बालबालिकालाई पनि सुनौं

पुस्तक समीक्षा: हाम्रो कुरा पनि सुन्नुस्


हाम्रो समाज बालबालिकाको बारेमा गम्भीरतापूर्वक सोच्ने तहसम्म पुगिसकेको छैन। उनीहरुको पनि मत बुझ्ने संस्कार त झनै छ्रैन। आवश्यक पनि ठानिँदैन। ‘केटाकेटी कुरा’, ‘ठूला मान्छे बोलिरहेको ठाउँमा केटाकेटी बोल्नुहुँदैन’ भन्नेजस्ता उखान, टुक्का वा संस्कार बलियो छ। यसले बालबालिकाको सरोकारमा परिवार र समाज उदासिन छ, नजरअन्दाज व्याप्त छ भन्ने स्पष्ट पार्छ। धेरैले गम्भीरतापूर्वक नलिएको बालबालिकाको सोचाइ, भोगाइ र अप्ठ्याराहरुका विषयलाई समेटिएको बालकथा प्रकाशित भएको छ– हाम्रो कुरा पनि सुन्नुस्।

पुस्तकः हाम्रो कुरा पनि सुन्नुस्
लेखकः आन्विका गिरी
प्रकाशकः साङ्ग्रिला बुक्स
मूल्यः रु.१४५

आन्विका गिरीले लेखेको यस कथा संग्रहमा सातवटा बालकथाहरु छन्। कथाहरु बालबालिकाको दैनिक सरोकारका विषयमा लेखिएका छन्। उनीरुको पनि आफ्नै भोगाइ हुन्छन्। आफ्नै किसिमको बुझाइ हुन्छ। वस्तु र व्यवहारप्रति आफ्नै क्षमता अनुसारको धारणा हुन्छ। यस्तै कुरालाई विशेषतः अभिभावकहरुले ख्याल राख्नुपर्छ र उनीहरुलाई पनि छलफलहरुमा मुख्य सदस्यका रुपमा स्वीकार गर्नुपर्छ भन्ने आशय संग्रहका हरेक कथाहरुमा पाइन्छ।

ठूला मान्छेले ख्याल नै नगरेको घटना, व्यवहार, विषयमा बालबालिकाले कसरी धारणा बनाउने रहेछन् भन्ने बुझ्न पुस्तकले सघाउँछ। पुस्तक पढ्दा गर्दा साना नानीबाबुहरु हाम्रै अघिल्तिर नाचिरहेका, खेलिरहेका, उफ्रिरहेका प्रतीत हुन्छ। उनीहरुका अनन्त जिज्ञासा, चकचक, उपद्रव सबै महसुस हुन्छ।

बालबालिकाहरुकै भाषा र उमेरगत सोचाइलाई ख्याल गरेर कथाहरु लेखिएका छन्। विद्यालय जान थालेको केही वर्ष भएका बालबालिकाहरुका निम्ति कथा बढी रुचीपूर्ण र सम्प्रेषणिय छन्। मनोरञ्जनात्मक छन्।

संग्रहको पहिलो कथा हो– आमा जाती हुनुभयो। भोजमा बालबालिकामैत्री खाना नभएको र घरमा पनि खाना पकाउँदा ठूला मान्छेका रुचिलाई मात्र ख्याल गरिने मूल प्रसंगमा कथा निर्माण भएको छ। कथाले बालबालिकाको रुचिलाई पनि प्राथमिकता दिन सजग गराउँछ। दोस्रो कथा ‘पल्लबको समस्या’ शौचालयको छेस्किनीलाई बालक पल्लबले नभेट्ने गरी राखिएकाले उसलाई परेको अप्ठ्यारोमा आधारित छ।

बालबालिकाबाट अनावश्यक सजगता अपनाउँदा उनीहरुलाई पर्नसक्ने अप्ठ्यारोलाई कथामा राम्रोसँग चित्रण गरिएको छ। ‘धाराको टुटी’ अर्को उस्तै संरचनामा आधारित कथा हो। जसमा धारोको टुटी बालिका पुच्चुले नभेट्ने गरी राखिदिँदा भएको दुर्घटनासँग सम्बन्धित छ।

