प्रेडिक्टेबल नाटक ‘मेटासिड’


नाटकको शीर्षक ‘मेटासिड’ नराखेको भए के हुन्थ्यो? नाटक हेरिकेपछि मैले सोचेको सबैभन्दा पहिलो प्रश्ननै यही हो।

नाटकमा मेटासिडको प्रसङ्ग जरुर छ। एक प्रमुख पात्रको मृत्युको कारण पनि त्यही हो तर त्यसले कथालाई अनप्रेडिक्टेबल बनाउनबाट रोकेको छ। मुसा मार्नकै लागि होस्, आमाले मेटासिड किन्न राजकुमारलाई पठाएकै बेला कथाले के मोड लिन्छ भन्ने धेरथोर थाहा हुन्छ।

त्यसरी थाहा नभएको भए कस्तो सुन्दर हुने थियो।

तथापि नाटकले निराश भने पार्दैन। केही कारणहरू छन्।

यसमा कुनै दर्शन थुपारिएको छैन। पात्रहरू गरूंगा वाक्यहरू बोल्दैनन्। सेटहरूले दिमाग लगाउनु भन्दैनन्। एउटा घर छ, त्यहाँ मान्छे बस्छन्। मान्छे बस्ने घरमा देखिने सजिबता नाटकले समेट्ने कोसिस पक्कै गरेको छ।

पात्रहरू स्वाभाविक छन्। उनीहरूको वाक्य उच्चारण बनावटी छैन। धेरै सिनहरू वरपर भइरहेका जस्ता लाग्छ। सुनिरहेका आवाज हुन्, देखिरहेका पात्रहरू हुन्। हामीले देख्ने र सुन्ने पात्रहरूभन्दा ती फरक छैनन्। नाटक एउटा सरल यथार्थवादी स्वरूपतिर जान खोजेको छ। साधारण छ तर मन छुन्छ। पात्रहरू कमजोरीसहितका छन्। उनीहरू गल्ती गर्छन्। गल्तीको सँजाय भोग्छन्।

नाटकमा हाँस्ने ठाउँ छन्। रुने तथा आत्तिएर त्यस्तो नभइदियोस् लाग्ने ठाँउपनि छन्। सँगै यो जरुरी थियो र वा यस्तो भइदिएको भए हुन्थ्यो भन्ने ठाउँ पनि छन्।

सानो विषय समातेर दर्शकलाई अड्याइराख्न ठुलै प्रयत्न चाहिन्छ त्यो प्रयत्न पनि नाटकमा देखिन्छ। प्रेमबर्षा खड्काले नेपाली नाट्य लेखन र निर्देशनमा कमजोरीसहित प्रवेश गरेकी छन् भन्न सकिन्छ। तर त्यसो भन्दै गर्दा नाटकमा कमजोरी हुँदै नभएको भने हैन।

थोरै सामाजिक यथार्ववादी नाटकको कुरा गरौँ।

हरेकदिन जीवनमा घट्ने अति सामान्य घटना तथा बोलीचालीहरूलाई दृश्यमा उतार्ने प्रयास सामाजिक यथार्थवादमा गरिन्छ। त्यसमा समाजमा हुने राजनैतिक तथा सामाजिक परिवर्तनहरूले कथाको स्वरूप वा पात्रको मोटिभेसनमा ठुलो भूमिका खेल्छन्। पात्रहरू जुन परिस्थितिका कल्पना गरिएका हुन् त्यही अवस्थामा सकेसम्म नजिक पुर्‍याउने प्रयास नाटक निर्देशक तथा टिमको हुन्छ। यथार्थको नजिक जाने त्यस्तो प्रयास जति गरिन्छ त्यतिनै महत्त्वपूर्ण बन्दै जान्छन् सेटिङ, सेट, भेषभुषा, लाइट, लवज जस्ता प्राविधिक पक्षहरू। यी पक्षहरू अरू प्रकारका नाटकमा पनि नहुने भन्ने हैन तर सामाजिक यथार्थवादी नाटकमा अलिक बढी अपेक्षा गरिन्छ।

यस परिभाषालाई बिचार गर्दा र मेटासिडलाई सामाजिक यथार्थवादी नाटक हो भन्दा (नहुन पनि सक्छ तर निर्देशकले सधैँ देखिरहेको घटनालाईनै नाटकमार्फत देखाउन चाहेको भनेको हुनाले हो भन्ने मेरो बुझाइ र सेटको प्रकृति बिचार गर्दा) नाटकमा माथि उल्लिखित पक्षहरूमा पर्याप्त प्रश्न गर्ने ठाउँ छन्।

