कटन क्यान्डीजस्तो ‘प्रेमगीत २’

कटन क्यान्डीजस्तो ‘प्रेमगीत २’


फिल्म निर्देशक/निर्माताहरू प्रचार क्रममा कथा र विषयलाई जति जोडदार ढंगले प्रस्तुत गर्छन्, फिल्म भने उल्टो दिशामा हिँडेको हुन सक्छ। कति निर्देशकले त कथा–विषयको यो उल्टो दिशा भेउसमेत पाउँदैनन्।

प्रेमगीत–२ यस्तै फिल्मको एउटा उदाहरण हो। निर्देशकको स्पष्ट दृष्टिकोणबिनै तयार भएको फिल्म।

फिल्म सुरु हुन्छ, बर्मेली नेपालीको वीरताको बखान गर्ने भाषणबाट। बोजु (हजुरआमा) बाट सुन्दै आएको नेपालको बयान र बर्मेली नेपालीको वीरताको बखान गरिएको भाषणले एक बर्मेली युवती गीतमा नेपालप्रति अत्यधिक मोह पलाउँछ। बिहेपछि मुगुको मुर्मा गाउँबाट म्यानमार पुगेकी हजुरआमाले नेपालबारे बेला–बेला अनेक बताइरहेकी हुन्थिन्। दोस्रो विश्वयुद्धमा बर्मेली नेपालीले देखाएको ‘वीरता’ को भाषणले उनलाई नेपाल जान उक्साउँछ। सानैमा बाबुआमा गुमाएकी गीतका काका र हजुरआमाले नेपाल जान अनुमति भने दिँदैनन्। उनी चिठी लेखेर भाग्छिन् र नेपाल आउँछिन्।

भतिजी नेपाल गएको थाहा पाएपछि थाइल्यान्डमा व्यवसाय गर्दै आएका उनका काकाले चिनजानका नेपाली व्यवसायी विनोदलाई सम्पर्क गरेर गीतलाई नेपाल घुम्न सहयोग गरिदिन अनुरोध गर्छन्। गीतलाई घुमाइदिने बाध्यता आइपर्छ, प्रेमको।

बाबुको व्यवसायबाट कहिल्यै फुर्सद नपाउने प्रेमले बल्लतल्ल साथीहरूसँग घुम्ने मौका पाएका हुन्छन्। तर, उनी गीतलाई घुमाइदिने बाध्यतामा फस्छन्। उम्किन खोज्छन्, सक्दैनन्। आफ्ना साथीसँगै गीतलाई लिएर पोखरा जान्छन्। लुम्बिनी पुग्छन्। गीतको अनुरोधमा रारा पुग्छन्। गीतकै अनुरोधमा उनकी हजुरआमाको जन्मथलो मुगुको मुर्मा पुग्छन्। यही यात्राका बीच हुन्छ, मित्रता र प्रेमका कुरा। तर, यी दुईबीच प्रेम अंकुराएको संकेत मात्र मिल्छ। मौलाउन भने पाउँदैन।

जब गीत थाइल्यान्ड फर्किन्छिन्, प्रेममा गीतप्रति प्रेम जाग्छ। लिफ्टमा अड्किएपछि गीतलाई एयरपोर्टमा विदाइ गर्न जान नपाउँदाको खड्को पनि छ प्रेममा। रारा यात्राका क्रममा प्रेमको फेसबुक एकाउन्टबाट गीत आफैंले जबर्जस्ती ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएकी हुन्छिन्। तर, थाइल्यान्ड फर्किएपछि न उनले प्रेमलाई सम्पर्क गर्छिन्, न प्रेमको म्यासेज नै रिप्लाई दिन्छिन्।

यसपछि तातिन्छन् प्रेम। गीतलाई भेट्न थाइल्यान्ड पुग्छन्। सजिलै गीतलाई भेट्न सक्दैनन्। भेटेपछि पनि सजिलै पाउन सक्दैनन्।

प्रेमले गीतलाई पाउन केसम्म गर्लान् त?