विद्यालय वा घरमा बालक र बालिकालाई खेलकुदका सामाग्री चयनमा गरिने भेदभाव जताततै पाइन्छ। बालबालिका स्वयंमा पनि गम्भीर लिंगचेत नहुँदै अभिभावक र शिक्षकशिक्षिकाले गरिने भेदले बालिकाहरुमा परेको प्रभाव ‘फुटबल र डोरी’मा पढ्न पाइन्छ। ‘दशैंको लुगा’ले बालबालिकालाई परिवारका गतिविधिहरु महसुस गराउँदै लैजानुपर्छ; यो नै उनीहरुलाई समझदार बनाउने प्रक्रियाको थालनी हो भन्ने सार दिएको छ। ‘हाम्रा कुरा पनि सुन्नुस्’मा बिशेषगरी बालबालिकाको कुरा सुन्नुपर्ने आवश्यकतालाई प्रस्तुत गरिएको छ। बालबालिकालाई आफ्नो सरोकारको विषयमा बोल्न सिकाउनुपर्छ, बोल्नलाई ठाउँ दिनुपर्छ, उत्प्रेरित गर्नुपर्छ भन्ने विषयले नै कथाको निर्माण गरेको छ। संग्रहको अन्तिम कथा ‘ज्ञानी राधा’मा बालबालिकालाई आफ्ना अनुभूतिका कुरा, साथीसँगका कुरा, देखेसुनेका कुरा अभिभावकमाझ निर्धक्क र रुचिपूर्ण तरिकाले भन्न दिइनुपर्छ, त्यसका लागि प्रोत्साहन गरिनुपर्छ भन्ने सन्देश पाइन्छ।

सबै कथाहरुले मूल रुपमा बालबालिकाहरुलाई आफ्नो कुरा भन्न, अभिभावकहरुलाई उनीहरुको कुरा सुन्न र उनीहरुको धारणालाई स्थान दिन जरुरी रहेको सन्देश दिन्छ।

कथाहरुमा बालबालिकाका लागि उपयुक्त भाषाशैलीको प्रयोग गरिएको छ। बालबालिकाले दैनिक सुनिरहने सरल शब्दहरुकै प्रयोग गरिएको छ। कथामा वर्णन गरिएका कैयौं प्रसंग अनुकुलका चित्र पनि समावेश गरिएकाले बालबालिकामा पुस्तकले थप रुचि जगाउने अध्ययनमा तानिराख्ने विश्वास गर्न सकिन्छ। त्यसमा पनि बालबालिकाले प्रत्येक कथाका पात्रहरुमा आफैंलाई महसुस गर्न सक्नेछन्।

सबै कथाहरुमा बालबालिकाले घरपरिवार, छिमेक, विद्यालयमा भोग्नुपरेका अनेक ‘साना विषय’लाई गम्भीरतापूर्वक लिएर कथाको निर्माण गरिएको छ। कथाको विषय गम्भीर र प्रस्तुती रोचक छ। कथाहरु बालबालिकाहरुलाई आफ्नै दैनिकी जस्तो लाग्ने छ भने ठूला मानिसका लागि सम्झनामा पुरानो ‘बाल्य डायरी’ पल्टाएको महसुस हुनेछ। धेरैलाई आफ्नो बाल्यकालका उकुसमुकुस, सकसहरुको सम्झना हुने छ। त्यसैले पनि संग्रहित कथाहरु बालबालिकाहरुका लागि जति उपयोगी छन्, अभिभावक र शिक्षकशिक्षिकाहरुका लागि उति नै उपयोगी छन्। आफ्नो विगतको सम्झना दिलाउने र बालबालिकाको वर्तमान बुझ्न सघाउने भएकाले उनीहरुप्रति सचेततापूर्वक व्यवहार गर्न कथाहरुले प्रोत्साहित गर्ने अपेक्षा गर्न सकिन्छ।

twitter: @kishu_gb123

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.