आवरण प्रस्ट्याइएको अनावरण

पुस्तक समीक्षा


आवरणमा हामी कसरी बाँचिरहेका छौँ, जति व्यवहार हामी बाच्छौं? बोलीमा आउने अन्तर जति व्यवहार गर्दा आउने गर्छ। बाहिर चिटिक्क देखिने आँपमा भित्र किरा छ कि हीरा? मिथ्या चिप्ला कुरामा हामी कसरी अड्किरहेका छौँ? तपाईं हामी नै साक्षी बनेको हिजोको वास्तविक इतिहासलाई वर्तमान र भविष्यसँग जोडेर कति पाठहरू सिकिरहेका छौँ या इतिहास केवल इतिहासमा नै सीमित छ? हिजो तिर्खा लागेको बेला कुन मूलको पानी किन, कसरी, कहाँ खायौँ? अब कुन मूलको पानी खाने दाउमा छौं? यस्तै–यस्तै लाखौं प्रश्नहरूलाई औंल्याउन खोजेको छ ‘अनावरण’ कथा संग्रहले।

समकालीन समाज र व्यक्तिका यथार्थ कथा लेख्न रुचाउने कथाकार विजय सापकोटाको व्यक्तित्वबारे खासै थाहा छैन। काभ्रेको रयालेमा जन्मिएका कथाकार सापकोटाद्वारा लिखित पुस्तक अनावरण पढेपछि त्यसै बस्न चाहिँ सकिनँ। मनका ज्वारभाटाहरूले पुस्तक पढेपछि बढेका अनुभूतिलाई मनमै दबाएर राख्न सकिनँ।

पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ, कतै हामी त्यो राष्ट्रभक्तिको गीतमा झुमेर राष्ट्रियताको गफलाई आवरण बनाएर सधैं यसरी नै बहकाउँदै भविष्यहरू बिताउने त छैनौँ? पुस्तकको पहिलो कथा ‘आरेमको ट्याङ्का’मा आरेम अर्थात् राममानलाई खरो कम्युनिष्ट व्यक्तिको रुपमा उभ्याइएको छ।

उसको जीवनशैली र मृत्युपर्यन्तसम्म आइपुग्दा उसलाई उसका सहकर्मी र पार्टीकै साथीहरूको हेपाइकै कारण कार्यालयको पियनभन्दा माथि उठ्न नसकेको खुरापात, नातावाद र कृपावादमा कसरी राजनीति अगाडि बढ्दैछ भन्ने स्पष्ट रुपमा कथाले चित्रण गरेको पाइन्छ।

उनको इच्छासँग व्यवहार र भोगाई अलग छन् भने मुत्युपछि आवरणको रुपमा प्रशंसा र झण्डा ओढाएर उनको जीवन कथा र भोगाईलाई कथामा समावेश गरिएको छ। यस्तै, दोस्रो कथा अन्तरणमा पारिवारिक विषयबस्तु समावेश गरिएको छ। जसमा श्रीमान–श्रीमतीलाई परिवार चलाउन कति कठिन छ? भन्ने कुरा खसी पात्रमार्फत् दैनिकीहरूलाई श्रीमान–श्रीमतीबीच उभ्याएर सोझा श्रीमानले आफ्ना दाजुहरूबाट ठगिएकोजस्ता आफ्नो लाइनमा जीवन चलाउँदाको कठिनाइलाई कथामा उतारिएको छ।

यस्तै नेपाली समाजलाई नै झटारो दिने अर्काे दमदार कथाको रुपमा अन्तिम वाक्यलाई समावेश गरिएको छ। यस कथामा एउटै परिवारभित्र रहेका ससुरा बुहारीबीचको यौन सम्बन्धलाई कथाको विषयबस्तुको रुपमा दर्शाइएको छ भने परिणामको रुपमा कलिला मष्तिष्कहरूले सिक्ने पाठको रुपमा शंकालु ससुरो र त्रसित बहुारीबीच आत्महत्या गर्न भनी आगो लगाएकी छोरीले बोल्ने अन्तिम वाक्य भित्र ससुरा बुहारीको वास्तविकतालाई इज्जतको सवाल अनि आवरण र अनावरणबीचको तहलाई तौलिएको छ।

बाहिर अन्धकार थियो शीर्षकको कथामा दश वर्षे शसस्त्र युद्धलाई चित्रण गरिएको छ। कथामा किन युद्धको सुरुवात भयो? मितेरी साइनो नस्विकारिँदा सामन्तले उन्मादमा आएर परिवार नै ध्वस्त पार्ने कामलाई मितबाको सामन्तसँग जोडिएको छ।

दलित मितको संघर्ष र उसकी बहिनी र आमाले भोगेको यातनालाई सामन्तहरूले युद्धको बेला अवसरको रुपमा प्रयोग गरेको हतियार नै हो भनी कथाले भन्छ। वास्तविक भावहरूलाई अनुभुत दिलाउन दुई मितबीचको अन्तिम भेटले कथालाई सामाजिक परिवेशमा मोडिदिएको छ।