प्रेमगीतमा मोड दिने अधिकांश घटना ‘क्लिसे’ छन्। नौलो लाग्छ त, नेपाली फिल्ममा खासै नछोइएको बर्मेली र नेपालीबीचको प्रेमसम्बन्ध।

फिल्मको मध्यान्तरसम्म यात्राले समय लिएको छ। मध्यान्तरपछि प्रेमले गीतलाई पाउन गरेको संघर्ष। मध्यान्तरअघि र पछिको घटनाबीच कसिलो सम्बन्ध छैन।

फिल्म वीरता र राष्ट्रियतालाई लिएर सुरु भए पनि कथा बग्छ अन्तैतिर। गीत नेपाल आइसकेपछि भुइँ छुनु, बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै खुसीले उफ्रिनु, हजुरआमाको जन्मथलो पुग्दा झोलामा माटो भर्नुजस्ता कुराले पटकथाकारसमेत रहेका निर्देशकको राष्ट्रियताप्रतिको खोक्रो बुझाई दर्शाउँछ।

आफ्नो पुर्खाको देशको मायाको नाममा माटोलाई बिम्ब बनाएर निर्देशकले बर्मेली नेपालीको राष्ट्रियतालाई लिएर हलुको धारणा पेस गरेका छन्। राष्ट्रियताजस्तो गम्भीर विषयलाई माटोमा सीमित गरिदिएका छन्। माटो, रगत, बलिदानीजस्ता शब्द सबै राष्ट्रियताका बनिबनाऊ र परम्परागत मान्यताका उपज हुन्। निर्देशकले राष्ट्रियताको फराकिलो धारणा राख्नु त परको कुरा, भित्रसमेत नछिरी यतिमै दगुर्छन्।

फिल्मको मध्यान्तरअघि यात्रा छ। यस्तो यात्रा, जहाँ निर्देशकले ‘रमणीय ठाउँ’ देखाउन मात्र ध्यान दिएका छन्। पटकथा बाँझो जोतेको बारीमा एकसरो डल्लेठो दौडाएजस्तो सतहमा चिल्लो बनाउँदै दौडिन्छ मात्र। भित्र पस्दैन। सबैभन्दा वाहियात दृश्य त के छ भने गीतलाई लिन एयरपोर्ट पुगेका प्रेमले ट्याक्सीमा गीतलाई देख्दा आफूले चलाइरहेको गाडी नै सडकमा छाडेर पैदलै ट्याक्सी पछ्याउँछ। हँसाउने नाममा राखिने यस्ता दृश्य उट्पट्याङ हो।

मध्यान्तरअघि मुख्य द्वन्द्व नै स्पष्ट छैन। निर्देशकलाई यत्ति थाहा हुन्छ– पात्रलाई त्यो ठाउँमा पुर्याएर त्यो संवाद बोल्न लगाउनुपर्छ, पृष्ठभूमिमा रमाइलो लाग्ने लोकेसन खिच्नुपर्छ। कुनै गन्तव्यमा पुग्न वा केही पाउन पात्रले कुनै संघर्ष नै गर्दैन। निर्देशकले पात्रलाई पछ्याएका हैनन्, ‘क्यामराअगाडि आऊ र अभिनय गर’ भनेजस्तो लाग्छ। यात्राको रोमाञ्चकता के हो, चुनौती के हो? वर्षौंदेखि कल्पना गरिरहेको नेपाल देख्दा म्यानमारकी युवतीले बनाउने नेपालप्रतिको धारणा कस्तो हुन्छ? ऊ के कुरामा रमाउँछिन्, के कुरामा दुःख लाग्छ? राम्रो या नराम्रो देख्दा आफ्नो ठाउँसँग तुलना पो गर्थिन् कि!

