साहित्यमा पुरस्कारको मनोविज्ञान

साहित्यमा पुरस्कारको मनोविज्ञान

स्केच-www.123rf.com




मदन पुरस्कार र पद्मश्री पुरस्कारको छनोट सूची सार्वजनिक भैसकेपछि यसमाथि केही बहस भयो, टिकाटिप्पणी भए। मनासिब पनि हो। केही स्याबासी पनि सुनिए, अलि अलि गुनासो पनि व्यक्त गरेको पाइयो। यसैको सेरोफेरोमा, नेपाली समाजमा लेखकको रूपमा प्रतिष्ठा कमाएका एकजना अगुवा लेखकले एउटा भ्रामक कुरा लेखे फेसबुकमा, ‘पुरस्कारको लागि लेख्नेहरू एकातिर छन्, पाठकका लागि लेख्नेहरू अर्कातिर छन्।’

प्रथमतः यो द्विचर विभाजन गलत छ। कुनै पनि श्रष्टाले पुरस्कारका लागि लेख्दैन। लेखन एउटा गहन साधना हो, र आफैँमा एक साध्य पनि हो। पुरस्कारकै लागि लेख्ने भए, एकदुई पटक लेखिहेर्थे, छोड्थे। दशकौँदेखि लेखन साधनामै लागिरहनु, वर्षौंदेखि साहित्यकै वकालत गरेर हिँड्नु, र आफ्नो सम्पूर्ण ऊर्जा यसैमा समर्पण गर्नुले भन्छः लेखन एउटा तपश्या हो, एउटा जीवनपद्धति पनि हो।

र आम पाठकले पुरस्कार पाए–नपाएको लेखाजोखा गर्दैन भन्ने पनि गलत कुरा हो। उनले भनेका तिनै पाठक पुरस्कृत कृति खोजी खोजी पढ्छन्, पुरस्कार पाए–नपाएको चियो गर्छन्, पाउनुपर्ने भनेर अपेक्षा गरेको कृतिले पाएन भने असन्तुष्टी व्यक्त गर्छन्, हल्ला गर्छन् अथवा आवाज उठाउँछन्। पुरस्कार गुठीको मनोविज्ञान र आम पाठकको मनोविज्ञानको ताँदो कहीँ न कहीँ जोडिन्छ। पटकपटक नाम लिइएकी डोरिस लेसिङले लामो समयसम्म नोबेल पुरस्कार नपाउँदा धेरै पाठक र समालोचकले नोबेल समितिको आलोचना गरेका थिए, र उनको पक्षमा आवाज उठाएका थिए। यो सामाजिक न्यायको एउटा साझा आन्दोलन पनि हो। कोही चूप बस्छन्, कोही बस्दैनन्। कुरा त्यतिमात्रै हो। आखिर, यसरी आवाज उठाउने आम पाठकलाई पनि थाह छ, उनीहरूले भनेर गुठीहरूले निर्णय परिवर्तन त गर्दैनन्, तर गुठीको निर्णय बहुसङ्ख्यक पाठकको नजरमा स्वीकृत होस्, र विवाद जतिसक्दो कम होस् भन्नका लागि ती आम पाठकको अभिमत महत्त्वपूर्ण हुन्छ। पुरस्कार गुठी केही व्यक्ति वा समूहको निजी व्यवस्था होला, तर यसको प्रभाव साझा हुने हुनाले आम पाठकले चासो राख्नु पुरस्कारकै प्रभावक्षेत्र, उपादेयता त विशिष्टता बढ्नु पनि हो। एउटा निजी व्यवस्थाले साझा सरोकारको रूप लिँदै जानु सकारात्मक कुरा हुँदै हो। ‘माइन्ड योस बिज्नेस्’ भन्ने शैलीमा आम जनभावनालाई बडार्नु हुँदैन। आखिर, आम जनमानसको मनोविज्ञाले अनुमोदन नगर्नु हो भने पुरस्कारको कुनै पनि मूल्य हुँदैन।

