका धेरै कुराहरू पनि सुनाएँ।

सायद बुवालाई याद थिएन होला, मैले सुरुमा उल्लेख गरेको घटना। उहाँ त्यो कथा बुझ्न उत्सुक हुनुहुन्थ्यो। मलाई उहाँले शिविर हो भनेर सुनाउनुभयो, मैले उहाँलाई शिविरभित्रको कथा फिल्ममा हेरेर सुनाएँ।

उहाँलाई कथा सुनाउँदै गर्दा फिल्मको अन्तिमतिर आइओएमको गाडी पास भएको दृश्य आँखामा आयो। त्यो गाडी शिविरबाट पास भएर राजमार्गतिर लाग्यो र दौडियो। गाडी जाँदै गर्दा पारिपट्टि मैले सानोमा देखेका चिहानघर पनि देखिएका थिए। मलाई लाग्यो म पनि त्यो गाडीमै छु।

र अन्तिममा सोचेँ, खासमा भुटानी शरणार्थीको कथा बुझ्न मैले यो फिल्म पर्खिनुपर्यो। मतलब, हाम्रो सरकारले त्यो कथा सुनेर हामीलाई सुनाउन सकेन। फिल्मको एक नारा भन्दा उल्टो भयो, ‘नेपाल सरकार बेलैमा बोल्न सकेन।’

धन्न प्रकाश आङदेम्बे र उनको नामपछाडि उभिएका हजारौँ मानिसहरू बोले। तर बिडम्बना, यसपटक बोल्ने मानिस हुँदा पनि सुन्ने नेपालीहरू धेरै भएनन्।

लगभग खाली हलबाट निस्किँदा वरिष्ठ गीतकार दिनेश अधिकारी सरले भनेको सम्झिएँ, ‘हामी नेपालीहरू यत्तिको फिल्म हेर्ने तहमा पुग्न अझै समय लाग्ने रहेछ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.