उता प्रेमले पनि बाध्यतामै भए पनि बाबुको व्यवसायबाट छुट्टी पाएको छ। घुम्ने रहर र घुमाउनुपर्ने बाध्यताबीच हुने यात्रालाई उसले कसरी लिन्छ? निर्देशकले पात्रको भित्री संवेदना खिच्नुपर्ने जरुरी नै ठानेनन्। फिल्ममा पात्रहरुको यात्रा यति सहज छ, भनेको बेला टुप्लुक्कै पुगिदिन्छन्। खोजेको कुरा पाउन कुनै अप्ठ्यारो पर्दैन।

मुर्मा पुगेपछि गीतले हजुरआमालाई फोन गर्छिन्। फोनमा हजुरआमाले बच्चा छँदा रुखको टोड्कोमा कल्ली लुकाएको र खोजेर ल्याउन नातिनीलाई अह्राउँछन्। दुई पात्रले यति सजिलै त्यो कल्ली भेट्छन्, मानौं उनीहरूलाई पहिल्यै थाहा थियो। सानो छेस्कोको भरमा वर्षौंअघि राखिएको कल्ली फुत्त बाहिर निस्कन्छ। त्यो पनि टलक्क टल्केको। त्यही कल्ली पछि हजुरआमाको हातमा देखाउँदा कालो बनाएर देखाइन्छ।

गीतले मुर्मामा दुःख रहेको सुनाउँछिन्। तर, दुःख त संवादमा मात्रै। डोकोमा बिरामी बोकेको देखाएर मात्र मुगुको दुःख चित्रण हुन्छ र? निर्देशकले मुगुको विशेषता चिलले हेरेजस्तो गरी पनि देखाउने चेष्टा गर्दैनन्। निर्देशक त नीला ताल र सेतै टल्किएका हिमाल देखाउनै मग्न छन्।

म्यानमारदेखि आएको पात्रले वर्षौंदेखि सपना साँचेको नेपाल घुम्दा के पाउँछ? हजुरआमाले भनेजस्तो मानिसको आतिथ्य, मिलनसार मानिस मात्रै छन् नेपालमा?

फिल्म ‘प्रेमगीत–२’ को प्रोलगले भन्छ– रिडिफाइनिङ अफ लभ (प्रेमको पुनः परिभाषा)। निर्देशकले के देखाए र त्यस्तो, जसले प्रेमलाई नै पुनःपरिभाषित गरायो?

फिल्मले देखाउँछ, दुई युवा–युवतीको प्रेम। प्रेमले प्रवेश पाउँछ त बल्ल मध्यान्तरपछि। मध्यान्तरपछि गीतलाई पाउन प्रेमले जुन संघर्ष गर्छ मध्यान्तरअघि त्यसको जग निकै कमजोर छ। यात्रामा जाँदा केही सामान्य घटनाले दुईबीच प्रेम अंकुराउने संकेत मात्र छ। गीतलाई पाउन थाइल्यान्ड नै धाउनुपर्ने कसिलो कारण मध्यान्तरअघि छैन।

जब प्रेमलाई उसका साथीहरूले गीतले मन पराउने बताउँछन्, ऊ आफैंलाई पनि प्रेमको महसुस हुन थाल्छ। त्यसपछि ऊ पुग्छ थाइल्यान्ड, जहाँ गीत आफ्नो काकासँग पढ्न बसेकी छन्। गीतलाई भेट्न प्रेमले जुन संघर्ष गर्छन्, त्यहाँ चुनौतीका लागि मात्र चुनौती राखिएको छ। बादलमुनि लुकाएको हिरा बादलमुनि नै खोजेजस्तो। प्रविधिको जमाना छ, गीतले आफ्नो घरको ठेगाना दिएकी छिन्, थाइल्यान्ड–म्यानमारसम्मका व्यापारीसँग पहुँच भएका बाबु छन्, गीतसँग भेट्नकै लागि त्यत्तिको कसरत आवश्यक छ? बाबुको पसलको स्टक सामान बेच्न अनेक आइडिया लगाउने प्रेमले गीतलाई भेट्न गतिलो आइडिया जन्माउन किन सक्दैन?

मध्यान्तरपछि पनि गीतलाई अवहेलना गरेका छन्, निर्देशकले। यता नेपालमा जुन हालतमा युवक प्रेमका लागि तड्पिरहेको छ, के उता गीतचाहिँ सजिलै दिन बिताइरहेकी हुन्छिन्? महिलाको कोणबाट देखाउनुपर्ने आवश्यकता नै महसुस गर्दैनन् निर्देशकले।

मध्यान्तरपछि फिल्मका दुई पक्ष सबल छन्। पहिलो– सामान्यीकरणका सवालमा। र, दोस्रो– क्लाइमेक्स द्वन्द्व।