लेखनको उच्चता शदियौँ पुरानो लेखन परम्परा र साहित्यको समयातीत प्रवाहले सिद्ध गरिसकेको छ। लेखनमा थप साधना बढोस् र प्रोत्साहन होस् भन्ने उच्च र स्तुत्य मनोभावनाका साथ पुरस्कारको व्यवस्था गरिएको हुन्छ। पुरस्कार कुनै आधुनिक व्यवस्था होइन। धर्मशास्त्रहरूमा पनि राम्रो कामका लागि पुरस्कृत गर्ने परम्पराको अथेष्ट उल्लेख छ। ग्रिसेली शासकहरू त उत्कृष्ट लेखकलाई सेनाको नाइके अथवा कुनै मोहल्लाको प्रमुख नै बनाइदिने गर्थे। पूर्वतिरका दरबारमा ‘नवरात्न’ को अवधारणा पुरस्कारकै मनोविज्ञानबाट त निर्देशित छ।

कुनै श्रष्टाले आफ्नो कठोर साधनापश्चात जन्मिाएको सिर्जनाले पुरास्कार पायो भने थप उत्साहित हुने सम्भावना सदैव रहन्छ। अर्को कुरा, ‘पुरस्कारका लागि लेख्नेहरू’ भनेर आरोपित गरिएकाहरू पाठकका लागि लेख्दैनन् भन्ने आशय पनि उपरोक्त अभिव्यक्तिमा निहित छ। यसले, पाठकका लागि नलेखिएका कृति, कुनै एउटा सामान्य प्रयोजनका लागि लेखिएका कृति पुरस्कृत हुनेमा पर्छन् भन्ने आशय प्रष्टिन्छ। त्यसले, पुरस्कारको महत्तामाथि प्रश्नचिह्न उठाउँछ, र पुरस्कारको गरिमालाई धुलिट्याम बनाउँछ। तर, यथार्थ त्यस्तो हुँदैन। हाम्रा पुरस्कारहरूको महत्ता उच्च छ। अर्थपूर्ण छन् ती पुरस्कारहरू र एउटा श्रष्टाको सामाजिक स्वीकृति र मानकीकरणमा निकै ठूलो प्रभाव राख्छन्। त्यसैले चर्चामा रहन्छन्। तर आश्चर्यको कुरा, गुठीसँगै सम्बन्धित व्यक्तिहरू पुरस्कार खासै महत्त्वपूर्ण होइन, पाठकले रुचाए पुग्छ भनेर दलिल दिन्छन्, र आफ्नै पुरस्कारको महत्ता घटाउँछन्। त्यो चाहिँ खेदपूर्ण कुरा हो।

कुनै पनि लेखक निष्काम हुँदैन। लेख्नु, छाप्नु र वितरण गर्नु आफैँमा एउटा प्रयोजन हो। यसमा लेखक आफ्नो सिर्जनामा आत्मविश्वासपूर्ण भएको, र त्यो आत्मविश्वास अरूसम्म पनि पुगोस् भन्ने लक्ष्य राखेकोले नै प्रकाशनमा जान्छ। प्रकाशन प्रक्रियाबाट समाजसँग सम्वाद गर्न गएको कृतिले न्याय खोज्नु कुनै पनि हिसाबले अनुचित हुँदैन। पुरस्कार पनि न्याय हो, र न्याय खोज्नुलाई ‘मगन्ते’ अथवा ‘लोभी’ भनेर भन्नु पुरस्कारकै गरिमा घटाउनु हो। अदालतमा न्यायका लागि जाँदा अदालतको गरिमा कहिले घटेको छ? र सडकमा, समुचित र न्यायपूर्ण अधिकारको माग गर्नेहरूलाई कसले ‘मगन्ते’ भन्ने आँट गरेका छ? आखिर, इतिहासका विभिन्न मोडमा हामी सबै, कुनै न कुनै दृष्टिले अधिकार ‘मागेरै’ यहाँसम्म आएका हौँ, र पाएका पनि हौँ। तर हामी मगन्ते हौँ — यो तर्क स्वीकार गर्न सकिन्न। आवाज उठाउने र वकालत गर्ने प्रजातान्त्रिक पद्धतिका पाटा हुन्। अँ, त्यस मागमा अथवा वकालतमा कुनै दम छैन भने, अथवा त्यो कृति निकृष्ट नै छ भने त्यो माग स्वतः खारेज हुन्छ। त्यो आम बहसको विषय बन्दैन र गुठीहरू स्पष्टीकरण दिन विवश हुँदैनन्।

