एन्टिगोनी: ताजा बनाउने नाटक


केही समयअगाडि कान्तिपुर दैनिकमा पत्रकार होम कार्कीले विदेशमा बस्ने नेपालीको लासमाथि कसरी राजनीति हुन्छ भन्ने लेखेका थिए। विदेशमा कसैको मृत्यु भएपछि त्यो लासलाई नेपाल ल्याएको ‘क्रेडिट’ लिन तँछाड-मछाड गरेका संस्थाहरूप्रति लक्षित गरिएको थियो त्यो लेख।
पढेर छक्क परेको थिएँ म।

कसैको जीवन गुमेको कुरामा पनि कसरी मजाक गर्न सक्छ मान्छे? त्यो के कारण हुन्छ, जसले उसलाई विकेकशून्य बनाउँछ?

कसैको लासमाथि राजनीति हुनु साह्रै दर्दनाक कुरा हो। मरेपछि बाँच्नेहरूको समयसँग कुनै ‘कनेक्सन’ नहुँदो हो लासको। त्यसैले पनि हामी मरेको मान्छेहरूलाई गाली गर्दैनौं।

सोफोक्लिजले लेखेको एन्टिगोनी नाटक अहिले मण्डला थिएटरमा चलिरहेको छ। यो ग्रीसमा लेखिएको नाटक हो। आपसमा जुधेर मरेका आफ्ना दाजुहरूमध्ये राजा क्रियोनले एकजनाको लासलाई अन्तिम संस्कार गरेको तर अर्कोलाई अन्तिम संस्कार गर्न नदिएपछि त्यसमा एक बहिनीले गरेको विद्रोहमा यो नाटक अडिएको छ। एन्टिगोनी केवल बहिनी मात्र नभएर एक आदेश वा भनौं कानुनको विपक्षमा उभिएकी एक हृदयको रूपमा कथामा उभिएकी छे।

लासलाई जिउँदो मानिसको कानुन लगाइनुहुँदैन।

केही समयअगाडि न्यु योर्क टाइम्समा एक परिवारको फोटो छापिएको थियो। त्यो बुवाआमाको तस्बिर थियो जसको छोरीलाई मुस्लिम धर्मको इज्जत नगरेको भनेर समुदायले हत्या गरेर उनीहरूले नदेखिकनै अन्तिम काजकिरिया गरेको थियो। उनीहरूको छेउमा केही थान पुराना मोबाइल फोन लडिरहेका थिए। कहिल्यै फोन नआउने मोबाइल। उनीहरूको अनुहार ओस्सिएको थियो। आँखा भिजेका थिए।

ओस्सिएपछि अनुहारबाट कुनै टुक्रा खुसी निस्किएर भाग्छ। खुसी जसको पनि भाग्न सक्छ। भागेको खुसीमा पनि सानो सानो टुक्रा खुसी खोजिन्छ। त्यसैले त हराएको मान्छे जिउँदो हो कि हैन भन्ने कुरा थाहा पाउन खुबै जोड गरिन्छ। मरेको लासलाई परिवारसम्म पुर्याउनलाई हरसम्भव प्रयास गरिन्छ।

यसबाट परिवारलाई विमुख गरियो भने के हुन्छ?

एन्टिगोनीले मानवीयताको एउटा पाटोलाई खोतलेकी छन्। कानुन के हो र कानुनको सीमा कति हो? बहस गरेकी छन्। उनको बहसमा अरू पात्रहरू फरक-फरक तरिकाले प्रस्तुत भएका छन्।

कुनै एक निर्णयको जहिल्यै पनि दुइटा पाटा हुन्छन्। जसरी मानव संवेदनाका पनि दुई पाटा हुन्छन्- दिमाग र मन। दिमागले निर्णय गर्ने बेला मनको संवेदनालाई समेट्न सकेन भने त्यो निर्णय गलत सावित हुन्छ।

राजा क्रियोनको निर्णय पनि नाटकमा असफल सावित हुन्छ। एन्टिगोनी जसले मनलाई सुनेर निर्णय गर्छिन् ले दिमागले लिएको निर्णय गलत सावित गरिदिन्छिन्। यसअर्थमा नाटक एन्टिगोनीले दृश्यमा उठाएका पक्षहरूले सबै विधालाई छुने हैसियत राख्छन्। ती स्टेजभन्दा धेरै परसम्म पुगेका छन्।

नाटकको सबैभन्दा सबल पक्ष यसले कोरसलाई न्याय गरेको छ। प्राचिन ग्रिसेली नाटकहरूमा कोरसको प्रयोग धेरै हुन्थ्यो। कथालाई अगाडि बढाउन तथा पात्रहरूलाई स्थापित गर्न कोरसले धेरै भूमिका खेल्थे। यो नाटकमा पनि कोरसले त्यसै गर्छन् तर त्यसमा सुन्दरता छ। कोरसलाई कथा बताउने मात्र नभई कथामा रियाक्ट गर्न लगाइएको छ। उनीहरू कुनै न कुनै रूपमा सहभागी भएका छन्।