गीत नेपाल आएदेखि नै एउटा व्यक्तिले उसलाई पछ्याइरहेको हुन्छ। त्यसको कारण थाइल्यान्ड गएपछि मात्र खुल्छ। अंगद नामको पात्रले गीतले नेपाली युवकसँग बिहे नगरून् भनेर प्रेमलाई बदनाम गर्ने योजना बुनेका हुन्छन्। गीतलाई घुमाउने बाध्यता टार्न प्रेमले आफू खराब प्रवृत्तिको देखिन जुन अभिनय गरेका थिए, त्यसैले उनलाई पछि अप्ठ्यारो पार्छ। गीतको काकालाई अरू युवतीसँग लागेको तस्बिर देखाएर अंगदले आफ्नो स्वार्थ पूरा गर्न खोज्छ।

अंगदको प्रवेशपछि बरालिएको कथाले एउटा सानो गोरेटो भेट्छ। अंगद पात्र एउटा आमप्रवृत्ति हो, जसले दुई–चार घटनाका आधारमा कुनै जात, धर्म, लिंग र भूगोल विशेषलाई एउटै भाँडोमा घोल्छन्। अंगद ‘सबै नेपाली युवा फटाहा हुन्’ भन्ने एउटा पात्र हो। सामान्यीकरण गरिने यो आमप्रवृत्ति हो।

थाइल्यान्ड गएका नेपाली युवाले बर्मेली युवतीसँग बिहे गरिवरी धोका दिएको उदाहरणलाई लिएर अंगद खलचरित्रमा प्रस्तुत हुन्छ। अंगद आफैं एउटा उदाहरण हो। प्रेम उही अंगदको सिकारमा पर्छ। गीतलाई पाउन प्रेममा कुस्तिबाज अंगदलाई हराउनेसम्मको अठोट पलाउँछ।

प्रेमले मार्सल आर्टसमा जुन संघर्ष गर्छ, त्यो त्यति विश्वसनीय लाग्दैन। यहाँ निर्देशकले प्रेमबाट चुनौतिपूर्ण काम लिन सक्थे। अंगदजस्तो व्यावसायिक कुस्तिबाजसँग रिङमा ओर्लिन प्रेमलाई जुनखाले तयारी चाहिन्थ्यो, दृश्यमा त्यो देखिँदैन।

रिङको दृश्य फिल्मभरीकै दमदार मान्न सकिन्छ। यो पनि त्यति चुस्त भने छैन। कुस्तीको गति सलल छैन, झ्यापझ्याप काटेर देखाइएको छ। सिधै हानाहान नदेखाएर, हानाहानअघि दुई पात्रबीच केही न केही देखाएको भए राम्रो हुन सक्थ्यो। यो दृश्यको उद्देश्य एउटा कुस्तिबाजले अर्को कुस्तिबाजलाई हराउने हैन, परम्परागत सोचमाथिको प्रहार हो। जसमध्ये एउटा प्रेमको विरुद्धमा छ, अर्को प्रेम प्राप्तिका लागि सकी–नसकी लडिरहेको छ।

फिल्मको अन्तिम दृश्य प्रशंसनीय छ।

व्यावसायिक कुस्तिबाजसँग भिडेको प्रेम मुक्कैमुक्का खाएर ढलेको छ। हड्डी फुटेको छ। तै पनि, ऊ सकी–नसकी उठ्छ र लड्न विपक्षीलाई आफूतिर बोलाउँछ। अक्सर नेपाली र हिन्दी फिल्ममा यस्तो ठाउँमा ‘हिरो’ र ‘भिलेन’ खडा गरेर हिरोले जितेको देखाइन्थ्यो। यहाँ भिलेन बनेका अंगदले कुस्ती जित्दाजित्दै घुँडा टेक्छन् र सहानुभूति पाउँछन्। बजारलाई ध्यानमा राखेर बनाइने पहिले–पहिलेका फिल्मजस्तो कोही व्यक्ति ‘दानव’ र कोही सर्वगुणसम्पन्न भन्ने धारणालाई प्रेमगीतले अस्वीकार गर्छ। यो फिल्मको प्रशंसनीय पक्ष हो।