पुरस्कारको स्थापनाका पछाडि सदैव केही मनोविज्ञानले काम गरेको हुन्छ। यसको एउटा दर्शन हुन्छ। समाजका सकारात्मक सोच भएका, कल्याणको भावना भएका, विचारले उदात्त व्यक्ति वा संस्थाले, सकारात्मक ऊर्जा संचारका लागि, राम्रो कामको प्रोत्साहनका लागि, र समाजमा प्रेरणाका पुञ्जहरूको पहिचान र स्थापनाका लागि पुरस्कारको व्यवस्था गरेका हुन्छन्। यस्तो उच्च दर्शनका साथ स्थापित आदर्शलाई छुने प्रयास गर्नु, यसबाट प्रेरित हुनु र यसलाई प्राप्त गर्ने अभिलशा राख्नु सर्वथा उचित कुरा हो। आखिर आफ्नो सिर्जना अब्बल नभएको, र आफैँमा आत्मविश्वास नभएको श्रष्टाले यो दावेदारी पनि गर्दैन। र यदि आफ्नो कृतिमा कुनै श्रष्टा पूर्णरूपेण विश्वास्त छ भने, उसले दावेदारी दिनु भनेको ‘माग्नु’ तुल्य होइन। सत्य यो हो कि पुरस्कार समितिमा बसेका निर्णायकहरू पनि यसै समाजका उपज हुन्छन्, र आम मान्छेका सामथ्र्य र सीमा लिएर आएका हुन्छन्। उनीहरू आग्रही हुन सम्भव छ, भावावेषमा आउनु पनि सम्भव छ, पूर्वाग्रहग्रसित हुनु पनि सम्भव छ, राजनैतिक चिन्तनले एकातिर ढल्कन पनि सम्भव छ। यस्तो बेला, समाजमा उनीहरूलाई खबरदारी गर्नका निमित्त केही आवाज उठे भने तिनीहरूलाई संवोधन गरिनुपर्छ। पुरस्कारका लागि ‘मगन्ते’ प्रवृत्ति देखाएको भनेर बडार्न मिल्दैन। त्यो गरियो भने यो एउटा ‘तार्किक भ्रम’ सिर्जना गर्ने उपक्रमबाहेक केही पनि हुनेछैन ।

चर्चा यो पनि उठ्योः पुरस्कार नपाएर के भो, पाठकको मनको पुरस्कार जितेकै छन् नि। यो एउटा सन्त्वना हो। उत्कृष्ट लेखको हकमा पुरस्कारको खासै महत्त्व छैन भन्ने पनि अर्थ यसले बोक्छ, जो अर्ध सत्य होला, पूर्ण सत्य होइन। पाठकहरू पुरस्कारलाई खासै महत्त्व दिँदैनन् भन्ने पनि सत्य होइन। आखिर पुरस्कार महत्त्वपूर्ण छैन भन्ने तिनै पाठक हुन्, जो पुरस्कृत किताब खोजी खोजी पढ्छन्। छनोटमै परेका पुस्तकको पनि चाङ् लाउँछन्, अथवा विदेशबाट मगाउनेहरूलाई यिनै किनेर पठाइदिन्छन्। त्यसैले, यी आत्मगत कुराहरूमा वस्तुनिष्ठ दृष्टिकोण हुँदैन।

यसपालि सबैभन्दा बढी चर्चा नवराज लम्सालको महाकाव्य ‘धरा’ को विषयमा भयो। यो पुस्तक नेपाली सभ्यताको मर्म, नेपाली समाज र संस्कृति र राष्ट्रिय एकताको पक्षमा आएको एउटा बलियो कृति हो भन्ने कुरा पुरस्कार गुठीसँग सम्बन्धित पदाधिकारीहरूले नै पनि स्वीकारे, र सामाजिक सञ्जालमै पनि लेखे। तर, कृति सूचीकृत नहुनका पछाडि एउटैमात्रै संभावित कारण रहेको अनुमान उनीहरूले गरे। र त्यो थियो, लम्सालले पुस्तकमा समेटेका पूर्वप्रधानमन्त्रीहरूका टिप्पणीहरू। समाजले अब्बल मानेका केही लेखक, स्वीकारेका केही चिन्तक र प्राध्यापकहरूलाई नै पनि मैले यसबारे सोधेँ। उनीहरूले पनि यही लख काटेः प्रधानमन्त्रीहरूको टिप्पणी। सिर्जनाको कथ्यपक्षमा भने चूँ बोलेनन्। गुठीहरूले पटकपटक स्पष्टीकरण दिँदै आएका छन् : छनोटको आधार सिर्जना नै हो। यहाँ कुरा बाझियो, र बुद्धिजीविहरूले गलत कुराको वकालत गरेर भ्रमको खेती गरे। समाजको तटस्थ दृष्टिकोणलाई यसरी नकारत्मक हिसाबले प्रभावित पार्नुहुँदैन बुद्धिजीविले। ‘धरा’ त एउटा दृष्टान्त हो। तर, यस्तै नजिर बस्दै गयो भने, र यसै गरी, कभर हेरेकै भरमा भ्रामक धारणा सञ्चारित हुँदै गयो भने समाजमा सकारात्मक कुराले प्रोत्साहन पाउँदैन। गाता हेरेर पुस्तकको मूल्य निर्धारण गनर्नू भन्ने त उखानै छ नि!