अहिलेको सन्दर्भमा कोरसलाई साधारण जनता र नागरिक समाजसँग तुलना गरेर हेर्न सकिन्छ। उनीहरू लाचारीको पर्दाभित्र लुकेका छन्। जे हुँदैछ गलत हुँदैछ भन्ने थाहा भएर पनि बोल्न सक्दैनन्।

नाटकको एक शक्तिशाली दृश्य छ, जसमा पहिला बाबुलाई साथ दिने भनिएको राजकुमारले मन परिवर्तन गरेर एन्टिगोनीको पक्ष लिन्छ। त्यो दृश्यलाई कलात्मक तरिकाले देखाइएको छ। राजकुमारलाई कोरसले बोकेर तल-माथि गराएको दृश्यले गहिरो अर्थ राख्छ। आफूले राजालाई बताउन खोजेको कुरा राजकुरमारले भनिदिएको व्यक्त भएको खुसीजस्तो। कोरस नाटकभरमा सबैभन्दा आशावादी त्यसैबेला देखिन्छन्।
नाटकले कानुन र भावनात्मक सम्बन्धहरूको पाटोलाई खोतलेको छ। यदि जनताको भावनालाई कदर गर्ने कानुन हुन सकेन भने त्यो कानुन पालना हुन्न। एन्टिगोनी पात्रले कानुनलाई बहिस्कार गर्नुको कारण पनि त्यही हो।

बिम्बसँग खेल्न नाटक सबल छ। ग्रिसेली नाटकमा सबैभन्दा महत्त्वपूर्ण बिम्ब हो। टेरेसिया पात्र। उसको दृष्टि छैन तर दृष्टि भएको समाजलाई भविष्य बताउँदै हिँड्छ। उसको प्रस्तुतिले सबै मानव सभ्यतालाई नै प्रश्न गर्छ ‘देखेर पनि किन देख्दैनौ तिमीहरू? सुनेर पनि किन सुन्दैनौ तिमीहरू?’

विवेक हराएपछि मान्छे कसरी आफूले गरेको कर्मले ल्याउने परिणाम देख्न सक्दैन भन्ने कुरा उसले बताउँछ। ऊ वर्तमान देख्दैन तर भविष्य देख्छ। हामी वर्तमान देख्छौं तर भविष्य देख्दैनौं। टेरेसिया पात्रले भविष्य देखाएर हाम्रो कमजोरीलाई सुधार्न खोज्छ तर राजाले उसैलाई उल्टै गाली गरेर पठाइदिन्छ। यो विडम्बना प्राचिन ग्रिसदेखि अहिलेसम्म बाँचिरहेको छ।

टेरेसिया फर्किनु एउटा दृष्टि वा उज्यालो फर्किनु हो। दृष्टिलाई फर्काउनेहरू आफैं दृष्टिबिहिन हुन्। र त्यसलाई देख्न लाचार केही कोरसहरू जोसँग भएको हेर्नुबाहेक कुनै उपाय छैन। उनीहरू र दृष्टिबिहिनमा के फरक छ?

नाटकले यो प्रश्न अप्रतक्ष रूपमा हामीलाई पनि सोध्छ। आफ्नै घरअगाडि कमसल बाटो बनेको हेरिरहने वा आफ्नै आँखाअगाडि भ्रष्टाचार भएको हेरिरहने हामी र नाटकको कोरसमा के फरक छ? हामी क्रियोनजस्तै राजाहरूले शासित भएका छौं, जोसँग सरकार बनाउने र ढलाउने दिमाग छ तर भूकम्प पीडितहरूको घर बनाउने मन छैन। डा. केसी जस्तै एन्टिगोनीहरूले गरेको विद्रोह देखिरहेका छौं तर उनको पक्षमा खुलेर बोल्ने तागत छैन। कोरस जस्तो टुलुटुलु बसिरहन बाध्य छौं।

सायद यसैले पनि राजन खतिवडाले भनेका हुन्, ‘आदिम कालखण्डमा लेखिएको ग्रिसेली नाटकले उठाएको गम्भीर विषय¸ भावना¸ जीवन र विचारहरू धेरै हाम्रो ठाँउका जस्तो लाग्छन्।’ उनको यो प्रयास नाटक हेर्दा सफल भएजस्तो लाग्छ।

