‘फूलहरूको आँधी’ मा हेलिएपछि…


आँधीखोलासँग पुरानो साइनो छ।

आँधीका शिला चोरेर भगवान बनाउँथें। बालुवाको थुप्रोमा हातका डोब मिलाएर आलिशान महल ठड्याउँथें। चिप्ला ढुंगामा लर्कदै पारि पुग्थेँ।

ठूली भएपछि पनि आँधीले साथ दिन छाडेन। त्यही तिरमा बसेर लगाएको उनको र मेरो प्रेम आफैंले बनाएको बालुवाको घर जस्तै भत्केपछि ओसिला आँखाले हेर्थेँ आँधीलाई। त्यसकै पानी उर्लेजस्तो लाग्थ्यो आँखाबाट।

आँधीखोलासँग जीवनमा धेरैपटक जोडिएपनि ‘फूलहरूको आँधी’ले भने मलाई संवेगको पल्लो कुनामा हुत्याइदियो। सरस्वती श्रेष्ठको कविता संग्रह फूलहरूको आँधी समाजमा आँधी, हुरी र बताससँग हिँड्ने र दौडनेका लागि हो।

आफ्नो जीवनका स्व गुमाएर अर्काको जीवन सपार्नेका निम्ति हो। आफ्नो जीवन अरूमा समर्पित गर्नेका निम्ति हो। कवि श्रेष्ठ यो समर्पणमा मीठो मह देखिरहेकी छिन्। समर्पणको एउटा बिन्दु नारी हो। नारी आमा, छोरी, पत्नी जस्ता अनेकौँ संज्ञामा फूल बनेर आँधी बोक्ने पात्र हो। उनका कवितामा नारीलाई क्रान्तिकारी, संयम र समन्वयको प्रतीक बनाएर प्रस्तुत गरिएको छ।

समाजले बनाएका नारी बन्धनका साङ्ला चुँडाउनु पर्नेमा जोड दिन्छिन्। कवितामा पुरुषलाई सहयात्रीका रूपमा हेरिएको छ। पुरुष कोठर हैन कोमल पनि हुन्छन् भन्ने समभाव उनका कवितामा छः उनी आमा भएका छन् अचेल हो, उनी आमा भएका छन् आमा हुनुको गर्भानुभूति उनले पनि पक्कै गरे होलान् आफ्ना नानीहरूको भोक र तिर्खासँग नजिकिए होलान् आमा हुनु भनेको पाठेघर सजाउनु मात्र कहाँ हो र ? आमा हुनु भनेको हृदयको सत्तलबाट मातृत्वको अनुराग छचल्काउनु पनि हो।

पुरुषले नारीलाई बन्धनमा राखेको अझै भनौँ अघि बढ्न नदिएको भन्दै नारीवादी बहस चलिरहेका बेला उनका कविताले मिलनबिन्दु भेटाएको जस्तो लाग्छ। नारी बिना पुरुष र पुरुष बिना नारी अधुरै हुन्छन् भन्ने हाम्रो पूर्वीय दर्शनलाई कविताले बडो मिहीन ढङ्गमा व्याख्या गरेका छ।

‘अघोषित जीवन युद्ध, आमा, उनी अचेल आमा भएका छन्, म हुँ सलाईको काँटी, माटो र आमा र सङ्कल्पको घर नारी शक्तिको महिमा र नारी मुक्तिको आवाज’ नारी पुरुषको समभावमा लेखिएका कविता हुन्। उनका कविताका अर्काे विषय क्षेत्र जीवन हो। जीवन हामीले परिभाषित गर्न सक्दैनौं। जीवन रोई रोई मात्रै पनि जाँदैन र हाँसी हाँसी पनि मर्न पाइँदैन। रुनु र हाँस्नु जीवनका रीत हुन्।

श्रेष्ठका कवितामा जीवनका यी दुवै बाटालाई सघन रूपमा उठाइएको छ। उनी जीवनको विसङ्गत र कठोर पक्षलाई चित्रण गर्दै जीवनलाई फूलको आँखाले हेर्ने कवि हुन्। उनले जीवनको आशाको त्यान्द्रो मर्न दिएकी छैनन्। सङ्ग्रहभित्रका ‘इन्द्रेणीको खोजी, उदास गीत, चढ्नु छ पहाड समयको, सिउँडीको बार’ आदि कविताहरू जीवनसँग गाँसिएर आएका छन्।

उनले आफ्ना कवितामा नेपाल, नेपाली प्रकृति र राष्ट्रिय स्वाधिनतालाई भुलेकी छैनन्। सुन्दर पहाडमा जन्मेर पनि नेपाली बन्न नजान्ने प्रति भने उनको गुनासो छ। गाउँ नेपालको सभ्यता हो। हामी गाउँबाट टाढिँदा घाउ बढ्छ। गाउँको मकै, गुन्द्रुक र ढिँडो छाडेर सहरको धुलो खाने नेपालीलाई उनले यसरी व्यङ्ग्य गरेकी छिन्ः तिमी त सभ्यताको तथाकथित सुकिलो कोट लगाएर नक्कली फूल घुसार्छाै तिमीलाई के थाहा जङ्गली फूलको सुगन्ध? नेपालीपन र नेपाली प्राकृति सौन्दर्य अझै बाँकी रहेको उनका कविताबाट बुझ्न सकिन्छ। उनी राष्ट्र र राष्ट्रियताका पक्षमा खरो उत्रिएकी छिन्।

आफ्नो आँगन निर्धक्क खेल्न पाउने वातावरण तयार गर्न हार गुहार गरिरहेकी छिन्। छिनछिनमा अदलबदल भैरहने नेपाली राजनीति र अदूरदर्शी राजनीतिज्ञका कारण आफन्तसँगै डराउनु पर्ने र मझेरीमा असुरक्षित बन्नु पर्ने प्रति उनको आक्रोश छ। ‘आमा भन्छिन्, चराहरू, म हुँ एउटा देश’ लगायतका कविता राष्ट्रप्रति समर्पण छन्।

मृत्युलाई बोध गर्न सक्नु भावनाको उच्चतम अंक हो। जब मानिसलाई मृत्युको बोध हुन्छ तब न ऊ समाजप्रति समर्पित हुन्छ। ‘थुँगा थुँगा जीन्दगानी, एक झुल्को घाम ओर्लेर सडकमा’ जस्ता गीत संग्रहमा पनि जीवन र मृत्युबारे उनको प्रस्ट विचार छ। शरीरलाई जड र माटोमा मिल्ने वस्तु सम्झी तुच्छ ठान्दै उनी मानवतालाई बढी महत्व दिन्छिन्।

यस कविता संग्रहमा विभिन्न शीर्षकका ४१ वटा कविता छन्। नारी, पुरुष, आमा, सन्तान,  जीवन, जीवनका विसंगत र आशावादी पक्ष, मृत्यु, गाउँ, सहर, देश, ग्रामीण प्रकृति, सहरीया संस्कृति, नेपाली समाज, धर्म, संस्कृति आदि उनका कविताका विषयवस्तु हुन्। श्रेष्ठका कवितामा कवित्व शक्ति छ। बिम्ब छ। संवेदनशीलता छ। उनले समयको नाडी छामेर कविता कोरेकी छन्।

भावनालाई कविताको रङ घोलेर विस्कुन लगाएकी छन्। प्रस्तुत कृति कविता पाठकलाई राम्रो खुराक हो।  फूलहरुको आँधीले कविताको भल्कोमा छल्किँदाको मज्जा दिएको छ। सरुको कविता प्रवाह त्यसरी नै बगिरहोस् जसरी आँधीखोला बगिरहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.