यथार्थ नाटक प्रस्तुत गर्न खोज्नुको सीमा पनि त्यही हो। वास्वतवै भएको घटना भए पनि नाटकमा दृश्य भएर आउँछ ती धेरै सिमिततामा बाँधिइसकेका हुन्छन् । एउटा कुरा देखाउँदा अर्को छोपिन सक्छ। त्यसैले कथा भन्दा के देखाउँदा कथा बढ्छ र के लाई देखाउनु उचित हुन्छ भन्ने कुरा लेखक र निर्देशकले धेरैनै बिचार गर्छन्। सबैकुरा स्टेजमा देखाउँछु भनेर सम्भव हुँदैन।

हरेक सामाजिक यथार्थवादी नाटकले भोग्ने समस्या यो नाटकले पनि भोगेको छ। नाटकमा एकातिर कहिल्यै भेट्नै नभएको एउटा प्रेम कथालाई बलियो रूपमा प्रस्तुत गरिएको छ भने बिहे वा भट्टि देखाउने प्रयासमा कमजोरीहरू पनि छिरेका छन्।

नाटकको सेट पहिलो दृश्यभर एकदमै सुन्दर छ।  त्यति सानो ब्लाकबक्स थिएटरमा दुईतले घर उभ्याउनु सानो कुरा पक्कै हैन। तर कथाको दृश्य त्यो घर भन्दा वरपर नपुग्ने हो भने झनै सुन्दर हुन सक्थ्यो। तर हरेक दृश्यमा फेरिने सेट र पात्रहरूको ब्लकिङले त्यस्तो सुन्दर घरलाई अलमलमा पारिदिएको जस्तो लाग्छ।

त्यो घरमा भएका पात्रहरूभन्दा बाँकी पात्र यसै पनि नाटकमा महत्त्वपूर्ण छैनन्। एक महत्त्वपूर्ण पात्र छ जुन स्टेजमा आउँदै आउँदैन। स्टेजमा आएका पात्रहरूभन्दा सजीव भएर उ आएपछि मलाई लोभ लागेको हो। यदि यो नाटकमा त्यो घर मात्र सेटमा भइदिएको भए र बाँकी पात्रहरूलाई पनि त्यही अन्नोन पात्रहरूजस्तै आउन पाएका भए?

यसैले त भनेको प्रेमवर्षाले गर्न खोजेको प्रयोग यसर्थ सफल पनि भएको छ र असफल पनि।

अर्को समस्या ‘टाइम ल्याप्स’ देखाउने बेलामा भएको जस्तो लाग्छ। समय बितेको कुरा नाटकले थाहानै नदिइ पात्रहरूको दिमागमा पुर्याउनुपर्ने हो। तर मेटासिडमा त्यो कुरा धेरै खुल्दैन।

तर नाटकको सकारात्मक पक्ष के लाग्यो भने सानो कथालाई सजीव पात्रहरूमार्फत भन्ने प्रयत्न भएको छ। एउटा क्षणिक रिस वा आवेगले कतिसम्म दर्दनाक अवस्थासम्म पुर्‍याउन सक्छ भन्ने कुरा बुझाउन भने नाटक सफल भएको छ। इमानसिंहले राजालाई पिटिरहेको बेला नाटक हेरिरहेकी एक जना दर्शकले अधैर्य भएर ‘के भएको हो?’ भन्दै सोध्नुभएको थियो। त्यस कुराले के सङ्केत गर्छ भने केही कमजोरीका बाबजुद पनि नाटक राम्रो बनेको छ।

नाटकको एक सिन अहिले पनि आँखामा नाचिरहेको छ। श्रीमतीको मृत्युपछि जब इमानसिंह आफ्नो दोष स्वीकारेर लाइटमा आइपुग्छ, यदि त्यसबेलै नाटक सकिएको भए? छोरीले लबलेटर नपढेको भए? छोराले तेक्वान्दोको सेतो ड्रेस मरेको आमालाई ओढाउन नल्याएको भए? यदि त्यस्तो भएको भए दर्शकहरूले कति सुन्दर तरिकाले मिठो खुल्दुली र त्यसलाई मेटाउने आफ्नै कथा लिएर फर्किन्थे होला? नाटकले ती दृश्यहरू अन्तिममा थोपरेर दर्शकलाई फिल्मी दृश्य नदिएको भए नाटकले दिने झङ्कार अझै सबल हुने थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.