उज्यालो र आँखाको प्रतिबिम्ब सुन्दर छ। पात्रहरूले चारवटा दियोमा उज्यालो ल्याएर भित्तामा झुण्ड्याउँछन्। टाइरिसियसले भन्छ- मेरो ४ वट आँखा छन्। दुईवटा फुटे तर दुईवटाले देख्छु। उसले भन्न खोजेको यो हो कि ‘तिमीहरूसँग त दुइटै सग्ला आँखा छन्। कम्तिमा एउटा आँखा त खोल्ने चेष्टा गर।’

नाटकमा केही पात्रहरूमा ट्रान्सफर्मेसन देखिएको छ। त्यो ट्रान्सफर्मेसन कसैको दिमागबाट मनमा भएको छ त कसैको मनबाट दिमागमा। कसैको दुईबीचमै अन्तर्द्वन्द्व पनि छ। यस्तो अन्तर्द्वन्द्व सामान्य कुरा पनि हो तर नाटकमा यसले विशेष अर्थ राख्छ। यदि आफ्नो वरपरमा कसैले कुनै विषयमा फरक सोचिरहेको छ भने त्यसको कारण केही छ कि भनेर सोच्नुपर्ने सन्देश नाटकले दिएको छ। किनकि फरक विचार राख्नुको पनि कारण हुन्छ। नाटकमा हेमन¸ एन्टिगोनी¸ इस्मेनी जस्ता पात्रहरू आफ्नो पुरानो धार छोडेर हिँडिसक्दा पनि राजाले छोड्न सक्दैनन्। जब छोड्छन् तब ढिलो भइसकेको हुन्छ।

विभिन्न सामाजिक सञ्जालहरूमा फरक विचार राख्नेहरूप्रति लक्षित गरेर लेखिएका कमेन्टहरू पढ्यो भने नाटकले उठाएको विषयको गहिराइ थाहा हुन्छ। हामी सबैभित्र क्रियोन राजा भएको आभास हुन्छ। नत्र आफ्नो बोली र त्यसले आफूलाई चिनाउने विषयमा हामी किन गम्भीर भएर सोच्दैनौं?

पात्रहरू गतिशील छन्। हेमनले त्यसै भनेको हैन, समयअनुसार गतिशील हुन नसक्ने सबै बिलाएर जान्छ्न्। बाढी आएको बेला रूख अहङ्कारले उभिने भएर ढल्छ तर दुबो सुतिदिन्छन्!

परिस्थिति हेरेर रूख र दुबो हुनुपर्छ भन्ने सन्देश नाटकमा छ। तर अवस्था यो छ कि समाजमा हेमन र एन्टिगोनीले दुईतिर तान्दा गाँठो परेजस्तै सामाजिक चेतनामा बेलाबेला गाँठो परिरहन्छ। त्यो गाँठो खोल्नलाई ठुलै कुरा गुम्नुपर्ने अवस्था छ, जसरी नाटकभरमा धेरै कुराहरू गुम्छन्।
भारतीय फिल्म हाइवेको एउटा दृश्य सम्झिरहेको छु। त्यसको संवाद यस्तो छ:

केटीले सोध्छे- गोली चलेपछि अगाडीको मान्छे मर्छ?

केटाले जवाफ दिन्छ- गोली लाग्ने मात्र हैन, चलाउने पनि मर्छ।

यहाँ पनि क्रियोनले एउटा लासमाथि कानुन लाद्न खोजेर आफैं ध्वस्त भएको छ। यो यथार्थलाई हामी सबैले मनन गरौं भन्ने नाटकको आशय छ।
त्यसैले त कोरसकी प्रमुख कोरागस नाटकको अन्तिममा सबैलाई सावधान गराउँछिन्, ‘सावधान! आफैंले चालेको चाल उल्टो पारिदेला।’
यति सबल पक्षहरूको कुरा गरिरहँदा कमजोरीहरूलाई बिर्सिनु हुँदैन।

अनुवाद कमजोर छ। भाषामा सहजता देखिँदैन। त्यसको असर पात्रहरूको संवादमा परेको छ। उनीहरूले भाषालाई बगाउन सकेका छैनन्। वास्तविक रूपमा ‘पोयट्री फर्म’मा लेखिएको भएकाले पनि त्यो ‘प्रोज फर्म’मा आँउदा यस्तो भएको हुनसक्छ। यो खतरा हरेक अनुवादहरूमा हुनेगर्छ।

पात्रहरूको भूमिका राम्रो छ तर कोरस जत्तिको अभिनय सबै पात्रहरूले पुर्‍याउन सकेका छैनन्। धेरै पात्रहरूको डायलग डेलिभरीमा समस्या भएको जस्तो लाग्छ। ‘पिच’मा धेरै उतारचढाव देखिन्छ। पात्रको बोली र हरेक शब्द शान्त भइरहेका दर्शकहरूको मनसम्म पुग्ने भएकाले कतिपय उतारचढावले दर्शकलाई नै डिस्टर्ब गरेको भान हुन्छ।

