समाका कवितामा वेहङ्गम दृष्टि लगाउँदा!

समा श्री


कविता लेखन र कवितालाई बुझ्ने बुझाइको सन्दर्भमा व्याख्याताका फरक-फरक मत र अवधारणाहरु छन्। साहित्य लेखन यात्राको लामो चरणमा कविता सबैभन्दा पुरानो र उच्च कलात्मक भाषिक अभिव्यक्तिको रुपमा बुझिँदै आएको छ। नेपाली भाषामा पनि विषयवस्तुको विविधता र युगबोधको फरक फरक अवधारणलाई अवलम्बन गरेर कविता लेखेको पाइन्छ। गद्य र पद्य दुवै ढाँचामा कविता लेखन यात्रा निरन्तर रुपमा अगाडि बढ्दै आएको छ।

पछिल्लो चरणमा नेपाली कवितामा विभिन्न कविहरुले विषयवस्तुको विविधता र चिन्तनको नैसर्गिक अवस्थालाई आत्मसाथ गरेर कविता लेखेका छन। त्यस्तै एक कवि हुन् समा श्री। वि.सं २०२४ सालमा काठ्मान्डौको बालाजुमा जन्मेकी समाको बाल्यकाल सुखमय रुपमा बित्यो।

छोरीहरुलाई पनि आफ्नो खुट्टामा उभिन सक्ने वातावरण अविभावकले नै दिन सक्नुपर्छ भन्ने उनका बुवाको सकारात्मक विचारले उनलाई अध्ययनमा सहजता सिर्जना भयो। सानैदेखि गीत-संगीत मन पराउने समालाई संगीतको त्यही कमलो भावले कविताको काव्यात्मक नगरीमा विस्तारै विचरण गराउँदै लग्यो। बौद्धिक, आध्यात्मिक र ज्ञानगुनका कुरा सुनेर फुर्सदको समय व्यतित गर्न चाहा राख्ने समाका कवितामा बौद्धिकताको रमरम झल्को मिल्नुका साथै आत्मवादी दर्शनको प्रभाव व्यापक रुपमा पाइन्छ।

अरुको दु:खमा दुख्ने र सधैं अरुलाई पनि सुखी र खुसी देख्न चाहने समाका कविताले मानवतावादी विचारको वकालत गर्ने चेष्टा राख्नुको पछाडि उनकी आमाको सहयोगी भावनाको प्रभाव गहिरो ढंगले समामा अवतरित भएको प्रतिबिम्बित हुन्छ।

देश प्रेमको भावनाले ओतप्रोत भएका उनका कवितामा सुन्दर भविष्यको सुन्दर परिकल्पनाका साथै देश छोड्दाको पीडाका अनुभूतिजन्य भोगाइका तमाम सुस्केराहरु सुसाइ रहेछन्।

प्रेम वासना, अनुराग र भावनाको सम्यक परिपूर्णता हो। कविता हृदय र मष्तिस्कको सम्मिलनबाट उब्जिएको उच्च भावात्मक तथा वैचारिक अभिव्यक्ति हो। समाका कवितामा हृदयको भावमय प्रेम पाइन्छ। उनका कविता हृदयको स्वभाविक प्रयोग भएका अतित, वर्तमान र भविष्य प्रति आशावादी स्वर उराल्ने बिम्बात्मक अभिव्यक्ति हुन्।

खुसीमा सुख हुन्छ तर सुखमा खुसी हुँदैन भन्ने विचार राख्ने समाले समाजमा रहेका विभेदका धर्काहरु माथि गतिलो व्यङ्ग्य प्रहार गर्छिन् र आफ्ना सन्ततीलाई असमानताका धर्का कोर्न नसिकाउने प्रण गर्दै छोरी र धर्काहरु शीर्षकको कवितामा लेख्छिन्-

धर्काहरु
भाग्यका मापक होइनन्
धर्काहरु
नियतिका द्योतक होइनन्
धर्काहरु
शाश्वत छैनन्
समयसँगै बदलिन्छन्
समयसँगै घट्छन,बढ्छन
उसले
नास्तिक धर्काहरुमा
रुमलिनु हुन्न
धर्काहरुमा मात्र
जेलिनु हुन्न
अधिर म
आमा
पिंढीबाट उठेर गई
मेरा जिन्दगीका
जोडघटाउको निचोड र
एक पुस्ता ज्ञान
हस्तान्तरण गर्न
उनलाई सिकाउन चाहन्छु
उँभोगामी धर्का कोर्न
मात्र
उँभोगामी रेखा कोर्न

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलको भूमिलाई कर्मथलो बनाएर जीवन भोगाइका तमाम घटनालाई विषयवस्तु बनाएर आदर्शवादी, यथार्थवादी तथा मानवतावादी दृष्टिकोण कवितामा उतार्ने समाको भाषिक कला प्राञ्जल र परिष्कृत रहेको छ।