गिर्खाे कथामा क्रान्तिका गफ चुट्ने म पात्रको संघर्षभित्र एउटा परिघटना अन्तरवार्तामा प्रस्तुत हुन जाँदा नयाँ जुत्ताको अप्ठेरो गिर्खाेले बाहिर जति नै नयाँ भए पनि भित्र पोल्ने पीडा केवल अनुभूत मात्रै गर्न सकिन्छ बाहिर देखाउन कठिन हुन्छ भन्ने भाव सिर्जना गरेको छ।

यस्तै जंगली फूल शीर्षकको कथामा एउटी गाउँकी चेलीको सपना कसरी कुण्ठित हुन्छ अनि कसरी मर्छ भन्ने दर्शाइएको छ। यसभित्रको कथामा फिल्म खेल्ने सपना बोकेकी ती रेनु नामकी चेलीको सहरसम्म आउँदा उनले भोग्नु परेको पीडाको कारण फिल्म खेल्ने रहर रहरमै सिमित कसरी हुन्छ भन्ने देखाइएको छ।

कथाका पात्रहरू शर्माजी जस्ताका व्यवहारलाई कथाले अनावरणमा ल्याएको छ। चेलीको चित्कारभित्र मरेका सपनाहरूलाई बाहिरी आवरणले कसरी ढाक्ने गर्छ नेपाली समाजमा भन्ने भाव कथाले स्पष्ट चित्रण गर्न भ्याएको छ।

निमित्त शीर्षकको कथामा पनि कृष्णमोहन पात्रलाई मुख्य पात्र बनाएर निष्ठाको जित सधैं हुने गरे पनि कसरी त्यसलाई बाहिरी आवरणले ढाक्छ भन्ने कुरा उनको एउटै लक्ष्य पानीको आयोजना ल्याउने थियो अनि त्यो पूरा गर्न उसले आफ्नै परिवारका हर गतिविधिहरूलाई त्याग गरे पनि काम सबै कृष्णमोहनले नै गरेपनि, कष्टहरू सबै उसैले गरेपनि कथाको अन्त्यमा उपभोक्ता समेत नरहेको बाहानामा कृष्णमोहन त्यो आयोजनाको निमित्तसमेत बन्न सक्दैन। कथाले समाजको त्यो आवरणलाई बाहिर ल्याउन सफल समेत भएको देखिन्छ।

अर्काे पटाक्षेप शिर्षकको कथामा सामन्तले गाँजेको समाजको गरीब परिवारका चेली कसरी मर्नुपर्छ। धनीहरूले चाहे गरीबलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने बिषय उठान गरेको छ। कथाले सामन्त संस्कारको अन्त्य कुनै सामन्ती मरेपछि मात्र हुन्छ भन्ने भावलाई चित्रण गरेको छ।

सन्तान शीर्षकको कथामा पनि अस्पताल परिवेशमा बिरामी रहेका आमाबुवा र जागिरे छोराहरूबिचको शंकाको दुरी भगाउने पात्रहरूलाई प्रस्तुत गरेको छ। कथासंग्रहको अन्तिम शिर्षकको कथा विजेतामा कथाकार सापकोटाले श्रीमान श्रीमतीको दुरी बढ्ने कारक तत्व शंका र रुपलाई पात्रहरूमा ढाली प्रस्तुत गरेका छन्।

कथामा श्रीमान्को अधिकांश समय अफिसमा बित्ने र श्रीमतीको समय डेरामा बित्ने हुँदा श्रीमानको शंका श्रीमती प्रति पर्न जान्छ। श्रीमतीको अनुहारलाई कसरी कुरुप बनाउने ताकि अरुले हेर्दा आकर्षित नहुन् भनेर उसले विभिन्न योजना बनाए पनि अन्त्यमा श्रीमती आफैं लडेर अनुहारमा घाउ भएपछि विजेताको रुपमा श्रीमान्ले आफुलाई ठानेको हुन्छ। यसभित्र श्रीमान्को मनोविज्ञान श्रीमतीको अनुहारकै आधारमा अरुले पनि आँखा लाउने हुन् कि भन्ने हुन्छ। कथाकारले कथामा सफलतापूवर्क त्यो विषयबस्तुलाई प्रस्तुत गर्न सकेका छन्।

शाब्दिक बुक्सले प्रकाशन गरेको अनावरण कथा संग्रहभित्र १० कथाहरू छन्, जुन हरेक पाठकका लागि निकै नै उपयोगी हुनेछ। हरेक कथामा कथाकारले नेपाली समाजमा लुकेको कुरालाई बाहिर ल्याएका छन्। जति बाहिर हामी देख्छौँ त्यो नै केवल सत्य होइन भन्ने कुरालाई अनावरणले आवरणहरूलाई प्रस्ट्याएर प्रस्तुत गरेको छ। नेपाली समाजको यथार्थ बिषय छ। अनावरण हरेक नेपालीहरूको वास्तविकता र हाम्रा दैनिकीहरूको उपज हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.