लेखनमा एन्टिगोनी जुन रूपमा सशक्त पात्र थिइन् त्यो पात्र एन्टिगोनीको अभिनय गरेकी सिर्जना सुब्बामा खुल्दैन। बरु कोरागसको भूमिकामा पशुपती राई गज्जबले जमेकी छन्। पात्रको लागि कलाकार छनौट गर्दा पनि अलिक ध्यान पुर्‍याउन सकिन्थ्यो होला। सिर्जना सुब्बाको नाटक हेरेका नियमित दर्शकहरूलाई उनी खासै नौलो लाग्दिनन्। युमामा जति शक्तिशाली देखिएकी थिइन् त्यति पनि लाग्दिनन् यसमा। उनको बोली पनि सपाट छ।

मलाई लाग्छ- नाटकमा जब राजाले एन्टिगोनी दोषी भन्ने थाहा पाँउछन् र छोरी यस्तो किन गर्‍यौ भनेर सोध्छन् तब एन्टिगोनीले राजालाई फर्काएको जवाफ सबैभन्दा महत्त्वपूर्ण हो। एउटा पीडा रिलिज गर्ने आवाज हो त्यो। त्यो आवाज उनको धेरै गहिराइबाट आउनुपर्थ्यो। तर त्यसमा कुनै आविष्कार नखोज्दा बोली रूखो सुनिएको छ।

बरु राजाको रोल गर्ने विजय बराल र टाइरिसियसको रोल गर्ने सोमनाथ खनालको अभिनयमा थोरै भए पनि आविष्कार छ। उनीहरू आफूले विगतमा गरिरहेका भमिकाभन्दा पृथक हुन खोजेका छन्। हरेक नाटकमा जसरी फरक पात्रहरू हेरिन्छ त्यसरी नै त्यसमा अभिनय गर्ने कलाकारलाई पनि फरक देख्न खोज्नु दर्शकको अधिकार हो। नाटकले यो अधिकार दिनमा थोरै कन्ज्युस्याइँ गरेकै हो।

सेटको कलात्मकता नवीन लाग्छ। झुण्ड्याइएका साङ्ली तथा डोरीहरूले प्रशस्त र बिम्ब दुवैको काम गरेका छन्। तीनको वाचाल क्षमताले नाटकलाई नयाँ उचाइ दिएको छ। दरबार भनेर विश्वास गर्ने राजाहरूको खास दरबार त्यस्तै साङ्लोमा उभिएर थेग्ने जनताहरूको हो। तर त्यति सुन्दर सामग्रीको ठाउँमा राजाको उपस्थितिलाई अझै ‘ग्राण्ड’ बनाउन सकिन्थ्यो। ध्वनी र प्रकाशको सहायता खोजिएको छ तर सामग्रीमा अलिक कन्ज्युस्याइँ गरिएको लाग्छ। त्यो जति बृहत् हुन्थ्यो राजाको आदेश नटेर्नु कति घातक हुन्थ्यो भन्ने कुरा बुझाउन झनै सजिलो हुन्थ्यो। त्यसमा नाटक चुकेको छ।

सिपाहीको भूमिकालाई अनावश्यक फिक्का बनाइएको छ। उनी राजासँग डराएर बोलेका हैनन्, राजालाई जिस्क्याएर बोलिरहेका हुन् जस्तो लाग्छ।

अन्तिममा, समग्रमा नाटक दिमाग र मुटुबीचको सङ्घर्षको वरपर घुम्छ। प्राचिन ग्रिसमा जसलाई एपोलोनियन र डायनोसियन भनिन्थ्यो- त्यसबेलाको सङ्घर्षलाई आजको परिस्थितिसँग तुलना गर्न खोज्नु पनि गलत हुँदैन। परिस्थिति फरक छ तर त्यसले देखाउने परिदृश्य फरक छैन। पछिल्ला दुई नाटकमा राजन खतिवडाले पुराना नाटकहरूमार्फत् नयाँ बहसको थालनी होस् भन्ने अपेक्षा गरेका छन्।

संविधान कार्यान्वयनमा लागिसकेको अवस्थासँगै संविधान संशोधन जस्ता धेरै मुद्दाहरू बाँकी भएको समयमा दिमाग मात्र सुन्ने कि दिल पनि सुन्ने भन्ने प्रश्न उनले सहरलाई छोडेका छन्। यो गहन प्रयास हो। त्यसले नयाँ कुरा खोज्नलाई प्रेरित त गर्छ नै वैचारिक रूपमा पनि ताजा राख्छ। ताजा हुने भए एक पटक नाटक हेर्नुस्!

Twitter: @skyasesh

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.