मेरो भनाइ ती बुद्धिजीविले पुरस्कारको निर्णय गरे होलान् भन्ने होइन। आखिर निर्णायक मण्डल गोप्य छ। तर तिनीहरूले अब्बल कृतिको विपक्षमा मत लिए र धारणा बनाए, र केही सुन्दर कृतिहरूमाथि अन्याय गरे। यो नेपाली साहित्यकै लागि एउटा खेदपूर्ण कुरा हो। उदाहरणका लागि, २०७३ सालमा छापिएका कृतिमा उत्कृष्ट १२ को सूचीमा ‘धरा’ महाकाव्य पर्दैन वा पारिँदैन भने हाम्रो पुरस्कारले कस्तो लेखनलाई प्रोत्साहित गरिरहेको छ? किताबमा कसको टिप्पणी छ भन्ने तर्कले निकै महत्त्वपूर्ण निर्णयलाई प्रभावित पार्न खोज्नु, अथवा पार्नु, दुर्भाग्यपूर्ण हो।

अनि यहाँ प्रश्नहरूको एउटा पिरामिड खडा भएको छ। प्रधानमन्त्रीहरूको टिप्पणीले गरिमा घटायो भन्ने बुद्धिजीविले राष्ट्रकवि माधव घिमिरे र वरिष्ट साहित्यकार डा. राजेन्द्र विमलको भूमिकाले गरिमा बढायो भन्न किन सकेनन्? कि देख्दै देखेनन्? मजस्तो ठिटोको भूमिकामा उहाँहरूका आँखा नपुर्नलाई त म कुनै आश्चर्यको कुरै मान्दिनँ। अर्को कुरा, पुरस्कृत हुनु वा तिरष्कृत हुनुपर्ने त सिर्जना हो। भूमिका त कसैले लेखे पनि हुन्छ। भूमिका अर्को संस्करणमा फाल्दिए पनि हुन्छ। फेरि, को हुन् त यी प्रधानमन्त्रीहरू? तमाम कमजोरीका वाबजूद यस देशलाई यहाँसम्म ल्याउने अभिभावक यिनै हुन्। हाम्रै मतले, हामीले नै कुर्सीमा पु¥याएका हौँ, र उनीहरूलाई खबरदारी गर्ने पनि हामीजस्तै बुद्धिजिबी भनाउँदाहरू पनि त हौँ। देशमा बस्नु, र देशकै सर्वोच्च कार्यकारी प्रमखुले कुनै एक काव्यमाथि दिएको टिप्पाण्ीलाई तिरस्कार गर्नु कहाँसम्म न्यायसङ्गत हो? एउटा राजनैतिक पूर्वाग्रहका कारणले एउटा अब्बल कृतिको विपाक्षमा मत बनाउनु एक बुद्धिजीवीको धर्म हो जस्तो मलाई लाग्दैन।

दृष्टिकोण पनि निरपेक्ष हुँदैनन्। भनियो, प्रधानमन्त्रीहरूको भूमिका ठीक भएन। त्यहीँ, यसरी पनि त तर्क गर्न सकिन्छ, कि प्रधानमन्त्रीहरू साहित्यप्रति असंवेदनशील भएको बेला कुना एउटा कविले उनीहरूलाई साहित्यप्रति उदार हुन बाध्य गरायो, पढायो एउटा काव्य, नागरिकको आँखामा कस्तो देखिन्छ देश, त्यो सुनायो, र उनीहरूको व्यवस्थाको कटु आलोचना गरिएको कुनै एक ग्रन्थ उनीहरूलाई नै वाचन गरेर सुन्न विवश तुल्यायो। साहित्य साहित्यको परिधिभित्रकै मान्छेमा सीमित भएको बखत उसले घेरा तोड्यो, राजनेतासम्म पु¥यायो, र परिधि बढायो। ‘नपढ्ने’ भनेर आम रूपमा आरोप खेपेका राजनेतालाई कमसेकम एउटा कृति ‘पढ्ने’ बनाएर छोड्यो। आखिर ‘प्रधानमन्त्रीहरू पढ्दैनन्’ भन्ने कुरो पनि प्रमाण नभएको, एउटा आत्मगत अनुमान हो। अनुमानै हो, ‘पढे होला’ भन्न चाहिँ किन नसकिएको होला? पढेनन् र नपढी लेखेर देशैलाई ढाँटे भने त्यो उनीहरूको दोष हो। त्यसमा श्रष्टाको प्रयास आलोचित हुनु एउटा दुर्घटना हो।