‘प्रोलग’ले भनेजस्तो प्रेमको पुनव्र्याख्या कतैबाट हुँदैन। अभिनयको कुरा गर्दा अंगद बनेका सन्तोष सेन आफ्नो चरित्रमा फिट छन्। संवादमा भन्नेबाहेक उनी म्यानमारका युवक हुन् भन्ने कतैबाट लाग्दैनन्। लवजमा मात्र मेहनत गरेको भए पनि स्याबासी पाउन सक्थे।

प्रेम अर्थात् प्रदीप खड्काको संवाद र अनुहारको हाउभाउमा तारतम्य छैन। उनले केही नयाँ गर्न खोजेजस्तो त देखिन्छ, तर मेहनत झल्किँदैन।

यसै फिल्मबाट डेब्यु गरेकी अश्लेषा ठकुरी यहाँ सबैभन्दा कमजोर लाग्छिन्। मुख नखोल्दासम्म ठिकै, संवाद बोल्न लाग्यो कि अनुहारमा भाव र संवाद दुवैमा चिप्लिन्छिन्। म्यानमारकी युवतीको भूमिकामा उनले आफूलाई जति खुलाउनुपथ्र्यो, मेहनत फिटिक्कै देखिँदैन।

संगीत आनन्ददायक नै छन्। छायाँकार र निर्देशकले जसरी रमणीय स्थानलाई कैद गरेका छन्, धेरै ठाउँमा पात्रको मनस्थितिसँग ती दृश्यको कुनै तालमेल हुँदैन। सेता हिमाल, सहरको झिलिमिली रातका दृश्य ‘सुन्दर लोकेसन’ देखाउनकै लागि राखिएका छन्। यसलाई सम्पादकले काट्नुपथ्र्यो। जे होस्, लोकेसनअनुसारको खिचाइमा मेहनत देखिन्छ। ठूलो पर्दामा चम्किलो दृश्य हेर्दा एक हिसाबको आनन्द आँखालाई मिल्छ नै।

निर्देशकको कुरा गर्दा लेखकसमेत रहेका रामशरण पाठकले कतिपय ठाउँमा संवेदनासँग खेल्न खोजेका छन्। तर, विफल छन्। मुख्यगरी नातिनीसँग नेपालबारे हजुरआमाले गर्ने संवाद, प्रेमले गीत भेट्दाको बेला, अंगदको धम्कीपछि प्रेम र गीतबीचको दृश्य, रिङमा ओर्लिनुअघि प्रेम र गीतबीचको दृश्यलाई मनछुने बनाउन निर्देशक असफल छन्। गीत बुद्धको जन्मभूमि पुग्दा र फेसबुकमा साथी बन्न आफैं मोबाइल खोसेपछि उत्साहित हुने दृश्य निकै बिझाउँछ। यहाँ निर्देशक र अभिनेत्रीको उत्तिकै कमजोरी देखिन्छ।

माथि नै भनियो, निर्देशकको अस्पष्ट दृष्टिकोणको उपज हो यो फिल्म। न राष्ट्रियताको गतिलो परिभाषा भेटिन्छ, न प्रेमको पुनव्र्याख्या। माटो, रगत, बलिदानीजस्ता शब्दको सहाराले दर्शक भुल्याउने कोसिस गरेका छन्। प्रेमको कुरा गर्दा बलियो जगबिनै घर ठड्याएर कुस्ती भिडाएका छन्।

यो फिल्मलाई ‘कटन क्यान्डी’ सँग तुलना गर्न सकिन्छ, जुन हेर्दा त आकर्षक देखिन्छ, तर मुखमा हाल्दा एकैछिनमा बिलाउँछ! रोएको बच्चालाई फुल्याउनुपरे कटन क्यान्डी दिए फुलिन सक्छन्, यसले पनि हेरुन्जेल त आनन्द दिन्छ नै। तर, तर्क गर्न मनाही छ!

जे होस्, निर्देशकलाई एउटा कुरामा भने धन्यवाद दिनैपर्छ– उनले अन्तरदेशीय सम्बन्धमा फिल्म बनाए! जसले फिल्म बजारीकरणमा केही न केही भूमिका त खेल्ला नै!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.