आदिम सभ्यताका उषकालीन प्रहरदेखि महिला पुरुषको छायाँ बन्दै आजको समयसम्म आइपुग्न विभिन्न युगमा नारीले बाँचेको जिन्दगी, पूर्वीय सभ्यताको समाजमा बाँचेका नारीको पीडा,चित्कार तथा त्यहाँबाट बाहिर आउन नारीले गरेको क्रान्तिकी पुकार सीता उवाच कवितामा प्राप्त गर्न सकिन्छ। ‘सीता उवाच’ कवितामा कवि भन्छिन

राम
तिमीले कहिलेसम्म परीक्षा लिन्छौ
आफ्नो विश्वासको, मेरो आस्थाको
तिम्रो स्वार्थको, मेरो त्यागको
तिम्रो अभिमानको, मेरो स्वाभिमानको
तिम्रो पलको, मेरो युगको
तिम्रो नामको, मेरो पूर्ण अस्तित्वको
तिम्री सीताको, मेरो मनकी नारीको
भन राम कहिलेसम्म
दाहोर‍्या‍उन चाहन्छौ
यो रीत तिम्रो रामायणमा ?

पूर्वीय आत्मवादी दर्शनले स्थापना गरेका मान्यतालाई अनुसरण गरी त्यसैअनुरुप आफ्ना अवधारणा पेश गर्दै समा ‘तिमी र म’ शीर्षकको कवितामा लेख्छिन्-

अनश्वरबाट सञ्चालित नश्वर
महारौद्र ध्वनिको विष्फोटपछि
अनन्त शान्ति र शुन्यतामा विलिन हुने
यो भित्रको के हो
जड छ स्थिर छ।

आफूले बाँचेको जीवनमा आफ्नो संस्कृति तथा त्यसका विशेषताले मान्छेलाई प्रभाव पार्दछन्। कुनै पनि कुरालाई हेर्ने र बुझ्ने दृष्टिकोण उसको ऐतिहासिक धरातलले कतिपय सन्दर्भमा निर्धारण गर्दछ। समाका कवितालाई पनि ती स्थापित मान्यताले प्रभाव पारेका छन्। त्यसो त असमान समाज व्यवस्था माथि पनि आफ्ना कविता मार्फत् उनले असन्तुष्टी व्यक्त गरेकी छन्।

उनका कवितामा विषयवस्तुको विविधताका साथै ध्वन्यात्मक लय पनि पाउन सकिन्छ।

लामो समय घर बाहिर बसेको परिवारको कुनै सदस्य घर फर्किंदा परिवारमा छाएको खुसी, घरबाट आफ्नी छोरीलाई अन्माउँदा छोरीप्रति एक आमाले राखेको धारणा, आजको समयको समाजमा अवोध मष्तिस्कहरु अविभावकको चाहनाको जाँतोमा पिल्सिँदै जाँदा निर्माण हुँदै गरेको समाज, मानवतावादी स्वर तथा अस्तित्वको खोजी र युद्धको विरोध आदि उनका कवितामा पाइने विषयगत तथा वैचारिक विविधता हुन्।

संख्यात्मक लेखनभन्दा गुणात्मक लेखनमा विश्वास गर्ने समाले साहित्यलाई आफूले आफूलाई भित्री तवरबाट चिन्न, सुधार गर्न र आफ्ना कुरा अभिव्यक्त गर्ने माध्यम मान्छिन। साथै कवितामा शान्ति, सुशासन, तर्क, दर्शन, मानवतावाद, विश्वभातृत्व जस्ता विषयलाई पनि समेट्ने चेष्टा गरेकी छिन्।

साहित्यलाई उनी सभ्य तथा परिवर्तनको माग मात्र नभएर मार्गदर्शन दिने खालको हुनुपर्छ भन्छिन्। त्यसैले होला उनका कवितामा अन्धो समर्थन र अन्धो विरोध कमै मात्रामा पाउन सकिन्छ। बरु स्वच्छ र समुन्नत समाजको परिकल्पना पाइन्छ।

कुनै कागजमा लेखिएका प्रशंसाका ठेलीभन्दा पाठकको प्रतिक्रियालाई सम्मान तथा पुरस्कार मान्ने कवि समा वादमा झुन्डेर आउने पुरस्कारलाई पुरस्कारै मान्न तयार छैनन्।

जीवन जिउने साहस र बाँच्ने कला कविताले दिन्छ भन्ने समाले जनताको सहनशिलता र नेताको अदूरदर्शिता माथि पनि काव्यात्मक शब्दवाण प्रहार गरेकी छिन् आफ्ना कविता मार्फत।

त्यसो त समाका कतिपय कविता भाग्यवादी दर्शनमा भिजेका छन्। छालाको सुन्दरतामा मोहित हुँदाहुँदै पनि त्यसको अन्तर्यमा छिपेको कलालाई बिम्बात्मक तवरले टिप्ने कला समामा प्रचुरमात्रामा पाइन्छ।

अतः समाका कविताले लामो व्याख्या र बहस खोजेका छन्। समाजका तमाम सन्दर्भमाथि कलात्मक तवरले बोलेका छन्। उनका कविता नेपाली कविता बाँचुन्जेलसम्म बाँच्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.