अरू पनि केही कुरा छन्। पुरस्कार अब्बल कृतिलाई दिइन्छ। यो सर्वमान्य सिद्धान्त हो पुरस्कारको। मदन पुरस्कार र पद्मश्रीको त घोािषत नीति नै हो। तर, कृति त एक निर्जीव कुरा हो। प्रेरित हुने, र प्रोत्साहित हुने छ त्यसको श्रष्टा हो। उसबाट भोलिका दिनमा थप सुन्दर सिर्जनाको अपेक्षा राखिएको हुन्छ र उसका कामबाट समाजमा सकारात्मकर प्रेरणा सञ्चारित होस् भन्ने अभीष्ट हो। उसको साहित्यक निरन्तरता पनि एउटा अहम विषय हो। तर, पुरस्कारका लागि कृतिको छनोट गर्दा, यसैसँग गाँसिएर आएका अन्य केही पक्षामा पनि नजर पु¥याउनु जरुरी देखिन्छ। हामीसँग उदाहरण छन्, केही पुरस्कृत लेखक समयको गर्तमा हराए, र इतिहास बने। केही पलायन भए, गए। केहीले बाटो मोडे, अन्यत्रै लागे। यी सबै दृष्टान्तमा पुरस्कारले थपेको अभिभारामाथि उनीहरूले कुठाराघात गरे, जिम्मेवारीलाई वेवास्ता गरे, अपेक्षालाई कुल्चिए। त्यसैले, कृतिलाई पुरस्कृत गरिरहँदा त्यस कृतिकारको विगत, उसको साहित्यप्रतिको समर्पण र लगाव, उसको साधना र तपस्या, र उसले समाजमा छरिरहेको सकारात्मक चेतनप्रवाहलाई पनि मस्तिष्कको कुनै न कुनै कुरामा राख्नु जरुरी देखिन्छ। आखिर, आफूले पुरस्कृत गरेको कृतिकारले, त्यसै क्षेत्रमा निरन्तर सकारात्मक योगदान गर्दै जाँदा पुरस्कार पनि आलोकित हुँदै जान्छ, आफैँ पुरस्कृत हुँदै जान्छ। कृति पुरस्कृत भएपछि कृतिकार लेखकवृत्तबाटै अल्पियो र अदृश्य भयो भने पुरस्कार गुठीलाई के मज्जा आउला? फेरि, सामयको भँगालोबाट फुत्त एकपल्ट सतहमा आउने, रातारात चर्चा कमाउने, पुरस्कृत हुने, र पुनः समयको गर्तमा हराउन पुग्ने लेखकले भोलि के दिन सक्छ समाजलाई ? यस कुराको अनुमान र आकलन पनि पुरस्कार गुठीहरूले गर्नु जरुरी देखिन्छ।

अन्त्यमा, यी विवादहरूबाट बच्न, र आफ्नो विश्वसनीयता अक्षुण्ण राख्न पुरस्कार गुठीसँग केही उपाय छन्। पहिलो, कुनै प्रकाशन गृहसँग नजिकको सम्बन्ध राख्ने बुद्धिजीवीसँग राय माग्नै हुँदैन। दोस्रो, कुनै पनि कृति बजारमा आएपछि त्यसमाथि आम पाठकको धारणा पनि बन्दै जान्छ। त्यस धारणाको आकलन पनि गर्न सक्नुपर्दछ। आम पाठकीय अपेक्षा, र छनोट समितिको रोजाइमा ठूलो भिन्नता आयो भने विवाद उत्पन्न हुन्छ। आखिर, कुनै पनि किताब पढेर एउटा आम धारणा बनाउने पाठकलाई हामीले केही नजान्ने, तर आफ्नै समितिकाचाहिँ सबै जान्ने भनेर धारणा बनायौँ भने कृति कसका लागि? प्रोत्साहन केका लागि?

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.